उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू) « Khabarhub

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल न्यूनतम सेवा प्रवाह मापदण्डका आधारमा देशका १४ संघीय अस्पतालमध्ये उत्कृष्ट ठहरिएको छ। तर, दैनिक हजारौँ बिरामी पुग्ने अस्पतालको मुख्य प्रवेशमार्गकै सडकको अवस्था भने दयनीय छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गत असारमा सार्वजनिक गरेको मूल्याङ्कनमा भरतपुर अस्पतालले ८९ अङ्क प्राप्त गर्दै संघीय अस्पतालतर्फ पहिलो स्थान हासिल गरेको थियो। दैनिक करिब तीन हजार बिरामी आउने अस्पतालअघिको सडक भने लामो समयदेखि खाल्डाखुल्डी र उबडखाबड अवस्थामा छ।

खैरहनी नगरपालिका–५ बाट बिरामी लिएर आएकी गीता चौधरीले एम्बुलेन्स तथा अन्य सवारीसाधनमा बिरामी ल्याउँदा सडकको खराब अवस्थाले निकै सास्ती हुने बताइन्। विशेषगरी शल्यक्रिया गरेका बिरामीलाई सडकका कारण थप कष्ट हुने उनको भनाइ छ।

अटो चालक मनबहादुर बस्नेतका अनुसार सडकको अवस्था अत्यन्तै खराब भएकाले बिरामीहरू सवारीसाधनमै दुखाइका कारण कराउने गर्छन्। सडकका खाल्डाखुल्डीका कारण सवारी नियन्त्रण गर्न चालकलाई समेत कठिन हुने उनले बताए।

लोकसेवा तयारी गरिरहेका विद्यार्थी धीरजकुमार पटेलले सडक समतल नहुँदा साइकल चलाउँदा शरीर नै थर्किने र साइकलको टायर तथा रिङमा समेत क्षति पुग्ने गरेको गुनासो गरे।

स्थानीयवासीले लामो समयदेखि सडक भत्काएर अलपत्र छाडिएको भन्दै निर्माणमा ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार सडकमा कहिलेकाहीँ मात्र कामदार देखिने गरेका छन् भने निर्माणले अपेक्षित गति लिन सकेको छैन।

तर, भरतपुर महानगरपालिकाका सिभिल इन्जिनियर रबिन धितालले केही प्राविधिक जटिलताका कारण निर्माणमा ढिलाइ भएको बताए। नाली निर्माणको काम जमिनमुनि गर्नुपर्ने भएकाले प्राविधिक रूपमा जटिल भएको र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण समेत केही समय काम प्रभावित भएको उनको भनाइ छ।

इन्जिनियर धितालका अनुसार नाली निर्माणको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। अब फुटपाथ निर्माणलाई तीव्रता दिइने र आगामी दुई महिनाभित्र फुटपाथको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। असोजसम्ममा सडक कालोपत्रे गरिसक्ने योजना रहेको उनले जानकारी दिए।

करिब रु दुई करोड लागतमा सप्तगण्डकी कँडेल कन्स्ट्रक्सन कम्पनीले सडक निर्माणको काम गरिरहेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, विद्यालय तथा विभिन्न सरकारी कार्यालयमा आवतजावत गर्ने मुख्य सडकको दुरवस्थाका कारण दैनिक हजारौँ मानिस प्रभावित हुँदै आएका छन्। अस्पतालको प्रवेशद्वारमै रहेको यो सडकखण्डले बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा स्थानीयवासीलाई दैनिक सास्ती दिइरहेको छ।

सडकमा धुलो उड्दा पैदलयात्री मुख छोपेर हिँड्न बाध्य छन्। पर्याप्त ढल निकासको व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने गरेको छ। पानी जम्दा पैदलयात्रीलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने गरेको स्थानीयवासीको गुनासो छ।

देशकै उत्कृष्ट संघीय अस्पतालको सेवा र सुविधाको चर्चा भइरहँदा अस्पतालसम्म पुग्ने सडकको दुरवस्थाले भने पूर्वाधार व्यवस्थापनप्रतिको प्रश्न उठाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ९ : ३४ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५