काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले यातना दिएपछि धनुषामा एक २५ वर्षीया युवतीले आफ्नै ज्यान लिएकी छिन् । चैत ३ गते मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का स्थायी मुकेश धनखोटी यादवकी श्रीमती हुन् ।
श्रीमान् मुकेश धनखोटी निजी स्कुलमा पढाउँछन् । मुकेश र विभाले ६ वर्षअघि भागी विवाह गरेका थिए । विवाहअघि प्रेम सम्बन्धमा रहेपनि सन्तान दिन नसकेको भन्दै विभामाथि घरेलु हिंसा हुँदै आइरहेको माइतीपक्षको आरोप छ । चरम यातना सहन नसकेको भन्दै माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।
मृतकका दाजु मनिष कुमारले खबरहबसँग कुरा गर्दै भने, ‘विवाह भएको लामो समय हुँदापनि सन्तान नभएको भन्दै बहिनीमाथि शारीरिक र मानसिक यातना हुँदै आएको थियो । शिक्षक भएपनि ज्वाईँले बहिनीमाथि यातना दिँदै आएका थिए । शिक्षकले आफ्नै श्रीमतीमाथि चरम यातना दिएको सुन्दा जोकोहीलाई पत्यार लाग्दैन ।’
‘तर, सत्य के हो भने आफैँ बिहे गरेर आएकाले बहिनीले माइतीलाई नभनी चुपचाप सहेर बसेकी थिइन् । घरबार बिग्रन्छ भन्ने डरले उसले सबै यातना सहेर बसेकी थिइन्, मनिष थप्छन्, ‘मेरो बहिनीले आफैँ पासो लगाएको होला । तर, उसलाई बाँच्नै नसक्ने स्थितिसम्म पुर्याउने अपराधी उसकै परिवार हो । उसकै श्रीमान् हो । उसलाई दुरुत्साहनमा कडा भन्दा कडा कारवाही हुनुपर्छ ।’
विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । दाजु मनिषले मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् । जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
घटना के भएको थियो ?
घटना हुनुभन्दा अगाडि राति २ बजे मनिषको फोनमा ज्वाईँले कल गरेका रहेछन् । तर मनिषले थाहा पाएनन् । तर, भोलिपल्ट नयाँ नम्बरबाट फेरि फोन आयो । चैत ३ गते नयाँ नम्बरबाट फेरि मनिषलाई फोन आउँछ । फोन गर्ने मान्छेले परिचय दिँदै भन्छन्, ‘म तिम्रो ज्वाईँको नाता पर्ने दाई हो । तिम्रो बहिनी र ज्वाईँबीच धेरै झगडा भइरहेको छ । बहिनीलाई सम्झाउ । नत्र पछि ठीक हुँदैन ।’ यस्तो धम्कीपूर्ण शैलीमा कुरा गरेर उक्त व्यक्तिले फोन राख्छ ।
त्यसपछि उनै व्यक्तिले मनिषलाई फेरि फोन गर्छन् । त्यस व्यक्तिले भोलि साढे ८ बजे ढल्केबरमा भेटेर कुरा गर्ने बताउँछन् । भोलिपल्टको भेटमा त्यस व्यक्तिले बहिनीलाई सम्झाउन भन्दै फेरि उस्तै धम्की दिन्छन् । यसपटक पनि उनले ‘तिम्रो बहिनीलाई जे पनि हुन सक्छ’ भन्छन् ।
मनिषलाई ती व्यक्तिले फेरि धम्की दिँदै ‘तपाईँको बहिनीको कारणले यदि मेरो भाइलाई केही भए तिमीहरुको पूरै परिवारलाई स्वाहा गर्दिन्छु भन्छ ।’ बहिनीका बारेमा बारम्बार यस्तो धम्की आएपछि विभाको माइतीपक्ष स्थानीय र आफन्तकहाँ सहयोग माग्न पुग्छन् । सबैको सल्लाहपछि माइति विभाको घर जाने निर्णयमा पुग्छन् । परिवारसँग झगडा गरेको रहेछ भने सम्झाइबुझाइ गर्ने सोचले माइती पक्ष विभाको घर पुगेको थियो । ‘ठूलै झगडा भएको रहेछ भने केही दिन माइती ल्याएर सम्झाउनुपर्ला भन्ने सोच थियो ।’ मनिषले भने ।
‘विभाको घर जाँदै गर्दा वीरेन्द्रबजार चोकमै ज्वाईँसँग भेट भयो ।’ मनिषले भने, ‘ज्वाईँसँगै एक जना अर्का साथी पनि थिए । बाटोमै भेट भएपछि सँगै घर जाने कुरा भयो ।’
भेट भएपछि ज्वाईँले भने, ‘बहिनीले केही पनि खाएको छैन ।’ त्यसपछि बहिनीलाई लगिदिने भनेर मनिषले मःमः प्याक गर्न लगाए ।
‘ज्वाईँले हामीलाई तपाईँहरु घर जानू हामी माथि गोठमा जान्छौँ भने । घरअगाडि गेटमा बाइकमा हामी रोकियौँ । ज्वाईँ र साथी अगाडि गोठतिर लागे ।’ मनिषले घटना सविस्तार सुनाए ।
‘हामी दिउँसो साढे ३ बजेको समयमा बहिनीको घर पुगेका थियौँ । घरमा बहिनीको जेठान, जेठानी, सासुहरु सबै हुनुहुन्थ्यो ।’
त्यसपछि मनिष आफ्नी बहिनीलाई नाम लिएरै चार पाँच पटक बोलाउँछन् । तर उताबाट जवाफ आउँदैन । विभा कतै भेटिन्नन् । उनको जेठाजुलाई सोधपुछ गर्दा उनले विभा माथि कोठामा रहेको जवाफ दिन्छन् । माथि गएर झ्यालबाट हेर्दा सुत्ने कोठाको सिलिङमा सलले घाँटीमा पासो लगाएको अवस्थामा मनिष आफ्नी बहिनीलाई भेट्छन् ।
‘हामीले झुन्डिएको अवस्थामा भेट्यौँ । त्यसपछि मेरो दिमागले काम गरेन । तुरुन्तै ज्वाईँलाई फोन गरेँ । उनी पनि हतारहतार आइपुगे । हामीले प्रहरीलाई पनि फोन गरेका थियौँ । तर ज्वाई र उसको परिवारले हतारमा ढोका खोलेर प्रहरीको अनुपस्थितमै पासो काटे । बहिनीको शरीर पूरै पहेंलो भइसकेको थियो । उसको शरीर फुलेको थियो ।’ मनिषले सुनाए ।
विभाको शरीरको विभिन्न अङ्गमा नीलडाम समेत देखिएको छ । त्यस कारण यो आत्महत्या नभएर हत्या हो भन्ने माइती पक्षको आरोप छ । विभाको घर पक्षले प्रहरी नै नआइ मोटरसाइकलमा राखेर विभालाई जनकपुरस्थित रामजानकी अस्पताल पुर्याउँछन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गर्छ ।
भागेर बिहे गरेपनि छोरी एकपटक गइसकेपछि फिर्ता ल्याउने चलन नहुने भन्दै माइती पक्षले कुनै हस्तक्षेप गरिएको थिएन ।
‘बिहे गरेर गएको केही समय सम्म बहिनी र ज्वाईँबीच राम्रै सम्बन्ध थियो । पछि विस्तारै खटपट हुँदै गएको थियो । तर, बहिनीले घरमा भएको यातनाको बारेमा कहिले पनि भनिनन् ।’ मनिषले भने ।
विभा चार सन्तानमध्ये कान्छी छोरी हुन् । उनले स्नातक तहसम्म पढेकी थिइन् । ज्वाईँ मिर्चैयास्थित सप्तऋषि निजी स्कुलमा पढाउँछन् ।
सन्तान नभएकै कारणले श्रीमान् र घरपरिवारले कुट्ने गरेको र चरम घरेलु हिंसाबाट गुज्रिनु परेको माइतीको आरोप छ । विभाको जायजन्म नहुँदा उनलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो । ‘सम्झाइबुझाइ गर्दै आएका थियौँ । तर, यातना सहन नसकी आत्महत्या गर्न बाध्य बनाइएकाले अपराधीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । मनिषले भने । उनको शव यतिबेला प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेश धनखोटी यादवलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनले भने, ‘पीडित माइतीपक्षले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ । हामी अनुसन्धानकै क्रममा छौँ ।’
कानूनी प्रावधान
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१२ धारा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसूरको बारेमा स्पष्ट पारिएको छ । जहाँ भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।















प्रतिक्रिया