डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ? « Khabarhub

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजालमाथि गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ऋषि राज भण्डारी र दीपक खनालको संयुक्त इजलासले निवेदक डा. रिजालले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । निवेदनमा जिल्ला अदालतबाट भएको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयावधि बाँकी रहँदै नेपाल मेडिकल काउन्सिलले आचारसंहिता उल्लंघनको आरोपमा दुई महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले डा. रिजाललाई दोषी ठहर गरेपछि गत पुस २४ गते बसेको मेडिकल काउन्सिलको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । 

अदालतले सोही मुद्दा हाल पुनरावेदनको क्रममा विचाराधीन अवस्थामा रहेकाले काउन्सिलको निर्णय तत्काल कार्यान्वयन गर्दा निवेदकलाई अपूरणीय क्षति पुग्न सक्ने ठहर गरेको छ । त्यस आधारमा मुलुकी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम विपक्षीका नाममा अन्तरकालीन आदेश जारी गरिएको हो ।

अदालतको आदेश अनुसार अब उक्त निलम्बनसम्बन्धी निर्णय हाललाई कार्यान्वयन नगर्नु र नगराउनु भनी स्पष्ट निर्देश दिइएको छ । यस मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरकालीन आदेश कायम रहनेछ आदेशमा भनिएको छ । 

के हो डा. रिजालमाथीको मुद्दा ?

डा. रिजालविरुद्धको मुद्दा बलात्कारको घटनासँग जोडिएको छ । अदालतका अनुसार अंश मुद्दाको सिलसिलामा भएको चिनजानलाई दुरुपयोग गर्दै दिवाकर रिजालले पीडित महिलामाथि जबर्जस्ती करणी गरेका थिए । दिवाकर डा. यशोदा रिजालका पिता हुन् ।

घटनापछि दिवाकरले आफू सोही दिन नुवाकोटको खरानीटारस्थित अस्पतालमा उपचाररत रहेको दाबी गर्दै अदालतमा कागजात पेश गरेका थिए । तर, अनुसन्धानका क्रममा ती कागजात झुटा रहेको पुष्टि भयो । उच्च रक्तचापको बहानामा एक रात अस्पताल भर्ना गरिएको विवरण डा. यशोदा रिजालले नै तयार पारेको प्रमाणित भएको अदालतको ठहर छ । त्यतिबेला डा. रिजाल सोही अस्पतालमा प्रमुख जिम्मेवारीमा कार्यरत थिइन् ।

अदालतले दिवाकर रिजाललाई सात वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ । पीडित पक्षले ३० असोज २०७९ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले छानबिन गरी आवश्यक कारबाही गर्न नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो । 

मन्त्रालयको पत्रमा एकै दिन एउटै व्यक्ति अदालत र अस्पताल दुवै ठाउँमा उपस्थित देखिनु, बिना बिल र डाक्टरको नाम नखुलाइ कागजात बनाइनु गम्भीर व्यावसायिक आचरण उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

उक्त मुद्दा अदालतमा विचाराधीन रहँदै डा. रिजालले नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिई अमेरिका पुगेकी छिन् । दोषी ठहर हुने निश्चित भएपछि नै उनले देश छाडेको आरोप पीडित पक्षको छ । 

अदालतको फैसला प्राप्त गरेपछि पीडित महिलाले २०८२ साउन ६ गते डा. रिजालको चिकित्सक लाइसेन्स खारेजको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा निवेदन दर्ता गराएकी थिईन् । 

जिल्ला अदालतको फैसला र पिडित तथा सरोकारवाला पक्षहरुको चौतर्फी दवावपछि मेडिकल काउन्सिलले २ महिनाका लागि उनलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : ४४ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल