स्वर्णिमलाई रविको ढाडस : विचलित नहुनु, अरू समस्या म मिलाउँछु « Khabarhub

स्वर्णिमलाई रविको ढाडस : विचलित नहुनु, अरू समस्या म मिलाउँछु

बालेनसँग सहकार्य गरेर काम गर्न सुझाव



काठमाडौं- काभ्रेपलाञ्चोकको दूसितत थानी रिसोर्टमा एकसाथ २४ घण्टा बिताएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले आइतबार दिउँसो काठमाडौं फर्किएका छन्। स्वर्णिमको लगानी रहेको यो रिसोर्टमा दुईजनाबीच पारिवारिक जमघट भनिए पनि खास मुद्दा सरकार नै थियो । जसका कारण रास्वपाभित्र तरङ्ग ल्याएको छ।

स्रोतका अनुसार स्वर्णिम र रवि पूर्वयोजनामै त्यहाँ पुगेका हुन्। अर्थमन्त्री वाग्लेको लगानी रहेको रिसोर्टमा उनीहरूले एकसाथ रात बताए । दुई नेताबीच पछिल्लो समय वाग्ले र प्रधानमन्त्री वालेन्द्र शाहबीचको सम्बन्धबारे छलफल भएको छ।

कुराकानीका क्रममा प्रधानमन्त्री वालेन्द्रले अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएर आलोचना गरेको कुरा पनि उठेको थियो। रविले स्वर्णिमलाई महत्त्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीसँग सल्लाह र समन्वयमै जान पनि सुझाए।

करको दर आफूलाई जानकारी नदिई हेरफेर गरेको, उद्योगी व्यवसायीसँग छलफल गर्दा स्वर्णिमबारे गुनासा आएका कारण बालेनले आफ्नो सचिवालयमार्फत् असन्तुष्टि जनाएको कुरा रविले राखेका थिए।

गत मङ्गलबार बालेन रविलाई भेट्न बूढानीलकण्ठस्थित उनकै निवास पुगेका बेला स्वर्णिमबारे पनि कुराकानी भएको थियो। तर उनलाई मन्त्री पदबाट हटाएर अर्कोलाई ल्याउनेबारे दुई नेताबीच छलफल नभएको बताइन्छ।

रविनिकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीले स्वर्णिमजीसँग केही हदसम्म चित्त दुखाउनु भएको रहेछ। तर दुई नेताबीच त्यसको निराकरणबारे कुराकानी भयो। जुनसुकै निर्णय गर्दा प्रधानमन्त्रीसँग सल्लाह गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ।’

‘गत मङ्गलबार स्वर्णिमजीको कार्यशैलीबारे प्रधानमन्त्रीले प्रश्न उठाएपछि सभापतिले अर्थमन्त्रीलाई जानकारी गराउनुभएको हो। प्रधानमन्त्री पनि अर्थमन्त्री हटाउने योजनामा हुनुहुन्न। बाहिर आएका कुरा हल्ला मात्रै हुन्’, रविनिकट नेता भन्छन् ।

रविसँगको संवादमा स्वर्णिमले मन्त्रालयको अधिकार क्षेत्रकै विषयमा प्रधानमन्त्रीसँग छलफल नगरेको बताए । ‘अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा कहिलेकाहीँ चाहेर पनि प्रधानमन्त्रीसँग छलफल नगरी निर्णय लिनुपर्छ। मसँग पनि उहाँले उद्योगी व्यवसायी र अर्थ मन्त्रालयसँग सरोकार राख्ने विषयमा सोधपुछ नगरी निर्णय लिनुभयो यसमा चित्त दुखाइ छैन। हामीबीच केही हदसम्म समन्वय नभएको पक्कै हो’, स्वर्णिमले रविसँग भने ।

स्वर्णिमले यसो भनेपछि रविले दुवैजनाबीच सहकार्य हुनुपर्ने बताए । रविले विश्वासिला पात्र स्वर्णिमसँग प्रधानमन्त्री बालेनसँग काम गर्दा सम्मानजनक व्यवहार भए नभएको लगायतबारे पनि जिज्ञासा राखे ।

स्वर्णिमले कहिलेकाहीँ प्रधानमन्त्रीको अस्वाभाविक व्यवहारका कारण सरकारमाथि प्रश्न उठ्ने गरेको बताए । तर अहिले नै काम गर्नै नसकिने अवस्था नरहेको उनले खुलाए। तर प्रधानमन्त्रीको स्वभावका कारण कहिलेकाहीँ गडबडी हुने गरेको बताए ।

पार्टीबारे पनि छलफल

अर्थमन्त्री वाग्ले र रविबीच अब रास्वपामा मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्य, १८ भन्दा बढी सचिवालय सदस्य र १० जना पदाधिकारीबारे पनि सामान्य छलफल भयो। नेताहरूलाई दोहोरो जिम्मेवारी दिँदा पार्टी र मन्त्रालय दुवैको कामको प्रदर्शन प्रभावकारी नहुने भएकाले यसबारे प्रधानमन्त्रीसँग पनि छलफल गरेको रविले बताएका थिए।

स्वर्णिमले पनि स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेकाले दोहोरो जिम्मेवारी दिनुभन्दा सबै नेतालाई जिम्मेवारी पुग्ने गरी बाँडफाँड गर्ने सुझाव दिएका छन्।

दुई नेताबीच बालेन पक्षले मागेका सचिवालय सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यको भागबन्डाबारे पनि कुराकानी भयो। त्यसबेला स्वर्णिमले रविलाई पार्टीलाई दीर्घकालीन रूपमा घाटा पुग्ने गरी काम नगर्न सुझाव दिए।

स्वर्णिमले भनेका थिए, ‘कताको महाधिवेशन बनाउने भनेर हामी यहाँसम्म आएका छौँ। कुनै पनि व्यक्ति तल पर्ने र कुनै पनि व्यक्ति माथि पर्ने गरी संस्थापन पक्षका नेताहरूको चित्त दुख्ने किसिमका गतिविधि हुनुहुँदैन।’

उनले थपे, ‘यो सरकार पाँच वर्ष चल्ने हो। तर कुनै पनि निर्णय गर्दा पार्टी संस्थालाई घाटा र व्यक्तिलाई फाइदा हुने हिसाबले नगर्दा राम्रो हुन्छ।’

स्वर्णिमले रविलाई पदाधिकारी, केन्द्रीय सदस्य र सचिवालयको टुङ्गो लगाएर पार्टीका गतिविधि तल्लो तहसम्म पुर्‍याउन सुझाव दिए। विधानले सम्पूर्ण अधिकार दिएकाले आफूले त्यसैअनुसार काम गरिरहेको जानकारी रविले स्वर्णिमलाई दिए।

बालेनले स्वर्णिम हटाउन लागे ?

सहकार्य नभएको, दैनिक उपभोग्य वस्तुमा करको बढाएको तथा बजेटको विवादलाई लिएर बालेनले रविसामु गुनासो राखेका थिए । अतिसंवेदनशील क्षेत्रहरूमा पनि करको दायरा बढाउनुका साथै आफूसँग समन्वय नगरी एकलौटी निर्णय गर्दै अगाडि बढेको कुरा बालेनले रविलाई राखेका थिए ।

स्वर्णिमबारे गुनासो गरे पनि उनलाई हटाइहाल्ने निष्कर्षमा पुगेका थिएनन्। गत मङ्गलबार रवि र बालेनबीचको भेटवार्तामा अन्य मन्त्रीबारे पनि कुराकानी भएको थियो। त्यसक्रममा उद्योगमन्त्री गौरी यादवलाई एकपटक सचेत गराइसकिएको बताइएको छ।

विगतमा पनि कार्यशैली सुधार्न स्वास्थ्यमन्त्री निशा मेहेता, महिला तथा बालबालिका मन्त्री सीता वादी, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललगायतको कार्यशैलीबारे रवि र बालेनबीच छलफल भएको छ। उनीहरूलाई रास्वपा नेतृत्वले सचेत गराइसकेको छ।

‘कार्यशैलीलाई लिएर प्रधानमन्त्रीले सभापतिसँग गुनासो राख्नुभएको हो। तर प्रधानमन्त्री अहिले नै अर्थमन्त्री हटाउने पक्षमा हुनुहुन्न। प्रधानमन्त्रीसँग समन्वयमा काम गर्ने, बजेटलगायतमा सल्लाह गरेरै अगाडि बढ्नुपर्ने कुरा सभापतिलाई प्रधानमन्त्रीले भन्नुभएको हो। तर उहाँ अर्थमन्त्रीलाई हटाउने पक्षमा बिल्कुलै हुनुहुन्न थियो’, रविनिकट एक नेता भन्छन्।

रविले पनि स्वर्णिमलाई प्रधानमन्त्रीको केही विषयमा चित्त दुखे पनि समन्वयमा काम गर्नुपर्ने सुझाए। दुवैजनाको कार्यशैलीमा सुधार आवश्यक रहेको रविको बुझाइ छ।

रविले आफूनिकट स्वर्णिमसँग काभ्र नै पुगेर छलफल गरेका हुन्। ‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच समन्वयमा केही समस्या देखिएपछि सुल्झाउन सभापति खटिनुभएको हो। तर प्रधानमन्त्रीले सभापतिसमक्ष स्वर्णिमलाई हटाउन दबाब दिनुभएको छैन’, स्रोत भन्छ ।

रविले स्वर्णिमलाई महत्‍त्पूर्ण विषमा प्रधानमन्त्रीसँग सल्लाह गरेर अघि बढ्न भन्दै अविचलित भएर काम गर्न सुझाए। समन्वय अभावमा प्रश्न उठ्ने बताउँदै उनले त्यसलाई अन्यथा नमान्न र अर्थतन्त्र चलायन बनाउन सक्रिय हुन स्वर्णमिलाई सुझाए।

‘महत्त्वपूर्ण विषयमा तपाईंहरूबीच पक्कै छलफल हुनुपर्छ। विगतमा आफ्नो कार्यभार पनि प्रधानमन्त्रीले तपाईंलाई सुम्पिएकै हो। त्यसकारण समन्वयमा अघि बढ्नुहोस्। प्रधानमन्त्रीले हटाउन सभापतिलाई कुरा गर्नुभएको हो भन्ने मिडियाका कुरा तपाईंले बुझ्नुभएको नै होला। केही भएको होइन। हटाउने कुरा उहाँले गर्नुभएको छैन’, स्वर्णिमसँग रविको भनाइबारे स्रोत भन्छ ।

काभ्रे भेटमा रविको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ढुक्कले काम गर्नुहोस्। सत्य र न्यायको पक्षमा उभिनुहोस्। भएको केही छैन। विचलित नहुनुहोस्। अब सचेत भएर दुवैजनाबीच सहकार्य गर्नुहोस्। कसैले पनि इख नराखुन’, रविले स्वर्णिमलाई भने ।

दुई नेताबीचको भेटबारे प्रधानमन्त्री शाहलाई पनि जानकारी भएको उनको सचिवालय बताउँछ । ‘कुनै पार्टीका दुई जना नेताहरू भेट्दैमा प्रधानमन्त्रीलाई के टाउको दुखाइ हुनु र ? त्यसमा पनि उहाँहरूको भेटबारे प्रधानमन्त्रीलाई जानकारी थियो नै होला। राजनीतिक भेटवार्तालाई धेरै शङ्का गर्नुपर्ने ठाउँ छैन’, सचिवालयका ती सदस्य भन्छन् ।

पछिल्लो समय प्रधानमन्त्री र अर्थमन्त्रीबीच विवादको कुरा आएको छ। दुईजनाको सम्बन्धमा प्रश्न उठेपछि बालेनले विदूषी राणा र सुशान्त बौद्धिकमध्ये एकलाई अर्थमन्त्री बनाउन लागेको चर्चा चलेको छ। तर यो विषय कुनै हिसाबले सत्यमा आधारित नभएको मन्त्रिपरिषद्का एक सदस्य बताउँछन्।

सरकारको आयु पाँच वर्ष भएकाले कार्यकाल पूरा हुने गरी काम गर्ने विषयमा रवि र बालेनबीच मनमुटाव नभएको पार्टी स्रोत बताउँछ। पुराना दलहरूका नेताहरूको अर्थहीन भेटघाटले जनता आजित भइसकेकाले त्यस्तो अवस्था दोहोरिन नदिन सभापति लामिछाने मिलाउने भूमिकामा सक्रिय भएका हुन् ।

कम्तीमा पनि एउटा मन्त्रीले एकदेखि दुई वर्ष काम गर्नुपर्ने पक्षमा रवि छन्। त्यसका लागि सभापति र प्रधानमन्त्रीबीच राम्रो समन्वय चाहिएको छ। वालेन्द्र र रविनिकट स्रोतले पनि कुनै हालतमा स्वर्णिमलाई फेर्ने निष्कर्षमा प्रधानमन्त्री नपुगेको दाबी दोहोर्‍याइरहेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ३ : ४० बजे

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ– सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१

मन्त्रालयसँग पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौँ– विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य

मकवानपुरमा अपराधसँग सम्बन्धित ७७ मुद्दा फर्स्योट

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ