दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण गरिएको छ ।
जिल्लाकै सबैभन्दा अग्लो मानिएको उक्त मूर्तिले वैतेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उचाइमा पुर्याएको छ ।
हिन्दु धर्ममा नागदेवतालाई विशेष आस्थाका साथ पूजा गरिन्छ। भगवान शिवसँग नागको गहिरो सम्बन्ध रहेको धार्मिक विश्वासका आधारमा निर्माण गरिएको यो भव्य मूर्ति श्रद्धालु तथा पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
विशेषगरी श्रावण महिना, नागपञ्चमी तथा शिवरात्रिजस्ता पर्वहरूमा यहाँ आउने भक्तजनको संख्या बढ्ने विश्वास गरिएको छ ।
प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न
चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री कुन्दनराज काफ्ले को पहलमा विनियोजित बजेटबाट उक्त मूर्ति निर्माण गरिएको हो । पूर्व प्रदेश अर्थमन्त्री काफ्ले उक्त मूर्ति निर्माणको लागि ३० लाख बजेट विनियोजन गरेका थिए ।
वैतेश्वरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित गाउँपालिकाको अभियानलाई पुरा गर्न प्रदेश सरकारले पनि हातेमालो गर्दै नागदेवताको तामाको मूर्ति निर्माण गरिएको काफ्ले बताए ।
मूर्ति निर्माण सम्पन्न भएपछि आइतबार काफ्लेले स्थलगत अनुगमन गरेका छन्। अनुगमनको क्रममा उनले धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि बढाउन यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
धार्मिक संरचना निर्माणमा गाउँपालिकाको प्राथमिकता
वैतेश्वर गाउँपालिकाले पछिल्ला वर्षहरूमा यहाँको धार्मिक पर्यटन विकासलाई विशेष प्राथमिकतामा राख्दै विभिन्न वडाहरूमा रहेका मठमन्दिर, गुम्बा, देवस्थल तथा धार्मिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ ।
गाउँपालिकाले वडागत रूपमा धार्मिक मार्ग, मन्दिर परिसर व्यवस्थापन, विश्रामस्थल, पाटी–पौवा तथा धार्मिक महत्वका संरचनाहरू निर्माण तथा स्तरोन्नति गर्दै आएको छ ।
यसले स्थानीय धार्मिक सम्पदाको संरक्षण मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ ।
धार्मिक पर्यटनको सम्भावना बढ्दै वैतेश्वर महादेव मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर विकास गर्ने योजना अनुसार विभिन्न पूर्वाधार निर्माण कार्यहरू अगाडि बढाइँदै आएको गाउँपालिकाले जनाएको छ ।
नवनिर्मित १०८ फिट अग्लो नागदेवताको मूर्तिले वैतेश्वर महादेव क्षेत्रको आकर्षण अझ बढाएको स्थानीयको भनाइ छ । मन्दिर दर्शनका लागि आउने भक्तजन तथा पर्यटकहरूका लागि यो मूर्ति प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटकको आगमन बढेसँगै स्थानीय होटल, पसल, यातायात तथा अन्य व्यवसायिक गतिविधिहरूमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न वैतेश्वर क्षेत्रलाई जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ गाउँपालिका, प्रदेश सरकार तथा स्थानीय सरोकारवालाहरू सक्रिय रहेका छन् ।
स्थानीयवासीहरूका अनुसार १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माणसँगै वैतेश्वर अब केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई दोलखाको उदाउँदो धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित हुने विश्वास गरिएको छ । वैतेश्वरमा बैतेश्वरबैति मन्दिर जस्ता दर्जनौँ चर्चित धार्मिक स्थलहरु रहेका छन् ।
सुवाश बस्नेत/दोलखा












प्रतिक्रिया