काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी ! « Khabarhub

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको जनाएको छ।

विभागले ठूलो पानी आँधीहुरीसहित पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा असिनापानी परिरहेको छ।

विभागले हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति हुनसक्छ । त्यहीकारण अनावश्यक घरबाहिर ननिस्कन र सावधानी अपनाउन भनेको छ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्दै गएको बताए । उनले समयमै सचेत हुन सुझाव दिए।

हावाहुरी र असिनापानी पर्दा सवारीसाधन नचलाउने, रुख तथा बिजुलीका खम्बानजिक नबस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि उनले सर्वसाधारणलाई सुझाएका छन् ।

विभागले शुक्रबार अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पानी पर्ने जनाएको छ। गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपात हुने विभागले जनाएको छ।

अर्कातिर बागमतीका काठमाडौं उपत्यकासहित मधेश र कोशी प्रदेशको तराईका केही जिल्लामा पनि मौसम जोखिमयुक्त रहने विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलले विशेषगरी तराई क्षेत्रमा अपराह्नपछि दुईदेखि तीन घण्टासम्म ५०–६० किलोमिटर प्रतिघण्टा वेगको हुरी चल्न सक्ने चेतावनी दिइन् । यसका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उनले बताइन्।

अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गएको विभागले जनाएको छ। देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ।

काठमाडौं उपत्यकामा हुरीको प्रभाव तुलनात्मक रूपमा कम रहे पनि पानी परिरहेको छ। तराई क्षेत्रमा बढी प्रभाव पर्ने भए पनि आत्तिनुपर्ने अवस्था नरहेको विभागले जनाएको छ। तर सतर्कता अनिवार्य रहेको प्रवक्ता पोखरेलले बताइन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ पर्दा सुरक्षित स्थानमा बस्न आग्रह गर्दै प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन नचलाउन सुझाव दिएको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले कमजोर संरचना, बिजुलीका तार र धातुका वस्तुबाट टाढा रहन तथा विद्युत् उपकरण नचलाउन भनेका छन्।

सुरक्षित ओत नभएमा टाउको घुँडाबीच राखेर शरीर सानो बनाउँदै निहुरेर बस्ने, समूहमा भए एकअर्काबाट टाढा रहने तथा खुला स्थानमा भए होचो भूभागतर्फ सर्ने उपाय अपनाउन पनि उनले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर बदली, वर्षा, हिमपात र चट्याङको प्रभाव रहने जनाएको छ। शुक्रबार र शनिबार अधिकांश स्थानमा मेघगर्जन, असिना र हुरीसहित मध्यम वर्षा हुने सम्भावना छ ।

शनिबार रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने र आइतबारदेखि देशका अधिकांश स्थानमा मौसम सफा हुने अनुमान छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ४४ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण