मुस्ताङ– थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं २०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो ।
सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी रहेका चार वटा वडाका स्थानीयलाई सहज भएको छ । चक्रपथ निर्माणका लागि रु ३८ करोड ८८ लाखमा महालक्ष्मी हिमाली जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको चार वडाहरु जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । विसं २०८० पुस ६ गते सम्पन्न भइसक्नुपर्ने थासाङ रिङरोड सडक बजेट अभाव हुँदा म्याद थपभई चालु वर्षको असार ३० गतेसम्म कायम गरिएको थियो ।
थासाङ गाउँपालिकाको लेते, छयो, कुज्जो, टिटी, धम्पु हुँदै कोखेठाँटीसम्मको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र सडक निर्माण सम्पन्न भएको इन्जिनियर भण्डारीले बताए । थासाङस्थित चार वडा वडाका गाउँहरु जोड्ने रणनीतिक महत्वको चक्रपथ सडकका लागि आठ दशमलव पाँच मिटर चौडा हुने गरी १० किलोमिटर सडकमा कालोपत्र गरिएको इन्जिनियर भण्डारीले उल्लेख गरे।
रिङरोड सडकअन्तर्गत छयोदेखि कोखेठाँटीसम्मको दूरीमा सडक स्तरोन्नति गरी कालोपत्र गरिएको हो । सडकको सम्पूर्ण काम सम्पन्न भई ‘रोड मार्किङ’ र ‘ट्राफिक साइन पोष्टिङ’ लगायतका काम सकिएका छन् ।
थासाङ गाउँपालिकास्थित (बेनी–जोमसोम) मुख्य राजमार्ग सडकलाई जोड्ने गरी रणनीतिक महत्वको सडक निर्माण सम्पन्न भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताए।
उनले कालीगण्डकी पारीका चार वडाहरुलाई जोड्ने रिङरोड सडक सम्पन्न भएको र प्रदेश सरकारबाट कार्यान्वयनमा आएको कालीगण्डकी नदीमा निर्माणाधीन लेते–छयो र लेते–धम्पु जोड्ने पुल सम्पन्न भएमा थासाङका सबै गाउँमा सडक पहुँच स्थापित हुनेछ ।












प्रतिक्रिया