काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा नाका अर्को आदेश नभएसम्म बन्द गर्न निर्देशन दिएका छन् ।
अल जजिरा समाचार सञ्जालले इराकी सरकारका एक अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
ती अधिकारीका अनुसार आगामी दिनमा इराक र इरानबीच सञ्चालनमा रहेका अन्य सीमा नाकासमेत चरणबद्ध रूपमा बन्द गर्न सकिने सम्भावना छ । यद्यपि, इराकी सरकारले नाका बन्द गर्नुको आधिकारिक कारण भने सार्वजनिक गरेको छैन ।
यसअघि मङ्गलबार समाचार वेबसाइट शफक न्युजले इराकी सरकारी अधिकारीलाई उद्धृत गर्दै शालमचेह सीमा नाका प्राविधिक कारणले बन्द गरिएको जनाएको थियो ।
यसैबीच, इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इराकी सरकारले सीमा क्षेत्रमा रोकिएका प्याज, गोलभेँडा र आलु बोकेका सबै ट्रकलाई आफ्नो देशमा प्रवेश गर्न औपचारिक अनुमति दिएको छ । सीमा क्षेत्रमा रोकिएका ती ट्रक केही दिनदेखि प्रवेश अनुमति पर्खिरहेका थिए ।
नाका बन्द गर्ने निर्णय र कृषि उपज बोकेका ट्रकलाई प्रवेश अनुमति दिने निर्णयबीचको सम्बन्धबारे दुवै देशका अधिकारीहरूले थप विवरण सार्वजनिक गरेका छैनन् ।














प्रतिक्रिया