अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू « Khabarhub

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका लागि सामान ल्याउँदा दुःख नदिने बताएका छन् । तर संगठित तस्करीविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने उनले बताएका छन्।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी मुख्यालय वनस्थलीमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसँगै सर्वसाधारणको सहज आवागमन र दैनिक आवश्यकतालाई ध्यान दिन सरकार प्रतिबद्ध रहेको बताए।

उनले विदेशबाट १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु ल्याउँदा कर लाग्ने व्यवस्था लामो समयदेखि रहेको भन्दै यो व्यवस्था रास्वपा सरकारमा आएपछि वा वालेन्द्र शाह प्रधानमन्त्री भएपछि लागू गरिएको नभएको स्पष्ट पारे।

‘एक सय रुपैयाँले के नै आउँछ? एक किलो चिनी, एउटा साबुन, एउटा मञ्जन वा कापी–कलम पारीबाट ल्याउँदा कर असुल्नु अस्वाभाविक हो,’ उनले भने, ‘त्यसैले हामी सरकारमा आएपछि त्यसलाई बढाएर पाँच सय रुपैयाँ पुर्‍याएका हौँ।’

सीमाबाट ल्याउन पाउने सामानको सीमा अझ बढाउने विषयमा समेत छलफल भएको उनले बताए। एक हजार, दुई हजार वा २५ सय रुपैयाँसम्मको सीमा पुर्‍याउनेबारे छलफल भए पनि यस विषयमा सरकारलाई दुईवटा नीतिगत पक्षबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था रहेको उनले बताए।

सीमाबाट सामान ल्याउन केही कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान भएका उनले बताएका छन्। ‘पारीबाट सामान ल्याउन थोरै कडाइ गर्दा नेपालतर्फका बजारहरू पछिल्लो समय गुल्जार भएका छन्। व्यापार फर्कियो, व्यापार तंग्रियो भनेर नेपालतर्फका व्यापारीहरू खुसी छन्,’ उनले भने।

तर, घरायसी प्रयोजनका लागि सीमापारि गएर सामान खरिद गर्ने सर्वसाधारण र संगठित तस्करीमा संलग्न व्यक्तिलाई एउटै नजरले हेर्न नहुने उनको भनाइ छ।

‘सिधासाधा मधेशका दिदीबहिनी तथा दाजुभाइ पारी गएर घरायसी प्रयोगका लागि सामान किन्नुहुन्छ। उहाँहरूलाई कुनै हालतमा दुःख दिनु हुँदैन,’ उनले भने, ‘तर अर्कोतर्फ संगठित तस्करीको ठूलो जालो पनि छ। त्यही जालोबाट राजस्व चुहावट हुन्छ, गुण्डागर्दी पनि त्यहीँबाट हुन्छ।’

सरकारले राजस्व चुहावट र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने भन्दै उनले सुशासनका लागि तस्करीविरुद्ध कडाइ आवश्यक रहेको बताए।

सीमामा खटिएका सशस्त्र प्रहरीलाई सर्वसाधारणप्रति उदार बन्न निर्देशन दिइएको पनि वाग्लेले जानकारी दिए। ‘सीमाको रक्षा गरेर बसेका सिधासाधा मधेशका दिदीबहिनी तथा दाजुभाइलाई राहत दिऔँ भनेर हामीले सशस्त्र प्रहरीलाई भनेका छौँ। परेको अवस्थामा आँखा चिम्लिदिनूस् पनि भनेका छौँ,’ उनले भने।

प्रहरीले सर्वसाधारण र तस्करीमा संलग्न व्यक्तिबीच फरक छुट्याउन सक्ने भन्दै उनले विगतमा पार्टी सभापति तथा गृहमन्त्रीले समेत यही विषयमा स्पष्ट धारणा राखेको बताए।

‘को सिधासाधा जनता हो र को तस्करीमा संलग्न छ भन्ने कुरा प्रहरीलाई राम्रोसँग थाहा छ र प्रहरीले यो छुट्याउन सक्छ। त्यतातिर मात्र प्रहार गर्ने हाम्रो रणनीति छ,’ उनले भने।

सर्वसाधारणलाई सानातिना विषयमा दुःख नदिने सरकारको नीति भए पनि संगठित तस्करीविरुद्ध भने कडाइ गरिने उनले स्पष्ट पारे।

‘आम मधेशी दाजुभाइ तथा दिदीबहिनीलाई दुःख नदिने र सानातिना कुरामा आँखा चिम्लिने विषयमा हामी उदार छौँ। तर तस्करहरूविरुद्ध भने हामी निर्मम नै हुनेछौँ,’ वाग्लेले भने।

उनले सीमा क्षेत्रका समस्या समाधानका लागि नागरिकस्तरबाट पनि सुझाव आवश्यक रहेको बताए। मधेशमा देखिएका समस्या र भन्सार प्रशासनलाई कसरी जनमैत्री बनाउन सकिन्छ भन्नेबारे नागरिकका सुझाव लिन सरकार तयार रहेको उनको भनाइ छ।

‘मधेशमा परेका समस्याहरूबारे हामीलाई बताउनुहोस्, हामी समस्या सुन्न र समाधान गर्न तयार छौँ। अर्थमन्त्रीले भन्सार प्रशासन र गृहमन्त्रीज्यूले प्रहरी प्रशासनलाई जनमैत्री बनाउने विषयमा हामी जनताका राय र सुझाव सुन्न तयार छौँ,’ उनले भने।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ५३ बजे

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म