बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर) « Khabarhub

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)



रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका करिब ९ करोड रुपैयाँ बराबरका ११ वटा विद्युतीय सवारीसाधन (ईभी) रसुवाको टिमुरेस्थित भन्सार परिसरमा एक वर्षदेखि बेवारिसे बनेका छन्। भन्सार महसुल नतिरिएका ती गाडी आयातकर्ताले नलैजाँदा र लिलामी प्रक्रियामा नजाँदा अलपत्र परेका हुन्।

२०८२ असार २४ मा आएको भीषण बाढीमा पुरिएका कुल ८ करोड ८६ लाख ९० हजार रुपैयाँ मूल्यका सवारीसाधन अहिलेसम्म उठाइएको छैन। बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका गाडी बिक्री नहुने भएपछि आयातकर्ता कम्पनी ‘सीजी मोटर्स’ ले तिनलाई लैजान चासो नदेखाएको हो।

भन्सारमा अलपत्र परेकामा ८ करोड ४९ लाख ९० हजार रुपैयाँ मूल्य पर्ने एक्सपेङ (Xpeng) जी–६ ब्रान्डका १० वटा कार र ३७ लाख रुपैयाँ बराबरको एउटा ईभी भ्यान रहेका छन्। आयातकर्ताले यी गाडीको बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महसुल बुझाउनुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए।

भन्सार कार्यालयका अनुसार बीमा दाबी प्रक्रियाका लागि प्राविधिक जाँच बाँकी रहेकाले बाढीपछिकै अवस्थामा गाडीहरू छाडिएको हो। आयातकर्ताले सरकारलाई हस्तान्तरण वा लिलामीका लागि आधिकारिक पत्र नदिएकाले भन्सारले पनि तिनको व्यवस्थापन गर्न सकेको छैन। “आयातकर्ताले प्राकृतिक प्रकोपका कारण क्षति भएको औपचारिक पत्र दिएपछि मेकानिकल इन्जिनियरमार्फत मूल्यांकन गराएर लिलामीमा लैजान सकिन्छ, तर अहिलेसम्म त्यस्तो प्रक्रिया सुरु भएको छैन,” नासु गेलालले भने।

उक्त बाढीले रसुवा भन्सार क्षेत्रमा कुल ७० करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरका आयातित सवारी तथा मालसामानमा क्षति पुर्‍याएको थियो। बाढीमा ५६ वटा विद्युतीय तथा पेट्रोलियम सवारीसाधन बगेका थिए, जसको अनुमानित मूल्य ४७ करोड १२ लाख रुपैयाँभन्दा बढी थियो।

बाढीमा सीजी मोटर्सका मात्रै ३३ करोड ३ लाख रुपैयाँभन्दा बढी मूल्यका ४० वटा गाडी परेका थिए। यस्तै स्काइवेल मोटर्सका ८ वटा, स्पार्क प्रा.लिका ५ वटा ट्रक र इभरग्रीन इनर्जीका ३ वटा ट्रकसमेत बाढीमा बगेका थिए। स्काइवेलबाहेक अन्य अधिकांश सवारीको बीमा गरिएको भए पनि प्रक्रियागत ढिलाइका कारण क्षति पुगेका गाडीहरू भन्सार परिसरमै कुहिन थालेका छन्।

(तस्बिर: नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १० : ३८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको