भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक सय थान त्रिपाल वितरण गरेको छ । हुरीका कारण धेरै घर, गोठ तथा भौतिक संरचनाको छाना उडाउँदा स्थानीयवासी समस्यामा परेपछि गाउँपालिकाले तत्काल राहतस्वरूप त्रिपाल उपलब्ध गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार विपद्लगत्तै प्रहरी, कर्मचारी तथा जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरी क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ । हालसम्म १९६ जना प्रभावित भएका तथ्याङ्क सङ्कलन भइसकेको उनले जानकारी दिए ।
हुरीबतासका कारण घर, गोठ, शौचालयलगायत संरचनामा क्षति पुगेको बताउँदै उनले कतिपय परिवारको बसोबास गर्ने घरका छाना पूर्ण रूपमा उडाएको छ भने केही घरमा आंशिक क्षति पुगेको जानकारी दिए ।
घरमा बस्नै नमिल्ने अवस्था सृजना भएपछि प्रभावित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । यस्तो कठिन परिस्थितिमा तत्कालका लागि सुरक्षित आश्रयको व्यवस्था गर्न त्रिपाल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । साथै, दीर्घकालीन राहतका लागि पनि गाउँपालिकाले उचित क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।
बसोबासयोग्य घरको दुवैपट्टिको छानो उडाएका गरिब, विपन्न, आर्थिक रूपमा कमजोर, एकल महिला तथा असक्त नागरिकलाई प्राथमिकतामा राखी प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । उनका अनुसार वास्तविक पीडित पहिचानका लागि वडा तहबाट सिफारिस सङ्कलन भइरहेको छ ।
यसैबीच, हुरीबतासका कारण हतुवागढी गाउँपालिकाभित्रका नौवटा विद्यालय तथा सामुदायिक भवनमा पनि क्षति पुगेको छ । हुरीबाट प्रभावित स्थानीयवासीले भने तत्काल राहत उपलब्ध गराएकामा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् । उहाँहरूले थप सहयोग र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन् ।













प्रतिक्रिया