राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति « Khabarhub

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । तिल्केनीचौरमा विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एउटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ ।

विद्युत्गृह परिसरमा आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक केसीले जानकारी दिए ।

कोरोना महामारी, बाढीपहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनाको काममा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ साल असारमा पहुँचमार्ग र २०७६ साल असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : २७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद