जीवन बदलिने आशामै छन् बोटे समुदाय « Khabarhub

जीवन बदलिने आशामै छन् बोटे समुदाय


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदुरी गर्ने पुर्ख्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो ।

शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी शिविरका रनकुमार बोटे आफ्नो समुदायले नयाँ पेसा व्यवसाय गर्ने सोच राखे पनि पूरा हुन नसकेको बताए । ‘हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन । तालिम र रोजगारीको अवसर भए नयाँ काम गर्न सकिन्थ्यो, तर हालसम्म यही पेसामा निर्भर हुनुपरेको छ’, उनले भने ।

नदी किनार आसपास बसोबास गर्ने बोटे समुदायका अधिकांश परिवार बिहानै नदीमा पुग्छन् । कसैले जाल हाल्छन्, कसैले डुङ्गा चलाएर जीविका चलाउँछन् । दिनभरको मेहनतपछि कमाएको थोरै रकमले परिवार धान्नुपर्ने अवस्था रहेको स्थानीय श्यामकुमारी बोटेको भनाइ छ । उनका अनुसार वैकल्पिक रोजगारी नहुँदा नयाँ पुस्ता पनि पुरानै पेसामा बाँधिन बाध्य रहेका छन् ।

बोटेको भन्नुभयो, ‘छोराछोरी पढिरहेका छन्, तर पढेपछि के गर्ने भन्ने अन्योल छ । काम गरिखाने सीप सिकाउने तालिम पाए फरक क्षेत्रमा जान सक्थे । सम्मानित जीवन जिउन सहज हुन्थ्यो ।’

विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले साबिक नारायणी गाविस– ३, ४ र कोल्हुवा गाविस–६ नन्दपुरका २३८ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये करिब ३८ बोटे परिवारलाई हालको मध्यविन्दु नगरपालिका–२ शिविर बोटे माझी टोलमा स्थानान्तरण गरिएको थियो । सरकारले दिएको १० धुर जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन्, तर अझै जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन ।

स्थानीय बासिन्दा भन्छन्, ‘जमिनको स्वामित्व सुनिश्चित भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो । हाल बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा असुरक्षा महसुस हुन्छ ।’

सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत मानिएको यस समुदायलाई राज्यले शिक्षा, सीपमूलक तालिम र लक्षित रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय पूर्णिमा बोटेले बताइन् । परम्परागत पेसा संरक्षणसँगै आधुनिक सीप विकास गरिए मात्रै नयाँ पुस्ता गरिबीको रेखाबाट बाहिर निस्कन सक्ने उनको भनाइ छ ।

‘स्थानीय तहले केही सामाजिक सुरक्षा र आधारभूत सेवा उपलब्ध गराए पनि दीर्घकालीन आयआर्जनका कार्यक्रमको अभाव छ’, बोटेले भनिन्, ‘माछा मार्ने पेसालाई सम्मानजनक रूपमा आधुनिकीकरण गर्दै पर्यटन, मत्स्यपालन तथा साना उद्यमसँग जोड्ने गरी सरकारले योजना ल्याउनुपर्छ ।’

जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लामा बोटे समुदायको जनसङ्ख्या दुई हजार ४०६ रहेको छ ।

बोटे समुदायका ज्येष्ठ नागरिकहरू भन्छन्, ‘हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ । अब राज्यले हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदियो भने हाम्रो सङ्घर्षको सार्थकता हुनेछ ।’

परम्परागत ज्ञान र संस्कृतिको धनी बोटे समुदाय आज पनि जीवनयापनको आधार खोज्दै सङ्घर्षरत छ । सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चितता भए उनीहरूको जीवनस्तर उकासिनुका साथै परम्परागत पहिचान पनि जोगिने विश्वास गरिएको छ । निर्वाचनको माहौल चलिरहेको अवस्थामा यस समुदायले दल तथा तिनका उम्मेदवारबाट यही आशा राखिरहेका छन् । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ४ : ३४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम