प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन « Khabarhub

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन



काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहले सरकार पाँच वर्षसम्म यताउता नहुने सन्देश दिएका छन्।

पार्टी स्थापना भएको चार वर्षपछि चितवनमा पहिलो महाधिवेशनको उद्घाटन सत्र गरेर दुई नेताहरूले पार्टी एकताको सन्देश दिएका हुन्।

बिहान महाधिवेशनस्थल पुगेर दुवै नेताले अवलोकन गरेका थिए। त्यसपछि होटल फर्केर करिब दुईदेखि चार घण्टासम्म दुई नेता सँगै बसेका थिए।

दुई नेताबीच करिब ३–४ घण्टा सरकार र महाधिवेशनका विषयमा छलफल भएको पुष्टि उनीहरूको सचिवालयले गरेको छ। होटलबाट रवि र बालेन प्रधानमन्त्रीका लागि लगिएको एउटै गाडीमा फर्किए।

महाधिवेशन स्थलमा दुई नेताहरू सँगै उपस्थित हुँदा उत्साह देखिएको थियो। दुई नेताले महाधिवेशन स्थलमा आएर प्रतिपक्षी नेताहरूलाई पनि स्वागत गरे।

विगतमा गगन थापासँग सम्बन्ध बिग्रिएको भनिएका पार्टी सभापति रविले उनलाई अङ्कमाल गरे। सबै प्रतिपक्षीसँग हात मिलाएका दुई नेताहरू सँगै बसेर मञ्चमै भलाकुसारीसमेत गरे।

विपक्षी दलहरूले दुई नेताको सम्बन्ध र सरकारको आलोचना गर्दा उनीहरू एकआपसमा हेर्दै मुस्कुराइरहेका देखिन्थे। उत्साहित देखिएका उनीहरूले विपक्षीलाई पाँच वर्षसम्म सरकार यताउता नहुने सन्देश दिए ।

सरकारमाथि शङ्का

अरू नेताहरूले सरकारसँग सहयात्रा गर्ने र राष्ट्रिय मुद्दाहरूमा हातेमालो गर्ने बताए । तर नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको काममाथि शङ्का गरेका थिए। विगतका राजनीतिक परिवर्तनको स्मरण गर्दै प्रदीप ज्ञवालीले सरकारको गाडी दुर्घटनामा पर्न सक्ने संकेत गरे । उनले सम्बोधन गर्दा रास्वपा कार्यकर्ताले आपत्तिजनक शैलीमा हुटिङ पनि गरे ।

उनले एउटा गाडीमा एक्सिलेटर र ब्रेकर सँगै राखेर हिँड्नुपर्ने बताउँदै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका अन्य राजनीतिक दलहरूको अनुभवबाट सिकेर काम गर्न सुझाव दिए।

ज्ञवालीले सरकारको नियतमाथि प्रश्न उठाउँदा महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूले समेत ‘नो, नो’ भन्दै विरोध गरेको देखिन्थ्यो।

रवि र बालेन्द्रबीच दरार आएको विषयमा पनि विपक्षीले शङ्का गर्दा एमाले नेता ज्ञवालीले त्यस्तो नहोस् भन्ने आग्रह गरे।

कांग्रेसका सभापति गगन थापाले सरकारमाथि निकै सशक्त प्रहार गरे। उनले विगतमा दुई तिहाइ ल्याएका सरकारहरूले पनि विनम्रता, विवेक र आत्मआलोचना नगर्दा समाप्त भएको उदाहरण दिँदै त्यस्तो बाटोमा नलाग्न सुझाव दिए।

गगनले विगत १०–१२ वर्षमा आफ्नो पार्टीले गरेका गल्तीका कारण आफ्नो शिर निहुरिएको स्वीकार गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो गल्ती नगर्नुपर्ने भन्दै बहुमत प्राप्त भएपछि अरूका कुरा नसुन्ने र आफू मात्रै चोखो हुँ भन्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए।

गगनले यति मात्रै भनेनन्, कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको शत्रु नभई प्रतिस्पर्धी पार्टी भएको बताउँदै राष्ट्रिय मुद्दाहरूमा सहयोग गर्नुपरे तयार रहेको उल्लेख गरे।

गगन र प्रदीपसँगै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि सरकार पाँच वर्ष टिक्ने–नटिक्ने विषयमा शङ्का व्यक्त गरेका थिए।

विगतमा नेताहरूबीचको टकरावका कारण नेकपाको सरकार ढलेको स्मरण गराउँदै उनीहरूले नेतृत्वबीच टकराव पर्दा सरकार दुर्घटनामा परेको उदाहरण दिएका थिए।

सत्ताको उन्माद र पदको लोभका कारण विगतमा पार्टीहरू फुटेर दुईतिहाइको सरकारसमेत ढलेको स्मरण गराउँदै गगन, प्रदीप र वर्षमानले विगतबाट पाठ सिक्दै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्नुपर्ने बताएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि बाहिरी रूपमा केही शङ्का उब्जाउने अवस्था देखिएकाले त्यस्तो नहोस् भन्ने शुभकामना उनीहरूले दिएका थिए।

बालेन्द्र–रविको प्रतिवाद

सुरुमा बोलेका प्रधानमन्त्रीसमेत रहेका बालेन शाहले सरकार पाँच वर्ष टिक्ने भएकाले कुनै पनि अवस्थामा ब्रेक नलाग्ने बताए। गाडीमा ब्रेक लागे पनि पाँच वर्ष सरकार सञ्चालन भएर निर्वाचनसम्म चल्ने संकेत उनको थियो।

बालेनले बाढी आएर ट्र्याकमा खोला बगे पनि खोलाले आफ्नो बाटो एकनासले बनाइरहने बताए। पार्टीभित्र कुनै गुट–उपगुट नभएको सङ्केत गर्दै उनले गुट–उपगुटका नाममा सरकार र पार्टीलाई धक्का पुग्ने काम नगर्न सुझाव दिएका थिए।

विपक्षीलाई बालेनले भने, ‘ढुक्क हुनुहोस्, पाँच वर्षसम्म कुनै ब्रेक लागेर गाडी दुर्घटनामा पर्दैन। हामी देश बनाउन आएका हौँ, देश बनाएरै छाड्छौँ।’

उनले थपे, ‘हामीबीच कुनै मनमुटाव छैन, शङ्का नगरिदिनुहोला। विगतमा तपाईंहरूले जुन प्रकारको राजनीतिक संस्कार देखाउनुभएको थियो, त्यो बाटोमा हामी छैनौँ।’

अन्तिममा रविले वालेन्द्रलाई प्रधानमन्त्री बनाउन आफूले ठूलो छाती बनाएको जिकिर गरे। निरन्तर त्याग–तपस्या गरेको उनले स्मरण गरे। पदको लडाइँमा आफू नभएको बताउँदै कहिलेकाहीँ ठूलो मन बनाएर पद छाड्दा पनि आफूहरूमाथि स्वार्थपूर्ण दृष्टिले हेरिएको उल्लेख गर्दै यस्तो नगर्न र शङ्का नगर्न आग्रह गरे।

आफ्नो नियत र काममा कुनै खोट नभएको बताउँदै चार वर्षमा पुराना राजनीतिक दलहरूले आफूमाथि प्रतिशोध साँधेर विभिन्न जेलमा कोच्ने प्रयत्न गरे पनि जनताले निर्वाचनमार्फत ती दलहरूलाई गतिलो सन्देश दिएको रविको प्रष्टीकरण थियो।

उनले अरू दलहरूसँग सम्बन्ध सुधार हुँदै गए पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच खाडल रहेको संकेत गरेका थिए। ती खाडलहरू यथावत् रहँदा जनतालाई नै समस्या पर्ने भन्दै ती खाडल पुर्न आफूहरू तत्पर रहेको रविको सन्देश थियो। उनले दुई ठूला पार्टीमा रहेको विवाद पनि मिल्नुपर्ने बताए ।

रविले पाँच वर्षसम्म सरकारमा कुनै ब्रेक नलाग्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा विपक्षी दलहरूलाई ढुक्क भएर सरकार र पार्टीको नियतमाथि शङ्का नगर्न आग्रह गरे।

दुवै नेता राष्ट्रियताको विषयमा पनि बोले । रविले पाँच वर्षसम्म बालेनलाई प्रधानमन्त्रीकै रूपमा निरन्तरता दिने संकेत सुनाए । बालेनले भने यस विषयमा कुनै सांकेतिक टिप्पणी गरेनन्। उनले देश बनाउन आफूहरू एक भएको भन्दै पूरा गरेरै छाड्ने वाचा गरे।

रविले चार वर्षे इतिहासमा पार्टीले ठूलो उपलब्धि हासिल गरेकाले यसलाई नेपाली जनताको आशीर्वादका रूपमा लिँदै आफ्ना गतिविधि अगाडि बढाउने वचन दिएका थिए।

एकताको सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि नै दोहोरिने लगभग पक्का छ। वरिष्ठ नेता बालेन्द्रबाहेक अन्य थुप्रै पदाधिकारीमा सर्वसम्मतिको प्रयास हुने संकेत रविले गरे।

९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने र अन्य पदहरूमा मिलेसम्म सर्वसम्मति गर्ने प्रयास हुँदा जसले जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले जित्ने संकेत रविले गरेका थिए।

रविले आफ्ना महाधिवेशन प्रतिनिधिलाई जित्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले जित्ने र हार्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले हार्ने भएकाले ठूलो मन बनाएर आफूजस्तै भइदिन आग्रह गरे।

रविले यति मात्र भनेनन्, आफूले दुःख गरेर स्थापना गरेको पार्टी भएकाले यहाँ निर्वाचन हार्दा हेल्मेटले टाउको फुटाउनुपर्ने अवस्था नआओस् र बाटोमा हिँड्दा दुई नेताबीच मनमुटाव भएको सुन्नु नपरोस् भन्ने कामना गरे।

पार्टीमा निर्वाचनपछि ‘यो व्यक्ति’, ‘त्यो व्यक्ति’, ‘यो गुट’ वा ‘त्यो गुट’ भन्ने कुरा नआओस् भनेर विधान पनि त्यसअनुसार बनाइएको स्मरण गराउँदै रविले पार्टीले समानुपातिकता र समावेशिताको बाटोलाई कहिल्यै नछोड्ने उल्लेख गरे।

बालेनले पनि पहिलो ऐतिहासिक महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताउँदै नेता–नेताबीच पदीय जिम्मेवारीका कारण कुनै पनि मनमुटाव हुने स्थिति आउन नहुने उल्लेख गरे।

उनले अहिलेका सबै महाधिवेशन प्रतिनिधि पनि प्रधानमन्त्रीसरह भएको, राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने व्यक्ति पनि प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति सरह भएकाले यो पद आफू नै हो भनेर नठानिदिन आग्रह गरे।

पार्टीलाई बलियो बनाउन थुप्रै त्याग र केही जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले आगामी दिनहरूमा पनि पदीय जिम्मेवारी आउने कुरामा महाधिवेशन प्रतिनिधिलाई विश्वास दिलाए।

रवि र बालेन दुवैले पाँच वर्षसम्म सरकार तलमाथि नहुने र यो वा त्यो व्यक्ति पदमा पुग्यो भन्ने विषयमा आफूहरू दुर्घटनामा नपर्ने उल्लेख गरेका थिए। रवि–बालेनको सन्देश थियो, ‘पाँच वर्षसम्म ढुक्क हुनुहोस्, हामी यताउता गर्दैनौँ।’

रवि–बालेन क्रेज

रवि र बालेन बोल्दा महाधिवेशन प्रतिनिधिहरूको नारामा उत्साह देखिन्थ्यो। प्रदीप ज्ञवालीले सरकारमाथि शङ्का व्यक्त गर्दा भने महाधिवेशन प्रतिनिधिहरूले ‘नो, नो’ भनेको सुनियो ।

रवि र बालेनबाहेक गगन बोल्दा पनि महाधिवेशन प्रतिनिधिहरूले नारा लगाए। निरन्तर झरी परे पनि धैर्यतापूर्वक महाधिवेशन प्रतिनिधिहरू उद्घाटन सत्रमा बसे । घुँडासम्म भिज्ने गरी पानी परे पनि कुनै प्रवाह नगरी प्रतिनिधिहरूले नेताहरूको मन्तव्य सुने।

महाधिवेशनमा प्रतिनिधिहरूको उत्साह र उपस्थितिले महाधिवेशनपछि पार्टी अझ बलियो भएको संकेत दिने नेताहरू बताउँछन् ।

महाधिवेशन सभ्य र भव्य भएको भन्दै नेताहरू उत्साहित देखिएका छन्। विगतमा रवि र बालेनबीच सम्बन्धमा दरार आएको चर्चा चले पनि यस अड्कलबाजीलाई खारेज गरेको देखिन्छ ।

रविले सरकार बचाइराख्न र निरन्तरता दिन आफूले अझ के त्याग गर्नुपर्छ, त्यसका लागि पनि तयार रहेको बताए। त्यसले महाधिवेशन प्रतिनिधिहरूमा थप उत्साह देखिएको थियो।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ७ : १७ बजे

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा