क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ? « Khabarhub

विश्व मुख स्वास्थ्य दिवस

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

मुखको लापरवाहीले मुटुदेखि मस्तिष्कसम्म असर


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार मानिने मुखलाई स्वस्थ राख्नु एकदमै आवश्यक रहेको चिकित्सक बताउँछन् । शरीरका सम्पूर्ण अङ्गलाई स्वस्थ र सुचारु राख्न आवश्यक पोषक तत्व मुखबाटै ग्रहण गरिन्छ ।

पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने माध्यम पनि मुख नै हो । तर, त्यही मुखलाई स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन । त्यसैले मुखको स्वास्थ्यमा कुनै लापरवाही गर्न नहुने चिकित्सकको सुझाव छ ।

नेपालमा मुख स्वास्थ्यको अवस्था
विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार, नेपालमा १ देखि ९ वर्ष उमेर समूहका बालबालिकामा दाँत कीराले खाने रोग ५१.२९ प्रतिशत छ । ५ वर्षमाथिको उमेर समूहमा यो दर ३१.५५ प्रतिशत छ भने १५ वर्षमाथिका उमेर समूहमा जटिल प्रकृतिको गिजाको रोग १४.८९ प्रतिशत देखिएको छ । त्यस्तै, प्रति १ लाखमा ३.४ प्रतिशतमा ओठ र मुखको क्यान्सरको समस्या रहेको छ ।

यी रोग विकसित र अल्पविकसित देशमा जनस्वास्थ्य समस्याका रूपमा रहेका छन् । हालसम्म एकीकृत रूपमा सूचना संकलन र विश्लेषण हुन नसक्दा तथ्याङ्कमा एकरूपता पाइँदैन । साथै स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुऱ्याउन सकिएको छैन ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हुने १० प्रतिशत मृत्युको कारण क्यान्सरलाई मानिन्छ, जसमध्ये चौथो नम्बरमा मुखको क्यान्सर रहेको छ । अन्तर्राष्ट्रिय तथ्याङ्कका आधारमा नेपालमा पुरुषमा तेस्रो नम्बरमा मुखको क्यान्सर रहेको सर्जन डा. रुबिना सुवाल बताउँछिन् । कुल मृत्युको १० प्रतिशतमध्ये ५ प्रतिशत मृत्यु मुखकै क्यान्सरका कारण हुने गरेको उनले जानकारी दिइन् । विशेषगरी पुरुषले गुट्खा, सुपारी र सुर्तीजन्य पदार्थ सेवन गर्ने भएकाले उनीहरूमा मुखको क्यान्सर बढी देखिएको उनको भनाइ छ ।

मुख स्वास्थ्यको बेवास्ताले मस्तिष्कदेखि मुटुसम्म असर
चिकित्सकहरूका अनुसार मुखको स्वास्थ्यमा बेवास्ता गर्दा यसको असर केवल दाँतमा मात्र सीमित रहँदैन । यसले मुटुरोग, स्ट्रोक, निमोनिया, मधुमेहको जटिलता र स्मरणशक्ति सम्बन्धी समस्या (डिमेन्सिया) समेत निम्त्याउन सक्ने जोखिम रहने वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरे बताउँछन् ।

गिजामा हुने संक्रमणबाट ब्याक्टेरिया रगतमार्फत शरीरका अन्य अङ्गसम्म पुग्न सक्ने भएकाले मुटु र मस्तिष्कमा समेत असर पर्ने जोखिम रहन्छ । विशेषगरी मधुमेह भएका बिरामीमा गिजाको रोगले रगतमा चिनीको नियन्त्रण झन् कठिन बनाउने डा. घिमिरेले बताए ।

मुखको स्वास्थ्यप्रति ध्यान दिँदा र समयमै उपचार गर्दा ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ । तर, मुख स्वास्थ्यलाई सरकारले प्राथमिकता नदिएकोमा डा. घिमिरेको गुनासो छ । यदि सरकारले अन्य उपचारमा खर्च हुने रकम मुख स्वास्थ्यको चेतना फैलाउन खर्च गरिदिए विभिन्न दीर्घकालीन रोगीहरूको संख्या घट्ने उनले दाबी गरे ।

मुखको स्वास्थ्यका लागि ध्यान दिनुपर्ने ४ आधार

मुखको स्वास्थ्य राम्रो राख्न महँगो उपचारभन्दा दैनिक बानी सुधार नै सबैभन्दा प्रभावकारी उपाय हुने चिकित्सकको सुझाव छ । यसका लागि मुख्य चार पक्षमा ध्यान दिनुपर्छ:

खानपानमा सचेतता : मुख स्वास्थ्यको पहिलो आधार नै खानपान हो । जङ्क फुड, अत्यधिक चिनीयुक्त पदार्थ, सुर्तीजन्य वस्तु र मदिराबाट टाढा रहनुपर्छ । सन्तुलित आहार, फलफूल र तरकारीले मुख मात्र होइन, समग्र शरीरलाई फाइदा पुऱ्याउँछ ।

मनोवैज्ञानिक तन्दुरुस्ती : मुख केवल खाने अङ्ग मात्र नभई बोल्ने माध्यम पनि हो । तनाव, चिन्ता र मानसिक असन्तुलनले अप्रत्यक्ष रूपमा मुखको स्वास्थ्यमा असर पार्न सक्छ । मानसिक रूपमा स्वस्थ रहनु पनि राम्रो मुख स्वास्थ्यको आधार हो ।

शारीरिक अभ्यास र योग : नियमित व्यायाम र योगले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । राम्रो रक्तसञ्चारले गिजा र मुखका तन्तुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

सही तरिकाले ब्रस गर्ने : दैनिक सरसफाइ सबैभन्दा आधारभूत कुरा हो । दिनमा कम्तीमा दुई पटक (बिहान र सुत्नुअघि) ब्रस गर्नुपर्छ । दाँतका सबै भाग- अगाडि, पछाडि र टोक्ने सतह सफा गर्नुपर्छ । प्रत्येक ३ देखि ६ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ५५ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार