बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैँको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो ।
विगतका बर्षमा दसैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो । तर, यस बर्ष दसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैँको खुसी पनि खोसियो । गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैँ विगतका वर्षजस्तो रहेन ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ । दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो । “दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गर्थ्यौँ । यस बर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन् ।
डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उहाँको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ । राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ ।
भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको हो । हरेक वर्ष दसैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उनी यस बर्ष श्रीमानको अनुपस्थितिमा निकै निराशामा दसैँ बित्ने भएको छ । “दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?” उनले भनिन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए । उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् ।
गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैँको खुसी छाउन सकेन । “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने ।
भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो । अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् ।
दसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो । उनीहरुका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दसैँ टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ ।














प्रतिक्रिया