तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री  « Khabarhub

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास, विस्तार तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा संघले राखेका मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। उक्त काउन्सिल गठन भएपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन, निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनमा प्रभावकारी समन्वय हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएका छन्। साथै, निःशुल्क व्यापार सम्झौता (एफटीए) विस्तार, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने तथा अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली तयारी पोसाक निर्यातमा देखिएका प्राविधिक अवरोध हटाउन आवश्यक पहल गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विशेषगरी ‘टेस्टिङ सर्टिफिकेसन’को अभावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकारले प्राथमिकता दिने उल्लेख गरे।

छलफलमा संघका प्रतिनिधिहरूले सरकारले नीति तथा कार्यक्रममा समेटेको ‘ग्रिन गार्मेन्ट भिलेज’ कार्यक्रमका लागि बजेट विनियोजन नभएको भन्दै ध्यानाकर्षण गराएका थिए। त्यसप्रति प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।

प्रधानमन्त्री शाहले २०४० सालतिर लागू भएको निर्यातका आधारमा आयात गर्ने व्यवस्थाको पुनः अध्ययन गरी आवश्यक सुधार गर्न सुझाव दिँदै तयारी पोसाक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा जोड दिए।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, तयारी पोसाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा सहायक सामग्री स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ०९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया