काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको चौथो वर्ष पूरा गर्दै पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्यो । तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्ता, समर्थक र सर्वसाधारणको उपस्थिती छ ।
महाधिवेशनले केन्द्रीय समितिका सदस्यहरु, पदाधिकारीहरु र सचिवालस सदस्यहरुको चयन गर्नेछ । यस महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाह (बालेन) दोहोरिने निश्चितप्रायः छ ।
आइतबार भएको उद्घाटन सत्रमा रास्वपाले वक्ताका रुपमा विपक्षी दलका नेताहरुलाई आमन्त्रण गरेको थियो । महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनमत पार्टीका शीर्ष नेताहरूको सहभागी थिए ।
उद्घाटन सत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने प्रतिनिधि पठाएन । उद्घाटन सत्रलाई सम्बोधन गर्ने अधिकांश विपक्षी नेताहरुले रास्वपालाई जिम्मेवारीपूर्ण राजनीतिक यात्रा गर्न शुभकामना दिए ।
दुश्मन होइन, प्रतिस्पर्धी हौँ : सभापति थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र रास्वपा दुश्मन नभएर राजनीतिक प्रतिस्पर्धी भएको स्पष्ट पारे । रास्वपाले स्थापनाको चार वर्षमै प्राप्त गरेको असाधारण जनमतको प्रशंसा गर्दै थापाले कांग्रेस अर्काको खुट्टा काटेर वा अरूलाई फोहोर देखाएर नभई आफ्नै पार्टीको दुर्गन्ध हटाएर र इमानदार काम गरेर रास्वपाभन्दा अग्लो बन्न चाहेको धारणा राखे ।
विगतको इतिहास स्मरण गराउँदै उनले यसअघि स्थापित दलहरू नेताहरूको अहंकारको टकराव र शक्तिको उन्मादका कारण दुर्घटनामा परेको उल्लेख गर्दै रास्वपालाई सो अवस्थाबाट जोगिन सुझाव दिए । साथै, वर्तमान सरकार र मन्त्रीहरूको कतिपय कार्यशैलीप्रति असन्तोष जनाउँदै उनले नागरिक अधिकार र सीमा मिचिएको सवालमा कांग्रेसले सदनमा खरो खबरदारी गर्ने बताए ।
इतिहासको बलिदानकै जगमा आज रास्वपाले नीलो झण्डा फरफराउन पाएको स्मरण गराउँदै उनले रास्वपा कार्यकर्तालाई आफ्ना नेताहरूप्रति अन्धभक्त नहुन र विगतमा कांग्रेसले जस्तै नेतालाई ‘भगवान्’ वा ‘बा’ बनाउने गल्ती नगरी निरन्तर प्रश्न गर्ने आँट राख्न आग्रह गरे ।
भूराजनीतिक गल्ती थेग्न गाह्रो पर्छ, सचेत हुनुहोला : नेता ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले रास्वपालाई गरिखाने जनताको पक्षमा उभिने पार्टी बन्न सुझाव दिएका छन् । एमाले नेता ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा वैचारिक रूपमा कहाँ उभिन्छ भन्ने कुराभन्दा पनि जनताका लागि के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए ।
पार्टी ‘सेन्टर’, ‘राइट’ वा ‘लेफ्ट’ जुनसुकै कित्तामा ढल्किए पनि मुख्य कुरा गरिखाने वर्गका लागि परिणाममुखी काम गर्ने शक्ति बन्नुपर्नेमा उनले जोड दिए । निर्वाचन र जनमत केवल साधन मात्र भएको उल्लेख गर्दै ज्ञवालीले असली साध्य भनेको राष्ट्र निर्माण र मुलुकको आगामी दिशा तय गर्नु रहेको प्रष्ट पारे ।
उनले नेपालजस्तो सानो र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको देशले एउटा सानो गल्ती गर्दा पनि त्यसको परिणाम थेग्न गाह्रो हुने भन्दै रास्वपा नेतृत्वलाई पर्याप्त बुद्धि पुर्याएर अघि बढ्न सचेत गराए । साथै, संस्थागत सुदृढीकरणको महत्त्वमाथि टिप्पणी गर्दै उनले लोकतन्त्रमा सबै संवैधानिक र कानुनी संस्थाहरू बलियो हुनुपर्ने धारणा राखे ।
यदि देशका संस्थाहरू कमजोर भएमा चुनावबाट प्राप्त भएको जनमत सधैँ टिकिरहन नसक्ने भन्दै ज्ञवालीले रास्वपालाई आवेगभन्दा माथि उठेर लोकतान्त्रिक संस्थाहरूको सम्मान र सुदृढीकरणमा ध्यान दिन आग्रह गरे ।
बहुमतको अहंकार नगर्नू : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले रास्वपा र आफ्नो पार्टीबीच सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन र पारदर्शिताको एजेन्डामा समानता रहेको बताएका छन् । नेता पुनले माओवादी र रास्वपा दुवै शक्तिले नेपाली राजनीतिमा निरन्तरतालाई क्रमभंग गर्दै आफ्नो बाटो तय गरेको स्मरण गराए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा विगतमा पनि सहकार्य भएको उल्लेख गर्दै उनले यी एजेन्डाहरूमा रास्वपालाई आफ्नो पार्टीको सधैँ समर्थन रहने स्पष्ट पारे । यद्यपि, नेता पुनले संविधान, लोकतन्त्र र स्थापित प्रणालीप्रति रास्वपाबाट अझ स्पष्ट प्रतिबद्धता आउनुपर्ने धारणा राखे ।
सुशासनका नाममा चालिने कुनै पनि कदमहरू संविधान र कानुनको सीमाभन्दा बाहिर जान नहुनेमा उनले विशेष जोड दिए । बहुमतको आडमा अहंकार नगर्न सचेत गराउँदै उनले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्य गर्नुपर्ने महत्वपूर्ण सुझाव दिए ।
आफ्नो विगत सम्झिँदै पुनले आफू पहिलोपटक सरकारमा सामेल हुँदा मात्र २७ वर्षको रहेको उल्लेख गर्दै रास्वपामा त्यही उमेरका युवाहरूको ऊर्जा देख्दा खुसी लागेको बताए । उनले वर्तमान संविधानको दायराभित्रै रहेर पनि अनेकौँ सकारात्मक परिवर्तनहरू सम्भव भएको भन्दै रास्वपाको यो युवा ऊर्जालाई देश निर्माण र साझा राजनीतिक सुधारको प्रयासमा उपयोग गर्न आग्रह गरे ।
राजा चाहिन्छ भनेर पनि जनतालाई रास्वपालाई मत दिए : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा चाहिन्छ भन्ने आम नागरिकले समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेको दाबी गरेका छन् । अध्यक्ष लिङ्देनले राप्रपामा भोट नहालेर धेरै सर्वसाधारणले प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले राजा ल्याउने आसमा रास्वपालाई भोट दिएको उल्लेख गरे ।
उनले जनमत पार्टीका अध्यक्ष सिके राउतको भनाइलाई जोड्दै रास्वपाभित्र देशका विभिन्न विचार र आस्था बोक्ने जनताको ठुलो जनमत समेटिएकाले यस पार्टीको काँधमा विशिष्ट जिम्मेवारी रहेको स्पष्ट पारे । अध्यक्ष लिङ्देनले गत २१ फागुनमा सम्पन्न निर्वाचन अत्यन्तै निष्पक्ष भएको र यसले परम्परागत राजनीतिक शैलीलाई भत्काइदिएको विश्लेषण गरे ।
उनले देशभर र वडा तहसम्म संगठन समेत विस्तार नभएको अवस्थामा पनि रास्वपालाई जनताले दुई-तिहाइ बहुमत दिएको उल्लेख गरे । आम नेपाली जनता अहिलेका राजनीतिक दल र संगठनको घेराभन्दा धेरै अगाडि बढिसकेको दाबी गर्दै उनले जनताले देखाएको यो अभूतपूर्व विश्वासलाई निराशामा परिणत हुन नदिन रास्वपा नेतृत्वलाई सुझाव दिए ।
यसैगरी, उनले देशको वर्तमान अवस्था बिग्रिनुमा केवल पुराना दल र तिनका नेताहरू मात्र दोषी नभएर उनीहरूले बनाएको संविधानमा समेत गम्भीर समस्या रहेको औँल्याए । वर्तमान व्यवस्था र प्रणालीमा रहेका त्रुटीहरूलाई सुधारेर मात्र देश अगाडि बढ्न सक्ने जिकिर गर्दै उनले संविधानमा व्यापक सुधारको खाँचो रहेकोमा जोड दिए र रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।
संविधान संशोधन आवश्यक : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान त्रुटिपूर्ण र विरोधाभासपूर्ण रहेको भन्दै यसमा आवश्यक सुधार र संशोधन हुनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संविधानमा रहेका विकृति र विसंगतिहरूलाई हटाएर अघि बढ्ने तथा यसलाई समयसापेक्ष परिमार्जन गर्ने ठूलो दायित्व अब रास्वपासामु पनि आइपुगेको बताए ।
उनले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता पक्षहरू वर्तमान संविधानका महत्त्वपूर्ण उपलब्धि भए पनि यसका धेरै व्यवस्थाहरू अझै अपूर्ण रहेको टिप्पणी गरे । पहिचान र अधिकारका सवालहरू अझै सम्बोधन हुन बाँकी रहेकाले संविधानलाई सच्याएर सबैको सर्वस्वीकार्य दस्तावेज बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
अध्यक्ष यादवले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले देशको अग्रगामी परिवर्तन र संविधान संशोधनको मुद्दामा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । अग्रगमन र न्यायका पक्षमा सबै शक्तिहरू मिल्नुपर्ने औँल्याउँदै उनले रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना समेत गरे ।
मधेसीको छोरालाई प्रधानमन्त्री बनाएकोमा विशेष धन्यवाद : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रशंसा गर्दै देश बनाउने अठोटका साथ सहभागी भएका प्रतिनिधिहरूलाई शुभकामना दिएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका नागरिकहरू एउटै उद्देश्यका लागि चितवनमा भेला हुनुले देश परिवर्तनको नयाँ आशा जगाएको बताए ।
सम्बोधनका क्रममा विगतमा आफूले समानता र न्यायका लागि गरेको राजनीतिक आन्दोलनको स्मरण गर्दै राउतले वालेन्द्र साहतर्फ संकेत गर्दै मधेसीको छोरालाई देशको प्रधानमन्त्री बनाएकोमा रास्वपा सभापति रवि लामिछानेलाई विशेष धन्यवाद समेत दिए । महाधिवेशनमा देशैभरिबाट आएका प्रतिनिधिहरू कुनै पद प्राप्तिका लागि नभई मुलुक बदल्ने एउटा उत्कृष्ट चाहना र सपना बोकेर आएको उनको भनाइ थियो ।
आफूभित्र पनि देशलाई समृद्ध र विकसित बनाउने तीव्र इच्छा रहेकाले रास्वपाका साथीहरूको त्यही हुटहुटी र चाहनालाई सम्मान गर्दै आफू महाधिवेशनमा शुभकामना दिन उपस्थित भएको राउतले उल्लेख गरे । उनले नयाँ शक्तिहरूको सहकार्य र साझा सङ्कल्पबाट नै देशको भविष्य बदलिने विश्वास व्यक्त गर्दै रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।












प्रतिक्रिया