आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात « Khabarhub

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको छ। ८ हजार ६० दिनपछि गनर्स फेरि प्रिमियर लिग च्याम्पियन बन्न सफल भएको छ ।

मिकेल आर्टेटाको टोलीले देशको सर्वोत्कृष्ट टोलीको रूपमा प्रिमियर लिगको ट्रफी उठाउने अधिकार प्राप्त गरेको छ।

यो सिजन के उनीहरू हेर्नलाई सबैभन्दा रोमाञ्चक थिए? सायद होइन। आँखालाई सबैभन्दा आनन्ददायी? त्यो पनि होइन । तपाईं यदि केवल आर्सनल समर्थक हुनुहुन्छ भने यो कुरा लागु हुन सक्छ। तर प्रिमियर लिगको उपाधि दौड कहिल्यै सौन्दर्य प्रतियोगिता होइन।

पेप गार्डिओलाले म्यानचेस्टर सिटीमा १० सिजनमा ६ उपाधि जित्दा लिगको इतिहासमा कैयौं उत्कृष्ट फुटबल देखाएर यो दौडलाई त्यस्तै बनाउन प्रयास गरे ।

तर स्टाइलमा जितेर अतिरिक्त पदक पाइँदैन। सबै च्याम्पियनलाई एउटै मापदण्डले मापन गरिन्छ- पोइन्ट । आर्टेटाको आर्सनलले आर्सेन वेन्गरको ‘इन्भिन्सिबल्स’ ले २००४ को अप्रिलमा टोटेनहमविरुद्ध जित हासिल गरेर क्लबको १३औँ इङ्लिस लिग उपाधि जितेयता पहिलो पटक शीर्ष स्थानमा रहँदै उपाधि जितेको छ। पछिल्लो तीन सिजन आर्सनलले लगातार तीन पटक दोस्रो स्थानमा चित्त बुझाएको थियो।

वेन्गरको टोली प्रिमियर लिगको इतिहासकै उत्कृष्ट टोलीमध्ये एक थियो । उसमा गति, स्टाइल, आक्रामकता र शक्तिको संयोजन थियो। तर उनीहरूलाई जोजे मौरिन्होको चेल्सीले उछिन्यो, जुन इन्भिन्सिबल्सको ठीक विपरीत थियो।

मौरिन्होको टोलीले शारीरिक शक्ति र रक्षात्मक दृढतामा आफ्नो बल देखायो। यसको मतलब आर्टेटा उपाधि जित्न व्यावहारिक बाटो अपनाउने पहिलो प्रशिक्षक होइनन्।

लगातार तीन पटक उपविजेता बनेपछि आर्टेटामाथि टोलीलाई विजेता बनाउने र क्लबलाई ‘अभागी उपविजेता’ को ट्याग हटाउने दबाब बढ्दै थियो।

त्यसैले उनले आर्सनललाई हराउन गाह्रो बनाए, मुख्य रूपमा रक्षा र सेट पिसको फाइदा उठाउनेमा ध्यान केन्द्रित गरे।

यदि राम्रोसँग रक्षा गर्न र कर्नर तथा फ्री किकबाट गोल गर्न सकियो भने कुनै पनि टोलीको लागि ठोस आधार तयार हुन्छ । र, आर्टेटाको आर्सनलले यी कुराहरूमा राम्रोसँग सुधार गर्‍यो।

आर्सनललाई कहिलेकाहीँ धक्का लागिरह्यो । उनीहरू मे ३० मा च्याम्पियन्स लिग फाइनलमा आफ्नो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेनसँग भिड्दैछन् । उनीहरू पीएसजी जस्तो पूर्ण आक्रमक टोली होइनन् ।

तर सिटीमा गार्डिओला युगले टोलीहरूलाई केवल आक्रमणात्मक गुण र स्टाइलको लागि मात्र प्रशंसा गर्ने ट्रेन्ड सुरु गर्‍यो। हराउन गाह्रो हुने र राम्रोसँग व्यवस्थित हुने पनि एउटा कला हो । र, आर्टेटाको आर्सनल अहिले च्याम्पियन बन्नुको कारण उनीहरूले यो अनुशासनमा समर्पित रहे।

यो सिजन आर्सनलले लिगमा सबैभन्दा कम २६ गोल खाएको छ । उसैले सबैभन्दा बढी १९ क्लिन सिट पाएको छ। सबैभन्दा बढी ८ वटा १-० को जित निकालेको छ। सेट पिसबाट गोलमा उनीहरू शीर्ष स्थानमा छन् (२४) र कर्नरबाट (१८)।

सन् २०११-१२ यता रियल म्याड्रिड (मौरिन्हो, २०१२-१३ मा ३८) र एट्लेटिको म्याड्रिड (सिमियोने, २०१४-१५ मा ३७) बाहेक अरू कुनै टोलीले आर्सनलको यो सिजनको ३५ सेट पिस गोलभन्दा बढी गरेका छैनन्।

२०२५-२६ सिजनमा अब दुई खेल बाँकी छन् । प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध र च्याम्पियन्स लिग फाइनलमा पिएसजीविरुद्ध । आर्सनलले रियल र एट्लेटिकोको रेकर्डलाई पनि उछिन्न सक्छ। यदि त्यसो भयो भने यो लुकाउन होइन, गर्व गर्न लायक कुरा हुनेछ।

आर्टेटा र आर्सनल च्याम्पियन भएका छन् । र, उनीहरूले यो उपाधि ठोस रक्षा र सेट पिसको दक्षताका कारण जितेका छन्। के यो उनीहरूको वर्चस्वको सुरुवात मात्र हो त ?

खेल चक्रीय हुन्छ। कहिले स्टाइलिश टोलीहरू हावी हुन्छन्, कहिले रक्षात्मक संगठनले शासन गर्छ। गार्डिओला, वेन्गर र क्लोपले स्टाइलपूर्ण टोली बनाए।

मौरिन्हो, एन्टोनियो कन्टे (चेल्सी २०१६-१७) र अहिले आर्टेटाले अर्को बाटो अपनाए। सर एलेक्स फर्गुसनले दुवै पक्ष सम्हाले, तर मुख्य रूपमा काम पहिले गर्ने र त्यसपछि आतिशबाजी गर्ने थिए।

अब आर्टेटाको सामु यो चुनौती छ। क्लबको इतिहासकै सबैभन्दा लामो उपाधि प्रतीक्षापछि आर्टेटाले काम गर्नैपर्थ्यो र आर्सनलको २२ वर्ष लामो उपाधि खडेरी टुंग्याउनु थियो।

अगाडि बढ्दै जाँदा गनर्ससँग आर्टेटालाई थप आक्रमक र विस्तारित खेल देखाउन पर्याप्त गुणस्तर छ। प्रश्न हो- कति ? इमिरेट्समा सबैको काँधबाट भार हटिसकेको छ, अब आर्टेटाले आर्सनललाई मार्टिन ओडेगार्ड, माइल्स लुइस-स्केली, बुकायो साका र काई हाभर्टज जस्ता खेलाडीहरूको रचनात्मक प्रतिभा देखाउने मनोरञ्जक टोली बनाउनुपर्नेछ।

वेन्गरको महान् टोलीमा हुर्केका आर्सनल समर्थकहरूले आफ्नो टोलीलाई थप हावी, खुला र स्टिलसँग स्टाइल मिसाएर खेल्ने अपेक्षा गर्छन्। तर वेन्गरको टोली जति राम्रो भए पनि उपाधि बचाउन कहिल्यै सफल भएनन्।

यो अर्को चुनौती हो, र आर्सनलका सबै प्रतिद्वन्द्वीहरू अहिले संक्रमणकालमा छन्- जसले यो उपाधिलाई राम्रो सिजनको अन्त्य होइन, बरु एउटा डाइनास्टीको सुरुवात बनाउन सक्छ।

गार्डिओला यो सिजनपछि सिटी छोड्ने भएकाले इत्तिहादको परिदृश्य परिवर्तन हुँदैछ, लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड पनि विभिन्न संक्रमणमा छन्।

४४ वर्षीय आर्टेटाले आफ्नो पहिलो उपाधि जित्न झन्डै ६ वर्ष लगाए, तर यो सिजनमा आर्सनलको पहिलो च्याम्पियन्स लिग उपाधि पनि जित्न सक्छन्।

अब लिग उनीहरूको भइसकेको छ, आर्टेटा युगको औपचारिक सुरुवात भएको छ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : १५ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको