काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टीको पहिलो महाधिवेशनको शुभकामना दिएकी छिन् । खबरहबसँगको विशेष कुराकानीमा उनले स्थापनाकालदेखि नै जोडिएको पार्टी भएकाले रास्वपाप्रति आफ्नो सधैँ सद्भाव रहने बताउँदै महाधिवेशनबाट देश र जनताको भावना बुझ्ने राम्रो नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छिन् ।
रास्वपाप्रति आम जनताको ठूलो भरोसा र आशा रहेकाले त्यसलाई कुनै पनि हालतमा मर्न दिन नहुनेमा उनले विशेष जोड दिएकी छिन् । पूर्वनेतृ श्रेष्ठले महाधिवेशन जुनसुकै राजनीतिक दलका लागि पनि आत्मसमीक्षा गर्ने, विगतका अनुभवबाट सिक्ने र भविष्यको सही दिशा तय गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गरिन् ।
आफू हाल पार्टीको औपचारिक संरचनाभित्र नरहे पनि यसको जग बसाल्न सुरुदेखि नै लागेको नाताले पार्टीको उत्तरोत्तर प्रगतिको कामना गर्नु आफ्नो स्वाभाविक दायित्व भएको उनको भनाइ थियो । राजनीतिलाई कुनै व्यक्तिको जित वा हारको साँघुरो घेरामा मात्र हेर्न नहुने भन्दै उनले यसलाई देश र जनताको वृहत्तर हितका लागि निरन्तर चलिरहने एउटा साझा अभियानका रूपमा बुझ्नुपर्ने धारणा राखिन् ।
‘स्थापनाकालदेखि जोडिएको पार्टीप्रति मेरा सद्भाव रहन्छ । महाधिवेशनबाट राम्रो नेतृत्व आओस् भन्ने चाहन्छु । रास्वपाप्रति जनताको आशा छ । त्यो आशा मर्न भएन । कुनैपनि राजनीतिक दलका लागि महाधिवेशन आत्मसमीक्षा गर्ने, अनुभवबाट सिक्ने र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर पनि हो,’ उनले भनिन्, ‘हाल पार्टीको औपचारिक संरचनाभित्र नरहेपनि यस पार्टीको स्थापनादेखि जोडिएको व्यक्तिका रूपमा सफलताको कामना गर्दछु । राजनीति व्यक्तिको जित वा हारको विषय मात्र होइन । देश र जनताको हितका लागि निरन्तर चलिरहने साझा अभियान हो । त्यसैले लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रतिको प्रतिबद्धता अझ बलियो बनाउँदै अघि बढ्न यो महाधिवेशन सफल होस् भन्ने शुभेच्छा राख्छु ।’
राजनीतिक संगठनलाई बलियो र विश्वसनीय बनाउने आधारहरूबारे चर्चा गर्दै उनले लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शीता र जनउत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएर अघि बढ्न महाधिवेशन सफल हुने आशा व्यक्त गरेकी छिन् । यो महाधिवेशनले रास्वपालाई अझ बढी परिपक्व, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउने विश्वास व्यक्त गर्दै श्रेष्ठले पार्टीभित्र सहकार्य, आपसी विश्वास र सकारात्मक राजनीतिक संस्कृतिको विकास होस् भनी प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गरेकी छिन् ।
‘कुनै पनि पार्टी तब बलियो बन्छ । जब त्यहाँ फरक विचारलाई सम्मान गर्ने संस्कार हुन्छ । आलोचनालाई सुधारको अवसरका रूपमा लिने क्षमता हुन्छ । नेतृत्व पदभन्दा बढी जिम्मेवारीप्रति समर्पित हुन्छ । युवाको उत्साह, अनुभवीहरूको मार्गदर्शन र लोकतान्त्रिक अभ्यासको समन्वयले मात्र राजनीतिक संगठनलाई दिगो र विश्वसनीय बनाउन सक्छ,’ उनले भनिन्, ‘मेरो विश्वास छ, यो महाधिवेशनले पार्टीलाई अझ परिपक्व, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउनेछ । पार्टीभित्र सहकार्य, विश्वास र सकारात्मक राजनीतिक संस्कृतिको विकास होस् भन्ने शुभकामना व्यक्त गर्दै प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’












प्रतिक्रिया