गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन् तीव्र बन्दै गएको छ ।
नेतृत्व चयन, संगठनात्मक निर्णय र आगामी राजनीतिक कार्यदिशालाई लिएर संस्थापन र संस्थापन इतर समूहबीचको मतभेद गहिरिँदै जाँदा पार्टी विभाजनको डिलमा उभिएको हो ।
विशेष महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयन र संगठन पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न नसक्दा महाधिवेशनपछि पनि विवाद निरन्तर चर्किँदै गएको छ ।
दुवै पक्षले एक–अर्कामाथि पार्टीको विधि, विधान र लोकतान्त्रिक अभ्यास विपरीत अघि बढेको आरोप लगाइरहेका छन् । पछिल्लो समय संस्थापन इतर समूहले छुट्टै भेला, परामर्श र शक्ति प्रदर्शनलाई तीव्रता दिएको छ ।
‘वैशाखमा अदालतले निर्णय गरेदेखि हामी गगनजीको प्रतीक्षामा छौँ । उहाँले मिल्ने मनसाय देखाउनुभएको छैन । त्यही पनि हामीले देशभरका साथीको सुझाव संकलनका लागि प्रदेश भेला सकेर राष्ट्रिय भेलाको घोषणा गरेका छौँ,’ चौधौँ महाधिवेशन कार्यसमितिका प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले बताए ।
यसले पार्टीभित्रको ध्रुवीकरण थप स्पष्ट बन्दै गएको देखाएको छ । दुवै समूहका केही नेताहरूले विवाद समाधानका लागि वार्ता र सहमतिको पहल आवश्यक रहेको बताए पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।
‘हामी पार्टी फुटको चाह राखेका छैनौँ । गगनजीलाई सभापति पनि मानेका छौँ । हाम्रो लागि कुनै स्थान दिनु पर्दैन तर मिल्ने मनशायका साथ आमनेसामने बसेर उहाँले १५ औँ महाधिवेशन निष्पक्ष गराउँछौँ भन्ने प्रतिबद्धता दिए हामी अरु केही चाहन्नौ,’ खबरहबसँगको कुराकानीमा पूर्व प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
महाधिवेशन निष्पक्षताका लागि विधानअनुरूप गठित समितिहरूमा दुवै समूहको सहभागिता हुनुपर्ने उनको भनाई छ । यस्तै, पार्टीको क्रियाशील सदस्यता डिजिटल अद्यावधिकको विषयमा उनले पार्टीले नै स्वतः गरिदिनुपर्ने माग राखे ।
‘हामीले विशेष महाधिवेशन अघि नै सदस्यता अद्यावधिक गरिसकेका छौँ । त्यसलाई पार्टीले डिजिटलाइज्ड गर्दा हुन्छ,’ उनले भने ।
उक्त विषयलाई विवादको विषय बनाउन आवश्यक नहुने संस्थापनतर्फको प्रस्टोक्ति छ ।
‘विधानअनुरूप केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि क्रियाशील सदस्यता डिजिटलाइज्ड गर्ने काम कसैले गर्दिन भन्न मिल्दैन’, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन बताउँछन् ।
उनका अनुसार ३०÷३५ वर्षदेखि पार्टीको उच्च नेतृत्वमा भूमिका निर्वाह गरेका नेताले अब नयाँलाई स्थान दिनुपर्छ ।
‘उहाँहरूका तर्फबाट क्षमता भएर पनि ठाउँ नपाएका साथीहरू आएर विभिन्न समितिमा बसेर १५ औँ महाधिवेशनलाई साझा महाधिवेशन बनाउन आदरणीय सभापति तयार हुनुहुन्छ,’ उनले थपे, ‘सम्भवतः साउन ६ गते बीपी स्मृति दिवस यता वा त्यसपछि उहाँहरुबीच पनि पक्कै एकता हुन्छ, त्यसको विकल्प छैन,’ ।
दुवै समूहका बीचमा देखिएको अविश्वास, आरोप–प्रत्यारोप र समानान्तर गतिविधिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ । तर, दुवै पक्षले एकता चाहेको भन्न भने छाडेका छैनन् ।
‘आन्तरिक रुपमा नेताहरुबीच छलफल जारी नै छ । सदस्यता अद्यावधिकको विषय अनलाइनमार्फत सहज पनि बनाइएको हो । सिस्टम नै उहाँहरूको मोबाइलमा कोड पठाउने हुँदा आफैले पार्टीले नै गर्न नमिल्ने विषयमा नेताहरू संवेदनशील बन्नुपर्छ,’ उपसभापति पुष्पा भुसालले बताइन् ।
समय र मतदाताको माग अनुसार पार्टी पनि परिवर्तित हुनुपर्ने अवस्थाको ध्यान दिन उनले सुझाइन् ।
‘पार्टीमा हामीले विभिन्न समूह चाहेका छैनौँ । साझा र सबैको पार्टी बनाउन खोजिरहेका छौँ, जसमा युवालाई विशेष जोड दिने हाम्रो योजना छ । पार्टीलाई समयानुकूल बनाउनु अहिले आवश्यकता हो । यसलाई सबैले बुझ्नुपर्छ,’ उपसभापति भुसालले बताइन् ।
यही चर्चाकाबीच संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीमा संस्थापन इतर समूहले समानान्तर कार्यक्रमको तयारी गरेको छ । इतर समूहले साउन ६ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा समूहको भेला डाकेको छ । उक्त भेलाबाट राष्ट्रिय भेलाको मिति तय हुने इतर समूहका नेताहरू बताउँदै आएका छन् ।
सोबारे चुनदेवीस्थित १५ औँ महाधिवेशन सम्पर्क कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै नेता मीन विश्वकर्माले सरकारलाई उत्तरदायी गराउँदै पार्टी हितका लागि राष्ट्रिय भेला गर्ने बताइसकेका छन् ।
‘पार्टी भित्र वलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय वहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न हामीले (नियमित महाधिवेशन पक्षधर) यही श्रावण महिनाभित्र काठमाडौमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौँ,’ विश्वकर्माले बताए ।
उनका अनुसार कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको इतर समूह पार्टीभित्र एकता गर्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्षमा पुगिसकेको छ ।
‘पार्टी एकताको लागि नियमित महाधिवेशन पक्षले निरन्तर हदैसम्मको लचकता अपनाउँदै लामो धैर्यता राख्दा पनि विवाद पश्चातापको सात महिनासम्म विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलब्धिमूलक पहल गरेको वा गर्न चाहेको जस्तो देखिएन,’ उनले भने ।
त्यसअघि असार २४ मा सम्पन्न इतर समूहको तीन दिने बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।
उक्त बैठकपछि नेता विश्वकर्माले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका थिए ।
सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने इतर समूहको भनाइ थियो ।
तीन दिनसम्म चलेको बैठकमा धारणा राख्ने नेताहरूले आवश्यक परे विकल्पमा जान पनि तयार रहनुपर्ने बताएको बारे नेता विश्वकर्मा भन्छन्, ‘यदि, यी कुराहरू कुनै पनि मानिएनन् भने हामी विकल्पमा जान पनि तयार हुनुपर्छ भनेर हिजो–अस्तिकै जसरी धारणा पनि आइरहेका छन् ,’ ।
कांग्रेसमा पछिल्लो समय सदस्यता अद्यावधिक, महाधिवेशनसम्बन्धी तयारी तथा संगठनात्मक विषयलाई लिएर मतभेद बढ्दै गएको हो । यही विवादबीच इतर समूहले पार्टी एकतालाई केन्द्रमा राख्दै सहमतिमार्फत निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।
बीपी स्मृति दिवसमा पार्टीको ‘जरा अभियान’ समापन
यसैबीच संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ समापन गर्ने भएको छ ।
कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू भएको ‘जरा अभियान’ ६ साउनमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो ।
कांग्रेसले ७७ वटै जिल्लामा जारी ‘जरा अभियान’ बीपी स्मृति दिवसको अवसर पारेर ६ साउनमा समापन गर्न तल्लो तहका कार्यसमितिहरूलाई परिपत्र गरेको छ ।
महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जरा अभियान’ को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्नुहुन अनुरोध गरिन्छ ।’
परिपत्रअनुसार देशभरका पालिकाहरूमा खटिएका प्रतिनिधिहरूले ४ साउनमा जिल्ला–जिल्लामा कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरूलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
‘हामीले आदरणीय नेता बीपी कोइरालाको विचारधारा र साहित्यलाई जनतासम्म पुर्याउन र बीपी विचार कांग्रेस मात्रै नभई देश र नागरिकको सदैव हितका लागि साझा हो भन्ने सन्देश दिन खुला क्षेत्रमा कार्यक्रम आयोजना गर्ने भएका हौँ,’ उपसभापति भुसालले भनिन्,‘यो कार्यक्रमले नागरिक र कांग्रेसलाई जोड्न भूमिका खेल्नेछ,’ ।
कांग्रेसले पछिल्लो समय २० असारसम्म मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गरिने भनेको थियो । तर, केन्द्रीय प्रतिनिधिहरूले समय अभाव भएको भनेपछि पार्टीले समयावधि ३ साउनसम्मका लागि थप गरेको छ ।
१ वैशाखबाट सुरू भएको ‘जरा अभियान’मा अघि सबै क्रियाशील सदस्यहरूले आ–आफ्नो सदस्यता रहेको वडामा भौतिक रूपमा उपस्थित भएर अद्यावधिक गर्नुपर्ने निर्णय गरेपछि कांग्रेसमा विवाद सुरू भएको थियो ।
सभापति गगन थापाले १ वैशाखमा काठमाडौं महानगरपालिका–३० को वडा कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरुवात भएको थियो । सभापति थापाले स्वयम्ले पार्टी एकताबारे बोल्दै ‘१५औँ महाधिवेशन सबैको साझा महाधिवेशन गराउन म जुनसुकै समिति बनाउन तयार छु ।
तर १४ औँ नियमित महाधिवेशनको कार्यसमिति विशेष महाधिवेशनको कार्यसमितिमा ल्याएर गर्ल्यामगुर्लम मिसाउन भने म सक्दिन,’ काठमाडौँ उपत्यकामा आयोजित एक कार्यक्रममा उनले प्रष्ट भनाई राखे ।












प्रतिक्रिया