विश्व मानव समाज खानकै समस्यामा छ । अहिले पृथ्वीमा मानव करिब ८ अर्ब रहेका छन् । अबको २५ वर्षपछि सन् २०५० सम्ममा यो संख्या १० अर्बको हुनेछ । नखाई बाँचिन्न । खानाको प्रणालीमा भिन्नता छ । अहिले नै विश्वलाई खाद्यान्न अपुग छ । संसारमा करिब ६७ करोड ३० लाख मानिस खानाको अभावले रातमा भोकै सुत्ने गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य संगठन चिन्तामा छ । सुडानजस्ता मुलुक भोकमरीमा छन् । जग्गा खण्डीकरण हुँदै छ, जलवायुको संकट छ, कृषि उत्पादनमा ह्रास आएको छ । अधिकांश देशमा उत्पादन लागत बढेको छ । पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धिले ढुवानी लागत बढ्दै छ र खाद्यान्नलगायत लत्ताकपडा र सबैजसो बजार मूल्य तीव्र रहेको छ ।
खानाकै लागि विश्वले १.६६ अर्ब हेक्टर जमिन प्रयोग गरिरहेको छ । यो भनेको कृषिकै लागि ६० प्रतिशत प्रयोग हुनु हो । मान्छेलाई खान दिन र खुवाउनैका लागि हामी पनि हाम्रो भूखण्ड बिगार्दै छौँ । कीटनाशक औषधि बढी प्रयोग गर्दै छिटो र बढी फलाउनैका लागि माटोको उर्वरा घटाउँदै विषादी र रासायनिक मलको प्रयोग गर्दै छौँ ।
पर्याप्त सिँचाइ सुविधा छैन। प्राकृतिक स्थल स्खलित हुँदै छन् । संसारका २० देश भोकमरीका कारण समस्या भोगिरहेका छन् जहाँ द्वन्द्व छ, असुरक्षा छ, जसमा करिब १४ करोड मानिस प्रभावित छन् । विगत ३ दशकमा विपत्तिले गर्दा अनुमानित ३.२६ ट्रिलियन डलर मूल्यको कृषि बालीमा क्षति पुगेको छ । विश्वव्यापी कृषि उपजको यो तथ्यांक करिब वार्षिक ५ सय अर्ब, भनौँ करिब ४ प्रतिशत हो । बेमौसमका विपत्तिले हामीलाई पनि ठूलो असर गरेको छ । जमिन र बाली मात्रै नभएर किसान पनि खेर गएका छन्, बाढीपहिरोमा परेका छन् ।
उत्पादकत्व बढाउन भएभरका अस्त्र प्रयोग गरिँदै छ । विषादी, रासायनिक मल, प्राङ्गारिक मलको अभाव छ । कृषि भूमि प्रदूषित छ । त्यसको सीधा प्रभाव नदीनालामा पुगेको छ ।
उत्पादकत्व बढाउन भएभरका अस्त्र प्रयोग गरिँदै छ । विषादी, रासायनिक मल, प्राङ्गारिक मलको अभाव छ । कृषि भूमि प्रदूषित छ । त्यसको सीधा प्रभाव नदीनालामा पुगेको छ । त्यही पानी मानिसले प्रयोग गरिरहेको छ । अन्ततः असाध्य रोगको सिकार भइरहेको छ । जलचर मासिएका छन्, वन अतिक्रमण बढेकाले मौसम प्रतिकूल छ । तापमान वृद्धि भएको छ । पृथ्वीको तापक्रम घटाउने संसारको उद्देश्य अधुरो छ ।
धेरै एजेन्डा लिएर विश्वका धनी देश कोप सम्मेलनमा बसे तर प्रतिफल न्यून छ । हरित गृह ग्यास उत्सर्जन बढेको छ । गएको साढे ३ दशकमा रासायनिक मलको प्रयोग ४६ प्रतिशतले बढेको छ । कीटनाशक औषधिको प्रयोग साविकभन्दा दोब्बरले बढेको छ । पृथ्वीका मित्र प्राणी बेसहारा मात्रै होइन, ठहरै पर्न लागेका छन् । सिमसार, नदी, घोल क्षेत्र घट्दै छ ।
जलवायुलाई लचिलो बनाउन कोदो, मकै, जौ, फलफूल, तोरी, दालगायतका गेडागुडी उत्पादनमा बढी ध्यान दिइनुपर्छ । पाखोबाली सुधार गर्छ यसले । स्वास्थ्यका लागि कार्बोहाइड्रेटभन्दा प्रोटिन, रेशादार बढी भएका खाना, सागपात अरू खानाभन्दा बढी खाने गर्नुपर्छ । चामल, गहुँको परिकार कम गर्ने वा यसलाई मात्रा मिलाएर पछाडि खाने र अगाडि अरू फाइबरयुक्त वस्तु खानुपर्छ । यसले स्वास्थ्य राम्रो गर्छ, रोग पनि कम हुन्छ । अहिले मधुमेहको आम समस्या छ । छिमेकी भारतीय जनता त यो रोगबाट अझ बढी प्रताडित छन् । हामीकहाँ पर्याप्त चामल उत्पादन छैन । अघिल्लो सरकारले चामलमा आत्मनिर्भर भन्यो तर पोहोरको तुलनामा चामल यसपालि बढी आयात भएको तथ्याङ्कले देखाउँछ ।
सरकारलाई इन्धन आयातमा जस्तै भन्सार राजस्व आएको छ । कृषि भूमिको क्षेत्रफल नै घटेको छ । विकासका नाममा सडक, भवन बढेको भनिएको छ । अतः सुक्खा जमिनको अधिक प्रयोग हुने गरी फाइबरयुक्त वस्तु उत्पादन वृद्धि गर्न आम किसानलाई प्रेरित गर्नुपर्छ । डिजिटल प्रविधि अपनाएर माटो परीक्षण, ड्रोनको प्रयोगबाट बीउ रोपण, एआईको प्रयोगबाट सहज वातावरण तय गर्न सकिन्छ, यही माध्यमबाटै बजारमा जोडिन पनि सकिन्छ । भारतले यसको प्रयोग गरिसकेको छ । त्यति ठूलो जनसंख्या भएको भारतले अनाज निर्यात गरिरहेको छ । चीनले त गरेकै छ । विशाल भीमकाय जनसंख्या भएका देशका बीचमा रहेका हामी युवा खाडीमा बेच्दै छौँ विप्रेषणको लोभले । चालू आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा झण्डै चालीस अर्बको हाराहारीमा चामल आयात भएको भन्सार विभागको अभिलेख छ । कनिका, धान, धानको बीउ आयात पनि त्यत्तिकै बढेको छ । कृषिप्रधान देश, कुर्सीप्रधानमा परिणत हुँदा यो अवस्था आएको हो । पहिले हामी धानचामल निर्यात गर्थ्यौँ ।
तराई हाम्रो अन्नको भण्डार, विगतमा राजनीतिको अखडा बन्यो, उत्पादन घट्यो । अब राजनीतिले कोल्टे फेरेको छ, पुरानो त्यो मान्यतालाई स्थापित गर्नुपर्छ । त्यति मात्रै नभएर तराई औद्योगिक क्षेत्र पनि हो, विगतमा विस्थापित भएका औद्योगिक क्षेत्र, उद्योग, कलकारखानालाई सबैतिर स्थापित गराई देशमा उत्पादन बढाउनुपर्छ र बेरोजगारीलाई घटाउनुपर्छ अनि गरिबी दर पनि कम हुन्छ ।
तराई हाम्रो अन्नको भण्डार, विगतमा राजनीतिको अखडा बन्यो, उत्पादन घट्यो । अब राजनीतिले कोल्टे फेरेको छ, पुरानो त्यो मान्यतालाई स्थापित गर्नुपर्छ ।
कम लगानीमा बढी उत्पादन हुने क्षेत्र खोजेर पहाड, हिमाली भेगको प्राविधिक अध्ययनबाट मिलेअनुसारको वस्तु फलाउने कोसिस गरिनुपर्छ । जमिनको अवस्था हेरेर, लचिलो माटो, खडेरी सहने क्षमता, पानी आपूर्तिको अध्ययन, जैविक विविधतामा असर नपर्ने गरी उत्पादन र उत्पादकत्व बढाइनुपर्छ । आफैँलाई खाना अनाज पर्याप्त भयो भने पनि हामी आत्मनिर्भर हुन सक्छौँ । अरूको मुख ताकिराख्नु पर्दैन ।
खानाकै कारण जनस्वास्थ्यमा गम्भीर संकट छ । संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपभोग गर्ने हक दिएको छ तर संविधानका अधिकांश धारा कागजमै सीमित छन् । फास्टफुडको प्रयोग बढेको छ । बिस्कुट, कुकिज, समोसा, चिप्स, केक, पिज्जा, मःम यी सबैमा ट्रान्सफ्याट बढी हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन् ।
यिनमा हुने चिल्लोले मुटु, मिर्गौला, ब्रेन लगायतका रक्तनलीलाई क्षति पुर्याउँछन् । यो एक प्रकारको मन्द विष हो । वनस्पति तेललाई जब पटक–पटक तताइन्छ, प्रशोधन गरिन्छ, लामो समय यसलाई टिकाइराख्न रासायनिक प्रक्रिया गरिन्छ जसले यसमा ट्रान्सफ्याट बढाउँछ । तेललाई धेरै तताउँदा वा तारेका वस्तु पछिसम्म राखिराख्दा ट्रान्सफ्याट बढ्छ । प्याकेट, बट्टाबन्दी खाना बजारमा राख्दा लामो समय यो नबिग्रियोस् भनेर जुन केमिकलको प्रयोग हुन्छ, त्यो घातक हुन्छ । यसले एलडीएल बढाउँछ, एचडीएल घटाउँछ, उल्टो कोलेस्टेरोलको चक्र चल्दा शरीर चाँडै अस्वस्थ हुन्छ ।
अहिले अस्पताल, मेडिकल कलेज, चिकित्सक, औषधि पसल कति बढे, ४ दशकअघि फर्केर हेर्दा यस्तो थिएन । जब एलडीएल बढ्छ, सजिलै रक्तनलीको वालमा टाँसिन्छ, चिल्लो तह बढ्दै जाँदा रक्तनली साँघुरिन्छ । धेरै साना रक्तनली हुन्छन् मुटु, मस्तिष्क, मिर्गौला, आँखामा जाने । यिनमा सामान्य अवरोध हुँदा ब्रेन स्ट्रोक, हृदयाघात, मिर्गौला फेल र आँखाको रेटिना जाने हुन्छ । अतः शरीरका संवेदनशील अङ्ग बचाइराख्न सादा, ताजा, नतारेका, बासी नभएका, सकेसम्म फ्रिजमा नराखेका प्राकृत वस्तुहरूको सेवन गर्नुपर्छ ।
बुढ्यौलीमा आन्द्रामा ल्याक्टो हर्मोन उत्पादन गर्ने क्षमता कम हुन्छ । अतः दूध पनि कम सेवन गर्नुपर्छ । फलफूलको रस बनाएर भन्दा सिधै खाने गर्नुपर्छ । खाना खाँदा पहिले जीआई कम भएका खाना फाइबर खाले खानुपर्छ । कुन वस्तुमा कति ग्लाइसेमिक इन्डेक्स हुन्छ, हेरेर सजिलै थाहा पाउन सकिन्छ । अचेल गुगल सर्च गर्दा कुन वस्तुमा कति जीआई छ थाहा पाउन सकिन्छ ।
आफ्नो शरीरको चिकित्सक पहिले आफैँ हुनुपर्छ, सकिएन भने मात्र महँगो शुल्क तिरेर अस्पताल जाने हो । उदाहरण भन्ने हो भने चामल, मकैमा जीआई अधिक र गहुँमा थोरै कम र जौ, कोदो, फापरमा धेरै कम हुन्छ जुन मधुमेह रोगीले प्रयोग गर्न सक्छन् । मात्रा मिलाएर खाँदा कुनै वस्तु अप्रिय हुन्न । मात्राको साथमा समय पनि मिलाउनुपर्छ, दूध बेलुका खान सकिन्छ । दही बिहान वा दिउँसो मात्रै, पानी पनि मिलाएर लिनुपर्छ ।
खानाअघि वा केहीबेर पछि मात्रै र खाना खाएको दुई घण्टासम्म बेलुकी पल्टने, सुत्ने गर्नुहुन्न । सकिन्छ भने ९० डिग्रीमै राख्नुपर्छ शरीरलाई । ताजा हावामा हरेक दिन घटीमा आधा घण्टा हिँडडुल गर्ने, सक्दो व्यायाम गर्ने गर्नुपर्छ । आजभन्दा भोलिका दिन भयावह हुन सक्छन्, समयमै सचेत हुन जरुरी छ ।














प्रतिक्रिया