चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अझ स्पष्ट र बलियो प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन् ।
आइतबार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई भरतपुरमा सम्बोधन गर्दै पुनले नयाँ राजनीतिक शक्तिका रूपमा छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको रास्वपामाथि देशको विशेष चासो र अपेक्षा रहेको बताए ।
महाधिवेशनबाट तय हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले यसको महत्व विशेष रहेको उनको भनाइ थियो ।
‘विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिंगो देशले हेरिरहेको छ’, उनले भने, ‘यसकारण पनि तपाईंहरुको महाधिवेशनमाथि धेरैको आँखा छ । महाधिवेशनबाट तपाईंहरूले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने कुराले राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ । तपाईंहरू यस महाधिवेशनमार्फत् पहिलोपटक देशव्यापी रुपमा पूर्ण संगठनको आकारमा जाँदै हुनुहुन्छ ।’
पुनले भने रास्वपा र नेपाबीच केही भिन्नताहरू रहेका बताएका छन् । ‘ती भिन्नता केही आशंकाको तहमा, केही नीतिगत, केही व्यवहारगत र केही शैलीगत छन् । हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौँ’, उनले भने, ‘मलाई विश्वास छ, यो ऐतहासिक महाधिवेशनले तपाईंहरूमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरुलाई मेटाउन सफल हुनेछ ।’
पुनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराउँदै उनको शुभकामना सन्देश सुनाएका थिए ।
प्रचण्डले रास्वपाका नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आफ्नो गृहनगरी चितवनमा स्वागत रहेको सन्देश पठाएको उनले बताए ।
सम्बोधनका क्रममा पुनले नेकपा र रास्वपाबीच केही विषयमा राजनीतिक समानता र केहीमा भिन्नता रहेको उल्लेख गरे ।
दुवै शक्तिले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ राजनीतिक यात्रा तय गरेको भन्दै उनले परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेण्डामा दुई दलबीच निकटता रहेको बताए ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको पक्षमा विगतमा पनि सहकार्य भएको स्मरण गर्दै भविष्यमा समेत यस्ता मुद्दामा सहकार्य जारी रहने धारणा राखे । तर, सुशासनका नाममा चालिने कुनै पनि कदम संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर जान नहुनेमा उनले जोड दिए ।
‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रम भंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं । पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रुपान्तरणका एजेण्डामा हामी तपाईंहरुलाई नजिक पाउँदछौं । हामीहरुबीच अर्को समानता पनि छ, त्यो हो सुशासनको एजेण्डा’, उनले भने, ‘हामीले विगतमा सरकारमा र सरकारबाहिर हुँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौं । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जत्तिको निकट सहकार्य सायद अरुका बीचमा भएको छैन । कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौं । आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो समर्थन छ ।’
पुनले भ्रष्टाचार र बेथिति अन्त्य तथा सुशासनको एजेण्डामा आफूहरू सँगै रहेको बताए । ‘त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाउन चालिएका कदम विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।
लोकतन्त्रमा दलहरू प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै उनले बहुमत र अल्पमत दुवैले लोकतान्त्रिक संस्कार आत्मसात् गर्नुपर्ने बताए ।
संख्या र सत्ता अस्थायी हुने भन्दै उनले सांकेतिक रुपमा संख्याको बलमा अहंकार प्रदर्शन नगर्न रास्वपालाई सुझाव दिए ।
‘दलहरू लोकतन्त्रान्त्रिक प्रणालीका खम्बा हुन् । दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रमा शक्ति जनताले दिन्छन् र आवश्यक परे फिर्ता पनि लिन्छन्’, उनले भने, ‘हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज तपाईंहरूसँग छ । त्यसैले राजनीतिमा बहुमतले बिनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता ।’
लोकतन्त्रमा संख्या र सरकारहरू अस्थायी हुने उनले बताए । तर लोकतान्त्रिक प्रणाली, विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ भन्ने स्थापित लोकतान्त्रिक मान्यता हुनुपर्ने उनको तर्क छ।
युवापुस्ताको बढ्दो राजनीतिक सहभागिताले नेपाली समाजमा आशा जगाएको उल्लेख गर्दै पुनले रास्वपामा देखिएको युवा ऊर्जा र उत्साहलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
पुनले रास्वपामा युवाहरुको बाहुल्य रहेको चर्चा गर्दै आफू पनि २७ वर्षको उमेरमा शक्तिशाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा आएको स्मरण गरे ।
‘नेपालको राजनीतिक इतिहासमा तपाइहरुले छोटो समयमा ठूलो लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ । नयाँ पुस्ताको सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली जनतामा एक तहको आशा जगाएको छ । तपाईंहरुमध्ये धेरै युवा हुनुहुन्छ, जोश, जाँगर र उत्साह छ । तपाईंहरुलाई देखेर मलाई आफ्नो विगतको सम्झना भयो’, पुनले भने, ‘तपाईंहरूलाई यो कुरा जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ, कि म शक्तिशाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा आउँदा २७ वर्षको थिएँ ।’
युवाअवस्थामा परिवर्तनको उत्साह, साहस र सपना हुने र त्यो ऊर्जा देश निर्माणमा लगाउन सकियो भने समाज अघि बढ्ने विश्वास उनको थियो ।
नेपाली राजनीतिक परिवर्तनको इतिहास स्मरण गर्दै पुनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत विभिन्न आन्दोलनमा योगदान पुर्याएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।












प्रतिक्रिया