बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी « Khabarhub

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी।

बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउनमात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन् । 

“शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ । स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्”, अधिकारीले भने। 

अधिकारीका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन् । यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनलाई समेत जोड्ने सम्भावना देखिएको छ ।

पोखरी संरक्षण समिति ‘विराट सरोवर विकास समिति’का अध्यक्ष इन्द्र प्रसाईँका अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारले मानिसलाई हरियाली र शान्त वातावरणको आवश्यकता झन् बढाएको छ । 

उनले भने, ‘सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा उक्त क्षेत्र स्थापित हुँदै गएको छ । यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन् ।’

उनका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी (बोटिङ) सञ्चालन भइरहेका छन् । “यसको प्रचारप्रसार र संरक्षण गर्नु सबैको साझा दायित्व छ’, उनले जोड दिए ।
 
विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थलमात्र होइन, पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए । यही क्षेत्रमा पाण्डवले अज्ञातवास बिताएको मान्यता पनि रहँदै आएको छ ।

पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरका कारण धार्मिक महत्व पनि उत्तिकै बलियो छ । प्रत्येक वर्ष बालाचतुर्दशीमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

विसं २०५१ देखि विराट सरोवर विकास समितिले संरक्षणको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउँछन्।

उनका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र प्रवर्द्धनका लागि समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ ।
 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : २५ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र