ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ? « Khabarhub

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

धमाधम गुम्बामा लगानी गर्दै अमेरिका


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङस्थित ‘खम्पा गुम्बा’ दर्शन गर्न गएको दाबी गरेका छन् ।

तर उनले भनेजस्तो मुस्ताङमा कुनै पनि खम्पा नामका गुम्बा छैनन्। तर मुस्ताङको खाम्पा विद्रोहसँग जोडिएका केही गुम्बाहरू पनि अझै पनि त्यहाँ रहेका छन्।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक छल्दै प्रधानमन्त्री शाह स्थलमार्गबाट पोखरातिर गएका छन् । प्रधानमन्त्री मुस्ताङ जाँदा सुरक्षाकर्मीको लावालस्कर नदेखिएको विषयमा सामाजिक सञ्जालमा चर्चा भएपछि शाहीले आफ्नो फेसबुकमार्फत उनी निजी भ्रमणका क्रममा खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका हुन्।

शाहीले प्रधानमन्त्रीको निजी भ्रमणमा ठूलो संख्यामा सुरक्षाकर्मी आवश्यक नपर्ने भन्दै व्यक्तिगत समयलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।

तर, मुस्ताङमा ‘खम्पा गुम्बा’ नामको कुनै प्रमुख ऐतिहासिक गुम्बा भने भेटिँदैन। ‘खाम्पा’ शब्द भने सन् १९६० देखि १९७४ सम्म तिब्बती खाम्पा लडाकुहरूले चीनविरुद्ध सञ्चालन गरेको सशस्त्र विद्रोहसँग जोडिन्छ।

उक्त क्रममा खाम्पा लडाकुहरूले नेपालको माथिल्लो मुस्ताङ र मनाङका दुर्गम क्षेत्र तथा गुम्बाहरूलाई आश्रय र रणनीतिक आधारका रूपमा प्रयोग गरेका थिए।

त्यसैले शाहीले खाम्पा लडाकुहरूले प्रयोग गरेका कुनै गुम्बालाई ‘खम्पा गुम्बा’ भनेका हुन सक्ने देखिन्छ। यद्यपि, उनले कुन गुम्बालाई लक्षित गरेर यस्तो दाबी गरेका हुन् भन्ने स्पष्ट छैन।

खम्पा गुम्बा छ त ?

माथिल्लो मुस्ताङ बौद्ध धर्म, तिब्बती कला र संस्कृतिका दृष्टिले महत्वपूर्ण क्षेत्र हो। यहाँ दर्जनौँ प्राचीन गुम्बा र गुफा गुम्बाहरू छन्।.

यद्यपि ज्ञानेन्द्रले दाबी गरेजस्तो मुस्ताङमा ‘खाम्पा गुम्बा’ नामको कुनै गुम्बा छैन । तर खम्पा शब्दले सन् १९६० देखि १९७४ सम्म चीनविरुद्ध चलेको खाम्पा विद्रोहलाई बुझाउँछ ।

त्यसक्रममा तिब्बती प्रतिरोधी लडाकुहरूले नेपालको माथिल्लो मुस्ताङ र मनाङका दुर्गम र प्राचीन गुम्बाहरूलाई रणनीतिक आधारका रूपमा प्रयोग गरेका थिए । खम्पाहरूले प्रयोग गरेकै कारण शाहीले खम्पा गुम्बा भनेको हुन सक्छ ।

तर माथिल्लो मुस्ताङका तिब्बती सांस्कृतिक विरासतसँग गहिरो सम्बन्ध रहेका प्रसिद्ध ऐतिहासिक गुम्बाहरू दर्जनको संख्यामा छन् ।

१. घर गुम्बा (लो घ्याकार गुम्बा)

यसलाई मुस्ताङको सबैभन्दा पुरानो गुम्बा तथा समग्र हिमालय क्षेत्रकै प्राचीन गुम्बामध्ये एक मानिन्छ। गुरू रिन्पोछे (पद्मसम्भव) ले आठौँ शताब्दीमा निर्माण गरेको मानिने यो गुम्बा तिब्बतको प्रसिद्ध साम्ये गुम्बाभन्दा पनि पुरानो रहेको बताइन्छ।

मुस्ताङको मराङ गाउँनजिक समुद्री सतहबाट करिब ३ हजार ९२० मिटर (१२ हजार ८६० फिट) उचाइमा अवस्थित छ। हो, यसैमा अमेरिकाले लगानी गरेर पुनर्निर्माण पनि गरिएको छ। चीनको सीमाक्षेत्रको गुम्बामा पुगेर अमेरिकाले गरेको लगानीले भूराजनीतिक तनाव ल्याउने चिन्ता पनि गरिएको छ।

अर्कातिर सरकारले यही चुच्ने नक्सा हटाएर अमेरिकी लगानीको यही गुम्बाको तस्बिर १ रुपैयाँको सिक्कामा राख्न खोजेपछि नयाँ विवाद जन्माएको छ।

यो गुम्बामा प्राचीन भित्तेचित्र, जटिल ढुंगे कुँदाइ तथा गुरु रिन्पोछेको विशाल मूर्ति रहेका छन्। स्थानीय किम्वदन्तीअनुसार उपत्यकामा शान्ति कायम गर्न मारिएको राक्षसको मुटुमाथि यो गुम्बा निर्माण गरिएको हो।

२. लुरी गुम्बा : यो गुम्बा यारा गाउँनजिकै एउटा अक्बरे भीरको गुफाभित्र अवस्थित छ। १३ औँदेखि १४ औँ शताब्दीतिर निर्माण भएको यस गुम्बाभित्र प्राचीन भित्तेचित्र र प्राकृतिक छोर्तेनहरू रहेका छन्।

३. लोमान्थाङ (ऐतिहासिक पर्खालभित्रको) जाम्पा ल्हाखाङ : १५ औँ शताब्दीमा बनेको यो तीन तले गुम्बा मैत्रेय बुद्ध (भविष्यका बुद्ध) को विशाल माटोको मूर्तिका लागि प्रसिद्ध छ। यसका भित्ताहरूमा सुनचाँदी र बहुमूल्य पत्थर प्रयोग गरिएका १०८ वटा प्राचीन मण्डलाहरू कोरिएका छन्।

माथिल्लो मुस्ताङको पर्खालले घेरिएको ऐतिहासिक राजधानी लोमान्थाङमा निर्माण भएका तीन विशाल मध्यकालीन गुम्बाहरू छन्।

४. थुबचेन गुम्बा : यो पनि १५ औँ शताब्दीको उत्तरार्द्धमा बनेको किल्ला शैलीको भव्य गुम्बा हो। यसको मुख्य हलमा प्राचीन भित्तेचित्र र आकर्षक काष्ठकला देख्न सकिन्छ।

५. चोडे गुम्बा : लोमान्थाङको धार्मिक गतिविधिको मुख्य केन्द्र र शाक्य सम्प्रदायको यो गुम्बा तिजी पर्व मनाउने मुख्य स्थल हो। यहाँ भिक्षुहरूलाई बौद्ध दर्शन र परम्परागत अनुष्ठानको शिक्षा दिइन्छ।

६. चराङ गुम्बा : १३ औँ शताब्दीमा चराङ गाउँको थुम्कोमा बनेको यो गुम्बा ‘रातो गुम्बा’ का नामले पनि चिनिन्छ। यहाँ बौद्ध ग्रन्थहरूको ठूलो संकलन छ।

७. नमग्याल गुम्बा : लोमान्थाङ नजिकैको पहाडमा अवस्थित यो गुम्बा यस क्षेत्रको महत्वपूर्ण धार्मिक र स्थानीय अदालत (न्याय सम्पादन गर्ने) ऐतिहासिक केन्द्रका रूपमा परिचित छ।

८. काग छोडे थुप्टेन साम्पेल लिङ गुम्बा : उपल्लो मुस्ताङको प्रवेशद्वार कागबेनीमा अवस्थित यो गुम्बा १५ औँ शताब्दीमा शाक्यपा सम्प्रदायका विद्वानहरूले स्थापना गरेका थिए।

९. चुङ्सी गुफा गुम्बा : स्याङ्बोचे र समर गाउँको बीचमा अवस्थित यो एक प्राकृतिक गुफा गुम्बा हो, जहाँ गुरु पद्मसम्भवले ८ औँ शताब्दीमा तपस्या गरेको विश्वास गरिन्छ।

१०. न्याफु गुम्बा : छोसेर क्षेत्रको रातो भिरको चेपमा खोपेर बनाइएको यो अनौठो गुफा गुम्बा हो ।

बौद्ध धर्मसँग जोडिएका यी गुम्बाहरू केवल धार्मिक स्थल मात्र नभई प्राचीन हिमाली कला, लिपि, र संस्कृतिको जीवित संग्रहालय हुन्। तर खम्पा विद्रोहका बेला प्रयोग भएकाले यीमध्ये केही गुम्बाहरू अहिले पनि भूराजनीतिक मुद्दामा जोडिने गरेका छन् ।

लो घ्याकरमा अमेरिकी लगानी

मुस्ताङका प्राचीन गुम्बामध्ये लो घ्याकर गुम्बामा अमेरिकी चासो र सहयोगसमेत रहेको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनर्निर्माण तथा संरक्षणका लागि अमेरिकी दूतावासमार्फत करिब २ लाख ८५ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराइएको थियो।

यो सहयोग अमेरिकी दूतावासको एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रमअन्तर्गत प्रदान गरिएको थियो। परियोजना सन् २०२१ मा सुरू भएर २०२३ मा सम्पन्न भएको थियो । त्यसपछि पनि थप संरचनात्मक संरक्षणको काम गरिएको अमेरिकी पक्षले जनाएको छ।

लो घ्याकर गुम्बा तिब्बती शरणार्थी र खाम्पा विद्रोहको इतिहाससँग समेत जोडिन्छ। सन् १९५९ मा दलाई लामा तिब्बतबाट भारत गएपछि नेपाल प्रवेश गरेका प्रारम्भिक तिब्बती शरणार्थीमध्ये केही यही क्षेत्रमा बसेको इतिहास छ। त्यसपछि मुस्ताङ क्षेत्रमा खाम्पा लडाकुहरूको गतिविधि भएको थियो।

गुम्बामा अमेरिकी अधिकारी

वालेन्द्र शुक्रबार मुस्ताङतिर लाग्दै गर्दा दुई दिनअघि नै मुस्ताङको उक्त गुम्बामा काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरू पुगिसकेका छन्। दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे हार्कर बुधबार मुस्ताङको लो घ्याकर (घार गुम्बा) पुगेका छन् । उनी लोमान्थाङस्थित चोडे गुम्बामा अमेरिकी दूतावासको अनुदानमा स्थापित ‘मोनचोइ एन्टिक म्युजियम’ उद्घाटन गरेर लो घ्याकर (घार गुम्बा) पुगेका हुन् ।

हार्कर अमेरिकी सहयोगमा संरक्षण तथा पुनःस्थापना भइरहेका मुस्ताङका अन्य गुम्बामा पनि पुगेका थिए । अमेरिकी दूतावासले हार्करसहित सातजनाको टोलीले लो घ्याकर,जोङ गुम्बा र गोन्पा गाङ पुगेर गुम्बाका अगुवासँग भेट गरेकफो जनाएको छ । उक्त कार्यक्रमपछि अमेरिकी अधिकारीहरू बुधबार नै जोमसोम फर्किए ।

अमेरिकाले दूतावासको एम्बेसडर फण्ड अन्तर्गत मुस्ताङका गुम्बा पुनर्निर्माणमा लगानी गरिरहेको छ। तर चीनसँग जोडिएको उक्त संवेदनशील क्षेत्रमा भइरहेको अमेरिकी लगानीलाई भूराजनीतिक स्वार्थसँग जोडेर टिप्पणी गर्नेहरू पनि छन् ।

अमेरिकाले लगानी गरेको हरेक परियोजनामा २५ हजारदेखि २ लाख ५० हजार अमेरिकी डलर खर्चिन गरिएको छ। उक्त फण्डअन्तर्गत लो घ्याकरमा साढे २ लाख डलर लगानी भएको छ। मुस्ताङका लो घ्याकर, जोङ, गोन्पा गाङ, छोड्डे, माथिल्लो मुस्ताङका विभिन्न बौद्ध चोर्टेन र लोमान्थाङका ऐतिहासिक गुम्बा र थलोमा अमेरिकाले लगानी गरिसकेको छ।

लो घ्याकर गुम्बाको चित्र सरकारले गत साउनमा १ रुपैयाँको सिक्कामा राख्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको सिफारिसमा सरकारले उक्त निर्णय गरेपछि चर्को विरोध भयो । त्यसपछि सरकार उक्त गुम्बाको चित्र राख्ने निर्णयबाट पछि हटेर इन्द्रचोकको आकाश भैरवको चित्र राख्ने निर्णयमा पुग्यो । अमेरिकी अधिकारी हार्कर गत वर्ष पनि लो घ्याकर तयार भएपछि पुगेका थिए । त्यसपछि तत्कालीन अमेरिकी राजदूत डीन आर थम्पसन श्रीमतीसहित लो घ्याकरमा पुगेका थिए ।

लो घ्याकरको आकृति राख्ने निर्णय विवादमा

लो घ्याकर गुम्बा पछिल्लो समय नेपालको सिक्का डिजाइनसँग जोडिएर पनि विवादमा आएको थियो।

वालेन्द्र शाह नेतृत्वको सरकारले १ रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाएर मुस्ताङस्थित लो घ्याकर गुम्बाको आकृति राख्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको थियो।

राष्ट्र बैंकले १ रुपैयाँको सिक्कामा रहेको नेपालको नक्साको स्थानमा लो घ्याकर गुम्बाको तस्वीर राख्ने गरी डिजाइन तयार पारेको थियो। सिक्काको आकार सानो भएकाले नेपालको नक्सा स्पष्ट रूपमा राख्न कठिन हुने तर्क गरिएको थियो। उक्त गुम्बाको आकृति राख्ने निर्णय भएपछि राष्ट्र बैंकको टोली नै लो घ्याकरमा पुगेको थियो ।

तर उक्त निर्णय विवादमा परेपछि मन्त्रिपरिषद्ले यसअघि नै डिजाइन फिर्ता गरिसकेको थियो। राष्ट्र बैंकका अधिकारीका अनुसार नेपालको नक्सासमेत समावेश हुने गरी नयाँ डिजाइन तयार पार्न भन्दै प्रस्ताव फिर्ता पठाइएको थियो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार नोट वा सिक्काको डिजाइन स्वीकृत गर्ने तथा परिवर्तन गर्ने अधिकार मन्त्रिपरिषद्सँग छ। राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले तयार पारेको प्रस्ताव सञ्चालक समितिबाट स्वीकृत भएपछि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो।

यसरी, प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लिएर उठेको ‘खम्पा गुम्बा’को प्रसंगले एकातर्फ मुस्ताङका प्राचीन बौद्ध सम्पदाको चर्चा बढाएको छ । अर्कोतर्फ तिब्बती शरणार्थी, खाम्पा विद्रोह र लो घ्याकर गुम्बासँग जोडिएको नेपालको संवेदनशील इतिहाससमेत सतहमा ल्याएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १ : ५८ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश