तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते भएको स्वीकार गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का प्रवक्ता सीन पार्नेलले यसको जानकारी दिएका हुन्।
उनले जुलाई ७ यता भएका आक्रमणमा ती सैनिक घाइते भएका थिए। घाइतेमध्ये ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन्। अधिकांशलाई टाउकोमा सामान्य चोट (कन्कसन) लागेको थियो।
पार्नेलले द न्यूयोर्क टाइम्सको त्यस रिपोर्टको जवाफमा यस्तो बताएका हुन्, जसमा इरानसँगको युद्धमा घाइते भएका अमेरिकी सैनिकबारे रक्षा मन्त्रालयले जानकारी सार्वजनिक नगरेको दाबी गरिएको थियो।
उनले सैनिकहरूको सुरक्षालाई ध्यानमा राख्दै जानकारी सार्वजनिक गर्न ढिलाइ गरिएको बताए।
इरानको दाबी : बहराइनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण
इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डा शेख ईसा एयर बेस मा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानी सेनाका अनुसार उक्त अड्डा अमेरिकी नौसेनाको फिफ्थ फ्लीट को प्रमुख आधार शिविर हो र यस क्षेत्रका अमेरिकी सैन्य गतिविधिको महत्वपूर्ण केन्द्र मानिन्छ।
इरानी समाचार एजेन्सी फार्स का अनुसार, इरानी सेनाले शत्रुले इरानमाथिको आक्रमण नरोकेसम्म आफ्नो सैन्य कारबाही जारी रहने जनाएको छ। अमेरिकाका सैन्य गतिविधिको जवाफस्वरूप यी आक्रमण गरिएको सेनाको भनाइ छ।
इरानको दाबी : कुवेतकोअमेरिकी एयर डिफेन्स र राडार प्रणाली ध्वस्त
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अर्को विज्ञप्तिमा कुवेतस्थित अहमद अल–जाबेर एयर बेस मा रहेका अमेरिकी सैन्य प्रणालीमाथि आक्रमण गरेको दाबी गरेको छ।
इरानी समाचार एजेन्सी तस्निम का अनुसार आईआरजीसीले उक्त आक्रमणमा अर्ली वार्निङ राडार, मिसाइल प्रतिरक्षा राडार, एफपीएस-११७ राडार, प्याट्रियट एयर डिफेन्स सिस्टम तथा एयर डिफेन्स स्याटेलाइट सञ्चार प्रणाली ध्वस्त पारिएको दाबी गरेको छ।












प्रतिक्रिया