काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/०८२ भन्दा आर्थिक बर्ष २०८२/०८३ मा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी दिएको छ ।
एमक्यापका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा १२ हजार ५१३ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।
आर्थिक बर्ष २०८२/०८३ मा सो संख्या बढेर १६ हजार ६७१ जना पुगेको एमक्याप प्रमुख अनिल प्रसाईँले जानकारी दिए ।
जसमध्य १५ हजार ८८७ जना विदेशी र सातसय ८४ जना स्वदेशी पर्यटक हुन् । विगत तीनबर्ष यताको पर्यटकको तथ्यांक विश्लेषण गर्दा मनास्लु क्षेत्रमा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको देखिन्छ । आर्थिक बर्ष २०८०।०८१ मा मनास्लु क्षेत्रमा जम्मा नौ हजार ७८३ जना पर्यटक पुगेका थिए । तीनबर्ष यता ५८.६८ प्रतिशतले पर्यटकको संख्या वृद्धि भएको एमक्यापका प्रमुख अनिल प्रसाईँले जानकारी दिए ।
विदेशी पर्यटकसंग एमक्यापले चार करोड १२ लाख ५० हजार १८८ रुपैयाँ पर्यटन शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक बर्ष २०८१/०८२ मा तीन करोड २७ लाख ६५ हजार संकलन भएको थियो भने आर्थिक बर्ष २०८०/०८१ मा दुईकरोड ५६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यस्तै दुई बर्षअघिदेखि गाउँपालिकाले पनि स्वदेशी, विदेशी पर्यटकसंग राजस्व संकलन गर्न सुरु गरेको छ । गत आर्थिक बर्ष २०८२/०८३ मा पालिकाले एक करोड ४६ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । करिब एकहजार तीनसय स्वदेशी पर्यटकसंग जनही दुईसय रुपैयाँका दरले करिब १४ हजार छसय विदेशी पर्यटकसंग एकहजार रुपैयाँका दरले राजस्व संकलन गरेको पालिकाका राजस्व संकलन गर्ने कर्मचारी विशाल घलेले जानकारी दिए ।
अमेरिका–इरान युद्धका कारण पर्यटक आवागमनमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो । तर अघिल्लो बर्षभन्दा उल्लेख्य दरमा वृद्धि भएको छ । तर यो संख्या युद्ध हुनुअघि अनुमान गरेको भन्दाचाहिँ कम भएको एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । ‘गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षभन्दा पर्यटक संख्या बढ्छन् भन्ने प्रक्षेपण थियो तर खाडी युद्धले गर्दा यो संख्या घट्यो’, उनले भने, ‘यदि युद्धको प्रभाव नपरेको भए १८ हजार पर्यटक आउँछन् भन्ने अनुमान थियो ।’
मनास्लु क्षेत्रमा सडक विस्तार नभैसकेको, यहाँका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका बारेमा प्रचार प्रसार हुदै गएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको एमक्यापले जनाएको छ । पर्यटकको संख्या बर्सेनि बढ्दै गएपनि पूर्वाधारको अवस्थामा भने उति सुधार हुन सकेको छैन । नयाँ–नयाँ गन्तव्यको पहिचान, पदमार्ग सुधार, अझै स्तरीय होटल, लज तथा टिहाउसहरुको विकास हुनुपर्ने देखिएको छ । साथै पर्यटक तथा सहयोगीहरुप्रति गरिने आतिथ्य(हस्पिटालिटी)मा पनि सुधारको खाँचो रहेको छ ।
मनास्लु क्षेत्रमा विश्वको आठौं (८,१६३मिटर)अग्लो मनास्लु हिमाल, प्रसिद्ध वीरेन्द्रताल, लार्केपास, कालताल, पुंगेन तथा सेराङ गुम्बालगायत प्राकृतिक तथा धार्मिक, सांस्कृतिक सम्पदाप्रति पर्यटक आकर्षित हुने गरेका छन् । त्यस्तै अहिंसा उपत्यकाका रुपमा प्रसिद्ध चुम उपत्यका, राजेनगुम्बा, मु गुम्बा, गणेश हिमाल बेसक्याम्प, तिब्बती भाषा, भेषभुषा, संस्कृतिको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।












प्रतिक्रिया