काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन दर्ता भएसँगै उजुरी पर्न थालेको छ।
ठूला दलका शीर्ष नेताहरूसहितका उम्मेदवारहरूविरूद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमै उजुरी दर्ता हुन थालेको हो ।
ती उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधसहितका उजुरी दर्ता भएका निर्वाचन आयोगले जनाएको छ।
आयोगकाभ अनुसार नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीविरुद्ध उम्मेदवारी खारेज गर्न मागसहित उजुरी परेको हो ।
नेपाल गृहजिल्ला रौतहट क्षेत्र नम्बर१ बाट उम्मेदवार छन्। नेपालविरुद्ध काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।
सरकारवादी फौजदारीका रुपमा रहेको उक्त भ्रष्टाचार मुद्दाको अन्तिम छिनोफानो हुन बाँकी नै रहेको अवस्थामा नेपालले उम्मेदवारका रुपमा योग्य हुन नसक्ने जिकिरसहित उजुरी परेको हो ।
नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका चौधरी टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनीविरुद्ध पनि उजुरी दर्ता भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् ।
चौधरी कैलालीको टीकापुरमा नाबालक र ७ प्रहरीसहित आठजनाको ज्यान लिएको हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनको बाँकी सजाय राष्ट्रपतिले माफी मिनाहा गरेपछि रिहा भएका थिए । तर उनले पाएको सजायमा सफाइ भने पाएका छैनन् ।
उता सुनसरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालबिक्रम थापाविरुद्ध पनि उजुरी परेको छ। त्यस्तै भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेतविरूद्ध उठेका सामाजिक सञ्जालमा भाइरल भइरहने रास्वपाका उम्मेदवार राजीव खत्रीविरुद्ध पनि उजुरी परेको छ।
त्यसैगरी भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक शोभाविरुद्ध पनि उजुरी परेको छ। शोभाले त्यहाँ एमाले उम्मेदवार बस्नेतसँगको विवादबीच उम्मेदवारी दिएकी थिइन् ।
आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उजुरी दर्ता लागि तोकेको थियो । त्यस समयभित्र भक्तपुरमा २, रौतहट, सुनसरी र कैलालीबाट १–१ वटा उजुरी परेको आयोगले जनाएको छ। उजुरीहरूबारे बिहीबार छानबिनपछि आवश्यक निर्णय लिने तयारी आयोगले गरेको छ।













प्रतिक्रिया