साउने सोमबार : यस्तो छ उपवास बस्ने सही तरिका  « Khabarhub

साउने सोमबार : यस्तो छ उपवास बस्ने सही तरिका 



आज साउन महिनाको पहिलो सोमबार । हिन्दु महिलाहरू भगवान् शिवको आराधना गर्दै सोमबारे व्रत बसेका छन् । 

धार्मिक रूपमा साउनको सोमबारलाई विशेष मानिए पनि पछिल्लो समय व्रत र उपवासलाई शारीरिक एवं मानसिक स्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्त्वका साथ हेर्न थालिएको छ ।

धेरै अध्ययनहरूले मधुमेह, उच्च रक्तचाप, र थाइराइड जस्ता समस्या भएका बिरामीका लागि हप्तामा एक दिन व्रत बस्नु लाभदायक हुने देखाएका छन् । तर, व्रत बस्ने र खोल्ने सही शैली नमिल्दा स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको पोषणविद्हरू बताउँछन् । 

लामो समय भोको रहेर व्रत तोड्ने बेला एकैपटक भारी वा अस्वस्थकर खाना खाँदा शरीरमा नकारात्मक असर पर्ने गर्छ ।

के हो उपवास ?

उपको अर्थ नजिक र वासको  अर्थ बस्ने हो । यसको दार्शनिक अर्थ शरीरको भौतिक मागभन्दा माथि उठेर आन्तरिक दैवी शक्तिको नजिक पुग्नु हो । 

आयुर्वेद विज्ञानका अनुसार मन, आत्मा र शरीरलाई स्वस्थ राख्न उपवासको ठूलो भूमिका हुन्छ । चिकित्सा क्षेत्रमा उपचारकै पद्धतिका रूपमा ३ देखि १५ दिनसम्म पनि उपवास गराउने गरिन्छ ।

विश्वभरका विभिन्न धर्म र संस्कृतिमा उपवास बस्ने आ–आफ्नै रैथाने तरिकाहरू रहेका उनले बताइन् । जस्तै हिन्दु परम्परामा महिनामा दुई पटक एकादशीमा अन्न नखाई फलफूल, रस, पानी वा दूध मात्र खाएर व्रत बस्ने चलन छ । 

तीजमा निराहार (पानी पनि नखाई) व्रत बस्ने गरिन्छ भने हप्ताको कुनै एक दिन देवी–देवताका नाममा व्रत बस्ने चलन पनि उत्तिकै लोकप्रिय छ। त्यस्तै बौद्ध धर्मावलम्बीहरू दिउँसो भोजन गरेपछि सीधै भोलिपल्ट मात्र खान्छन् । योगीहरू दिनमा एक छाक मात्र सात्विक भोजन वा रोटी मात्र खाएर बस्छन् ।

मुस्लिम परम्परामा रमादान महिनामा एक महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत नपिई कठोर उपवास बस्ने गरिन्छ । क्रिश्चियन परम्परामा  पनि आफ्नै किसिमले उपवास बस्ने र आत्मशुद्धि गर्ने अभ्यास छ ।

अन्य व्यवहारः हप्तामा दुई दिन मासु नखानु, लसुन–प्याज र गोलभेँडा बिनाको सात्विक भोजन मात्र गर्नु वा बेलुकाको एक छाक छोड्नुलाई पनि उपवासकै स्वरूप मानिन्छ ।

बुद्धको पाठ : अति गर्नुहुन्न

खाना नखाँदैमा वा शरीरलाई कष्ट दिँदैमा मात्र ज्ञान वा शक्ति मिल्छ भन्ने होइन । बुद्धत्व प्राप्तिका लागि सिद्धार्थ गौतमले ४९ दिनसम्म कठोर उपवास गरेका थिए । तर, त्यसले उनलाई बेहोस हुने अवस्थामा पु¥यायो, ज्ञान दिएन । पछि सुजाताले दिएको ‘खिर’ खाएर स्वस्थ भएपछि मात्र उनले ध्यान विधिबाट बुद्धत्व प्राप्त गरे । त्यसैले लामो समयसम्म भोकै बस्ने अतिवादी विचार त्यागेर मध्यमार्गी बाटो अपनाउनु बुद्धिमानी हुन्छ ।

तौल नियन्त्रण र स्वास्थ्य सुधारको अचुक उपाय 

तीसको दशकमा रहेका ५ फिट ६ इन्च अग्ला गिरी थरका एक सवारी चालकको तौल अनियन्त्रित खानपान र माछा–मासुको सोखका कारण ८० केजी पुगेको थियो ।

सानै उमेरमा भुँडी लाग्ने र उच्च रक्तचापको समस्या भएपछि चिकित्सकले उनलाई तौल घटाउन सल्लाह दिए । उनले अनुशासनमा बस्न एउटा धार्मिक व्रतको सहारा लिए। गलामा रुद्राक्षको माला लगाए र ’रुद्राक्ष लाउँदा मासु खानुहुँदैन’ भन्ने पारिवारिक मान्यता अनुरूप माछा–मासु त्यागे । सुरुका केही दिन गाह्रो भए पनि बिस्तारै उनको बानी सध्रियो । 

नतिजास्वरूप, एक महिनामै उनको तौल ३ केजी घट्यो र भुँडी पनि कम भयो । साँझ ६–७ बजे नै रोटी, तरकारी र दूध खाने बानीले उनको पेट हलुको भयो र स्वास्थ्यमा निकै सुधार आयो । यो धार्मिक आवरणमा गरिएको एक प्रकारको सफल उपवास नै थियो, जसले उनलाई निरोगी बनायो ।

कसरी सुरु गर्ने त उपवास ? 

उपवास बस्नु भनेको मन र शरीरलाई पूर्ण अनुशासनमा राख्नु हो । यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ। सुरुमै कठोर व्रत बस्नुभन्दा बिस्तारै शरीरलाई बानी पार्नुपर्छ ।

क्रमिक सुरुवात : सुरुमा खानाको मात्रा कम गर्ने, मासुजन्य र चिल्लो पदार्थ नखाने तथा कुनै दिन तरकारी र फलफूल मात्र खाने अभ्यास गर्न सकिन्छ ।

१२ घन्टे उपवास : बेलुका ६ बजे खाएपछि भोलिपल्ट बिहान ६ बजेसम्म केही नखाई सजिलै १२ घन्टाको उपवास गर्न सकिन्छ ।

पाचन यन्त्रलाई विश्राम : लगातारको कामले पेटका आन्द्राहरू थाकेका हुन्छन् । उपवासले ती अंगहरूलाई आराम दिन्छ, जसले गर्दा कब्जियत सुधार हुन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

पहिले–पहिले अन्धविश्वास मानिने उपवासको संस्कृतिलाई अहिले आधुनिक विज्ञानले समेत स्वास्थ्यका लागि सर्वोत्कृष्ट प्रमाणित गरिसकेको छ । त्यसैले, आफ्नो शरीरको क्षमता हेरेर हप्तामा एक दिन उपवास किन नबस्ने ?

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  २ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्