विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् ।
स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन् । यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका थिए । गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उनको भनाइ छ ।
५४ वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो । पहिलेपहिले एकै दिनमा आठ–दशवटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उनी भन्छन्– ‘बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।’
इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउँछन् । बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौवर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उनले बताए ।
जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।
विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् । बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उनले बताए ।
उनका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।
महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताए । शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उनको छ ।
उनका अनुसार एउटा सिरक बनाउन चार–पाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य एक हजारदेखि आठ हजार रुपैयाँसम्म पर्छ भने डस्नाको मूल्य छ सयदेखि चारपाँच हजारसम्म पर्छ ।













प्रतिक्रिया