केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ? « Khabarhub

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

प्रचण्ड ढुक्क, गगनलाई चुनौती, दबाबमा छैनन् रवि



काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको जेन-जी आन्दोलनपछि पुराना नेताहरूलाई राजनीतिबाट सम्मानपूर्वक बिदा हुन सन्देश दियो ।

उक्त सन्देशको बेवास्ता गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बलजफ्ती टिकिरहे ।

ओलीले एघारौँ महाधिवेशनबाट आफूलाई अनुमोदन गराए भने प्रचण्डले २० वटा दल गाभ्दै नेपाली कम्युनिस्ट पार्टी बनाएर शक्ति आर्जन गरे । उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि छोड्न दबाब थियो ।

तर उनले कार्यवाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएर दबाबलाई कम गरे। तर खड्कालाई आफ्नो कठ्पुतली बनाएर खेलाइरहेपछि महामन्त्री गगन थापासहितले विशेष महाधिवेशन गरेर देउवालाई जबरजस्ती बिदा गरिदिएका छन् ।

आन्तरिक र बाह्य दबाबबीच देउवालाई सभापतिसँगै संसदीय राजनीतिबाट पनि गगन थापा र विश्वप्रकाश शर्माले बिदा गरिदिए । अर्थात् डडेल्धुराको गन्याधुराबाट उदाएका देउवा ८० वर्ष लाग्दै गर्दा पार्टी र संसदीय राजनीतिबाट एकसाथ बिदा भएका छन् । यस पटक थापाले देउवालाई डडेल्धुराबाट उठ्न टिकट दिएनन् ।

उनीसँगै अघिल्ला चुनावहरूमा टिकट बाँड्ने हैसियत बनाएकी देउवा पत्नी आरजु राणा देउवालाई पनि कांग्रेसले समानुपातिक र प्रत्यक्ष दुवैतिरको ढोका बन्द गरिदियो । उनी विशेष महाधिवेशबाट कांग्रेसको केन्द्रको राजनीतिदेखि पनि पाखा लागेकी छन्।

तर देउवालाई कांग्रेसले बिदा गर्दै गर्दा एमाले अध्यक्ष ओली, नेकपा संयोजक प्रचण्ड र माधवकुमार नेपालहरू फेरि चुनावमा होमिएका छन् । झलनाथ खनाल र वामदेव गौतमहरूले विश्राम पाउँदा यी नेता भने फेरि संसद् यात्राको कोसिसमा छन् ।

उता जनमोर्चाका ८० नाघिसकेका नेता चित्रबहादुर केसी समानुपातिकबाट संसद् छिर्ने प्रयासमा छन् । उनी २०७९ मा प्रत्यक्षतर्फ बाग्लुङबाट विजयी भएका थिए ।

३० देखि ४० वर्षसम्म लगातार राजनीतिक शीर्ष पद ओगटिरहेका उनीहरूलाई जेन-जी आन्दोलनले बिदा हुन भने पनि निर्वाचनको दौडमा होमिएका छन् । यसरी निर्वाचनमा होमिएकालाई आखिर कतिको सहज छ त यस पटक ?

यो प्रश्नको जवाफ आगामी निर्वाचनको नतिजापछि मात्रै मिल्नेछ। तर २०७९ र २०७४ को निर्वाचनलाई हेर्दा शीर्ष नेताहरू प्रतिनिधिसभामा दोहोरिने सम्भावना उत्तिकै छ। जेन-जी आन्दोलनपछि युवा पुस्ताले नयाँ नेतृत्व हेर्न चाहेका थिए । त्यो सम्भव नभएपछि मतदाताले पुरानालाई फेरि अवसर दिन्छन् या नयाँका लागि बाटो खोलिदिन्छन् हेर्न बाँकी छ ।

ओली घेरे बालेनले

दुईतिहाइ बहुमतनजिकको कांग्रेस-एमाले गठबन्धनबाट २०८१ असार ३१ गते तेस्रो पटक प्रधानमन्त्री भएका ओलीलाई जेन-जी आन्दोलनले अचानक सत्ताच्युत गरेको थियो।

आन्दोलन हिंस्रक भएपछि ओली बालुवाटार हेलिकप्टर चढेर नेपाली सेनाको ब्यारेकमा बस्न बाध्य भए । जेन-जी आन्दोलनले राजनीतिबाटै विश्राम गर्ने सन्देश दिए पनि फेरि एमालेमा अनुमोदित भएर संसदीय चुनावी दौडमा छन् ।

उनलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ मै पुगेर चुनौती दिएका छन् । रास्वापले प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएपछि जोशिएका साह ओलीसँगै भिडन् पुगे । उनी तीन पटक प्रधानमन्त्री भएका ओलीलाई हराएर राजनीतिबाट बिदा दिने दाउमा छन् ।

काठमाडौंको मेयर पद बीचमै छाडेका उनले स्थानीय तह निर्वाचनमा गरेका चुनावी बाचा पनि अलपत्र पारेर संसदीय राजीनामा होमिए । झापा ५ मा बालेन्द्र र ओलीबीच कडा टक्कर हुने अस्था छ ।

बालेनको पक्षमा युवा पंक्ति देखिएको छ भने ओलीको पक्षमा परम्परागत मतदाता उभिएका छन् । बालेनले अहिले दमकमै डेरा जमाएका छन् । उता ओली पनि टोल टोलमा पुगिरहेका छन् ।

बालेनले बुधबार मात्रै करिब ४ सयको हाराहारी मतदातासँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। बालेन भोट माग्न कतै गएनन् । बरू आफू बसेको ठाउँमै लाइन लागेर मतदाता आए । उनले एमालेदेखि र कांग्रेसका कार्यकर्तासम्म भेटे ।

दमकका मेयर राम थापा लगायतले बालेनको साटो ओलीलाई सहयोग गर्ने अवस्था देखिएको छ । त्यसैले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य कार्यकर्तालई तान्न लागेका छन् । आक्रमक चुनाव प्रचारप्रसार गरिरहेका बालेनको सचिवालयका सदस्य भन्छन, ‘केपी ओलीलाई यहाँका मतदाताले यसपटक चुन्दैनन् । ठूलो मतान्तर नभए पनि बालेन यहाँबाट विजयी हुनुहुन्छ।’

उता एमाले झापा अध्यक्ष प्रेम गिरी राजनीतिक प्रतिशोधको लडाइँले झापा ५ मा काम नगर्ने बताउँछन् । कुनै हालतमा झापा ५ का मतदाता बालेनलाई नचुन्ने दाबी उनी गर्छन् । उनी आफ्नो पार्टीको पकड क्षेत्रमा बालेनले जित्ने सपना नदेख्न समेत आग्रह गर्छन्।

‘वर्षौँदेखि त्यहाँ विकास निर्माणका कामहरूमा अध्यक्ष ओलीले कायापलट गरेको यहाँले देख्नु भएकै छ। बाहिरको कोही आएर ओलीलाई हराउँछु, पाखा लगाउँछु भन्ने सपना नदेखे हुन्छ’, गिरीले खबरहबलाई भने, ‘कुनै पनि चिज मान्छेले आफूले सक्ने जति खानुपर्छ। बढी बल गरे आफैँ सकिन्छ ।’

रास्वपा झापाका सचिव शम्भु सुस्केरा पनि बालेन्द्र झापा ५ बाट सजिलै विजयी हुने दाबी गर्छन्। उनी ६० हजारमाथि मत ल्याएर विजयी हुने बताउँछन् ।

ओली २०७४ को निर्वाचनमा ५७ हजार १३९ मतसहित यहाँबाट विजयी भएका थिए। २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातान्त्र पार्टीसँग गठबन्धनबाट ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई पराजित गरे ।

ओली झापा ५ बाट २०४८ सालदेखि जितिरहेका का छन्। माओवादीको लहर भएको बेला २०६४ सालमा उनी अहिले कांग्रेसमा रहेका विश्वदीप लिङ्गदेनसँग पराजित भए ।

गगन थापालाई अमरेशको चुनौती

काठमाडौं क्षेत्र नम्बर ४ छोडेर नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्। उनले व्यस्तताका कारण वारिसेमार्फत् उम्मेदवारी दर्ता गराए।

उनका मुख्य प्रतिस्पर्धी यतिबेला पूर्वकांग्रेस नेता तथा २०७९ को निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित डा. अमरेशकुमार सिंह छन्।

सिंहले आफू सर्लाही क्षेत्र नम्बर ४ मा भिजेको भएकाले गगनलाई हराउन कुनै कसरत गर्न नपर्ने खबरहबलाई बताए ।

तर कांग्रेसको वैकल्पिक धार निर्माण गरेर विशेष महाधिवेशनबाट सभापतिमा बनेका गगनलाई पुराना कांग्रेसी र त्यहाँका अन्य दलले समेत मतदान गर्ने विश्वास छ।

सर्लाही ४ मा एमालेबाट रवि सिंह कुशवाहा र नेपाली कम्युनिष्ट पार्टीबाट डा. रगनिशराय यादव उम्मेदवार छन्। मधेशमा राम्रो पकड भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय उम्मेदवार छन्।

२०७९ को निर्वाचनमा सिंहले २० हजार१७ मत प्राप्त गरेर निर्वाचित भएका थिए । यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्रकुमार रायलाई सिंहले १७६४ मतान्तरले पराजित गरे।

केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका सिंहलाई यसपटक पनि निर्वाचित गराउने आँकलन थियो । तर थापाले उम्मेदवारी दिएपछि उनलाई समस्या हुन सक्ने देखिएको छ। तर सिंह यसलाई मान्न तयार छैनन् ।

भन्छन्, ‘पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरेको नेताले यहाँ कसरी जित्छ ? गगनले यहाँ के काम गरेका छन् र सर्लाही ४ का जनताले चुन्छन् ।’ अहिले झापापछि सर्लाही ४ लाई चासोका साथ हेरिएको छ।

प्रचण्डलाई सजिलो

झापातिर चुनावी तापमान बढिरहेका बेला नेकपा संयोजक प्रचण्ड भने गुमनाम जस्तै छन् । उनी रुकुम पूर्व पुगेर उम्मेदवारी दिएका छन् । गोरखा २ छाडेका उनी अहिले सुन्तला खाँदै, मयूर नाच नाच्दै बसेका छन् । अर्थात्, उनी २०७९ को गोरखा २ भन्दा रुकुम पूर्वमा ढुक्क छन्।

६ पटकसम्म निर्वाचन क्षेत्र फेरेका पूर्व प्रधानमन्त्री दाहालले ढुक्क हुनैका लागि माओवादीका आधार इलाका रुकुमपूर्वमा रोजेका हुन् । तीनपटक प्रधानमन्त्री भइसकेका उनलाई पनि जेन-जी आन्दोलनपछि राजनीतिबाट बिदा हुन दबाब थियो । तर उनी निर्वाचन क्षेत्र परिवर्तन गरेर प्रधानमन्त्रीको कुर्सी ताक्दैछन् ।

माओवाद र प्रचण्डपथ छाडेका उनलाई यसपटक चुनाव चिह्नपरिवर्तनले गर्दा केही समस्या हुन् सक्छ । मंलबार बिहानैदेखि मर्निङ वाक गरेर चुनावी अभियान थालेका उनीविरुद्ध एमालेले निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लीलामणि गौतमलाई उम्मेदवार बनाएको छ।

कांग्रेसबाट कुसुमदेवी थापा मगर र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनयुद्धका सहिद पुत्र सन्दीप पुनलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रसहित २० दल एकीकरण भएपछि विद्रोह गरेका जनार्दन शर्मानिकट नेता पुनले प्रचण्डलाई चुनौती दिन सक्छन् ।

२०७९ को निर्वाचनमा यहाँबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका थिए। घर्तीले १२ हजार २६२ मत प्राप्त गर्दा निकटम् प्रतिद्वन्दी कांग्रेसका कौशल कुमार मल्लले ५२ सय११ मत ल्याए ।

प्रचण्ड रोल्पा २, सिराहा ५, चितवन ३, गोरखा २ र काठमाडौं १० हुँदै यसपटक रुकुमपूर्व पुगे। उनलाई आफू सुरक्षित हुन निर्वाचन क्षेत्र बदलेको आरोप लगाइन्छ। उनी रुकुमले संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेका त्यसलाई हेडक्वार्टर बनाउन उम्मेदवारी दिएको बताउँछन्।

माधवको अवस्था

२०७९ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट विजयी नेकपा सह-संयोजक माधवकुमार नेपाल त्यहीँ पुगेका छन्। २०५६ सालपछिका निर्वाचनमा उनी निरन्तर उठिरहेका छन् ।

उनीसँगैका नेता झलनाथले यो पटक उम्मेदवारी दिएनन्। नेपाल २०७८ भदौमा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बने ।

गत कात्तिक १९ गते उनी र प्रचण्डसहित २० राजनीतिक दल मिलेर नेकपा बनाए । २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं २ र रौतहट ४ बाट हारेका नेपाललाई पनि जेन-जीले विश्राम लिन दबाब दिए । तर रौतहट स्थायी घर भएका नेपालले त्यसो गर्न चाहेनन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका उनी त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं २ र रौतहट १ बाट निर्वाचित भए।

यसपटक कांग्रेसले रौतहट १ बाट सद्भावना पार्टीका अनिल झालाई भित्र्याएर उम्मेदवार बनाएको छ। झाले सद्भावना छोडेर कांग्रेसको टिकट लिए ।

यस्तै रास्वपाले राजेश चौधरीलाई उम्मेदवार बनाएको छ। रौतहटबाट चुनाव जित्ने कुरामा दुईमत नभएको नेपाल दाबी गर्छन्। ‘चुनाव नजित्ने कुनै आधार छैन । हेर्दै जानुहोला, गत निर्वाचनको भन्दा राम्रो मतले जितिन्छ।’

तर उनलाई विशेष अदालतमा चलिरहेको पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दाले भने पिरोल्न सक्छ । उक्त प्रकरणलाई लिएर उनीविरुद्ध बुधबार निर्वाचन आयोगमा उजुरी परेको छ। यसअघि प्रारम्भिक आदेशमा उनी धरौटीमा छुटे तर उक्त मुद्दाको अन्तिम किनारा नलागेकाले नेपाललाई यसले पिरोल्न सक्छ।

रविलाई तेस्रो अवसर

सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतमा मंगलबार सुनुवाइ चलिरहँदा रवि तनावमा थिए । एकातिर चितवन २ मा उम्मेदवारी दर्ता गराउनुपर्ने तनाव अर्कातिर मुद्दाको प्रक्रिया । त्यहीकारण लामिछाने चितवन २ मा आफैँ उम्मेदवारी दिन पाएनन् ।

वारिसेमार्फत् उम्मेदवारी दर्ता गराएका उनले पर्सा जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर पनि अझै प्रतिशोधको रटान लगाइरहे । उनले सहकारी ठगीमै विभिन्न अदालतमा ८ करोढ बढी धरौटी राखिसकेका छन् । का

चितवनमा २ मा यस पटक कांग्रेस र एमालेले नयाँ उम्मेदवारहरूलाई अवसर दिएका छन्। कांग्रेसले महिला अधिकारकर्मी मीना खरेललाई उम्मेदवार बनाएको छ। एमालेले युवा नेता अश्विन घिमिरेलाई खडा गरेको छ।

एमालेले उम्मेदवार बनाएका घिमिरे जनवादी गायक हुन् । तर रास्वपाको आधार इलाका बनिसकेको चितवनमा रविलाई हराउन सजिलो छैन।

२०७९ को निर्वाचनमा चितवन २ बाट उनी ४९ हजार ३०० मतसहित विजयी भए। त्यसबेला कांग्रेसले उमेश श्रेष्ठलाई उठाएको थियो । उनले १४ हजार ९७८ मत ल्याएका । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए । सञ्चारकर्म छोडेर २०७९ असारमा रास्वपा खोलेका उनले मंसिरमा भएको चुनाव जितेर गृहमन्त्री पनि भए ।

तर दोहोरो नागरिकता विवादका कारण लामिछानेको २०७९ को माघमा सांसद पद खारेज भयो। त्यसबेला उनले मन्त्री र सांसदसहितका सबै पद गुमाए ।

२०८० वैशाखमा चितवन २ मा भएको उपनिर्वाचनमा अत्यधिक मतसहित उनी निर्वाचित भए। त्यसबेला उनले ५४ हजार १७६ मत ल्याएर विजयी हुँदा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मात्रै ल्याए ।

तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । त्यसबेला पनि लामिछानेलाई सांसद पद फावेको थिएन । उनी २०८१ पुस ७ गते सहकारी ठगी र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा निलम्बनमा परे ।

रास्वपा उपसभापति डीपी अर्याल चितवन २ बाट लामिछाने ६० हजार भन्दा बढी मत ल्याएर निर्वाचित हुने दाबी गर्छन् । चितवन २ बाट लोकप्रिय मत ल्याएर सभापति लामिछाने विजयी हुने उनी जिकिर गर्छन् ।

राजेन्द्रलाई एमाले र कांग्रेसको भरोसा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट उठ्ने भएका छन्। क्षेत्र नम्बर ३ मा जित्न गाह्रो नभएको उनी बताउँछन् । उनलाई कांग्रेसको असन्तुष्ट पक्ष र एमालेले सहयोग गर्ने देखिन्छ।

एमालेले झापा ३ मा हरिराज वंशीलाई उम्मेदवार बनाएको छ। कांग्रेसमा विवाद छ । अहिले कृष्णप्रसाद सिटौला उम्मेदवार छैनन् । यहाँ राजेन्द्र घिमिरेलाई कांग्रेसले उम्मेदवार बनाएको छ। कांग्रेस सभापति थापानिकट घिमिरे युवामाझ लोकप्रिय छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ झापा सभापति प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा उनी यही क्षेत्रबाट उम्मेदवार थिए। वैकल्पिक शक्तिको रास्वपाबाट झापा ५ बालेन्द्र साह उठेकाले अन्त पनि प्रभाव पर्न सक्छ । तर पनि यहाँ राजेन्द्रले हार्ने आकलन यहाँका स्थानीय गर्दैनन्।

२०७९ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा लिङ्गदेलले ४० हजार ६४८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार २७२ मत ल्याए।

२०७४ सालको निर्वाचनमा पनि एमालेको सहयोगमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए। त्यसबेला ४४ हजार ६१४ मत सहित लिङ्देन निर्वाचित भए ।

२०७० सालको संविधानसभा निर्वाचनमा सिटौलाले लिङ्देनलाई हराए । तर अहिले यहाँ लिङ्देनको पकड देखिन्छ। २०३६ सालबाट राजनीति थालेका लिङ्देन ०७८ मा को महाधिवेशनबाट राप्रपा अध्यक्ष भएका हुन्। पञ्चायतकालमै गोलधाप गाउँपालिका अध्यक्ष भएका लिङ्गदेन झापामा विकास प्रेमी र सरल नेता मानिन्छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ०८ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई