घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन् ।
बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व भएको उल्लेख गरेका हुन्। उनले यस पर्वले परिवार तथा आफन्तबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक एकता, मेलमिलाप र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गरेका छन्।
विविध जातजाति, भाषा, धर्म र संस्कृतिले समृद्ध नेपाली समाजमा दसैँले विविधताबीचको एकतालाई थप सुदृढ बनाउने उनको भनाइ छ । चाडपर्वले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्रिय पहिचानलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए ।
मुख्यमन्त्री आचार्यले विजयादशमीले समाजमा व्याप्त विभेद, वैमनस्य र असहिष्णुता अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने शक्ति प्रदान गरून् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै विकास निर्माणमा विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।
सुशासन, गुणस्तरीय सेवाप्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्दै समृद्ध लुम्बिनी निर्माण गर्ने अभियानमा विजयादशमीले सबैलाई एकताबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि मुख्यमन्त्री आचार्यले गरे।














प्रतिक्रिया