३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर। अन्ततः फिफा विश्वकप-२०२६ स्पेनको ऐतिहासिक उपाधिसँगै सकिएको छ। तर, यो विश्वकपलाई केवल नयाँ च्याम्पियनले मात्र होइन, अप्रत्याशित पुनरागमन, साना राष्ट्रको साहसिक यात्रा, इतिहास रच्ने खेलाडी, विवादित निर्णय, समर्थकको अनौठो संस्कृति र पहिलोपटक गरिएका प्रयोगले पनि अविस्मरणीय बनाइदियो।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गरे। ३९ दिनसम्म चलेको प्रतियोगितामा १०४ खेल भए। मैदानभित्र रोमाञ्चक प्रतिस्पर्धा देखियो भने मैदानबाहिरका केही घटनाले पनि विश्वभर बहस सिर्जना गरे। अन्ततः फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बन्यो। १०६ औँ मिनेटमा फेरान टोरेसले गरेको गोल निर्णायक बन्यो। व्यक्तिगत अवार्डमा पनि स्पेनकै वर्चस्व रह्यो। कप्तान रोड्री उत्कृष्ट खेलाडी, पाउ क्युबार्सी उत्कृष्ट युवा खेलाडी र उनाइ सिमोन उत्कृष्ट गोलकिपर घोषित भए भने फ्रान्सका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता बने।
तर, यो विश्वकपको कथा यतिमै सीमित छैन। प्रतियोगिताका यस्ता धेरै क्षण छन्, जसले वर्षौँसम्म फुटबल समर्थकको स्मृतिमा स्थान बनाइरहनेछन्।

नर्वेको ऐतिहासिक पुनरागमन र ‘भाइकिङ रो’को विश्वव्यापी चर्चा
विश्वकप-२०२६ को सबैभन्दा सुखद आश्चर्यमध्ये एक थियो नर्वेको प्रदर्शन। २८ वर्षपछि विश्वकपमा फर्किएको टोलीले ब्राजिललाई पराजित गर्दै पहिलोपटक क्वार्टरफाइनलसम्म पुगेर इतिहास रच्यो। यद्यपि इंग्ल्यान्डसँग पराजित भएपछि उसको यात्रा त्यहीँ टुङ्गियो। तर नतिजाभन्दा बढी चर्चा भयो टोलीको आत्मविश्वास र उत्सव शैलीको। कप्तान मार्टिन ओडेगार्डको नेतृत्वमा प्रत्येक जितपछि खेलाडीले ‘भाइकिङ रो’ सेलिब्रेसन गरे। नर्वेको ऐतिहासिक भाइकिङ संस्कृतिको प्रतीक मानिने यो उत्सव विश्वभर भाइरल बन्यो। त्यसमाथि युवा स्टार एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकपमै सात गोल गर्दै आफू भविष्यका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक भएको प्रमाणित गरे।
३९ वर्षका मेसीले पनि इतिहास लेखे
विश्वकप सुरु हुनासाथ अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक आफू किन महान् खेलाडी हुन् भन्ने देखाए। उनले समूह चरणको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै नयाँ इतिहास रचे। ३९ वर्षको उमेरमा गरिएको यो ह्याट्रिकसँगै मेसी विश्वकप इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने। आफ्नो अन्तिम विश्वकप मानिएको प्रतियोगितामा उनले उमेर केवल अङ्क मात्र भएको सन्देश पनि दिए।

अर्जेन्टिनाको १३ मिनेट, जसले पूरा खेल उल्टाइदियो
विश्वकपका सबैभन्दा रोमाञ्चक खेलमध्ये एक थियो अन्तिम-१६ मा अर्जेन्टिना र इजिप्टबीचको भेट। एक समय अर्जेन्टिना २-० ले पछि परेको थियो। कप्तान मेसीले पेनाल्टीसमेत गुमाएपछि टोली लगभग प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको देखिन्थ्यो। तर त्यसपछि फुटबलले फेरि एकपटक आफ्नो अनिश्चित सौन्दर्य देखायो। केवल १३ मिनेटभित्र तीन गोल गर्दै अर्जेन्टिनाले ३-२ को अविश्वसनीय पुनरागमन जित दर्ता गर्यो। यही खेल प्रतियोगिताका सबैभन्दा स्मरणीय पुनरागमनमध्ये एक बन्यो।
सानो देश, ठूलो सपना: केप भर्डेको अविश्वसनीय यात्रा
यस विश्वकपले सबैभन्दा धेरै प्रशंसा कमाउने टोलीमध्ये एक थियो अफ्रिकी राष्ट्र केप भर्डे। पहिलोपटक विश्वकप खेलेको टोलीले समूह चरणमै स्पेन र उरुग्वे जस्ता पूर्वविश्व च्याम्पियनलाई बराबरीमा रोक्दै नकआउट चरणमा स्थान बनायो। अन्तिम-३२ मा साविक विजेता अर्जेन्टिनासँग पराजित भए पनि केप भर्डेले आफ्नो खेलबाट सबैको सम्मान जित्यो।

यस सफलताको केन्द्रमा थिए ४० वर्षीय अनुभवी गोलकिपर भोजिन्हा। उनले स्पेनविरुद्ध आठ तथा अर्जेन्टिनाविरुद्ध १० उत्कृष्ट बचाउ गर्दै प्रतियोगिताका सबैभन्दा प्रभावशाली गोलकिपर प्रदर्शनमध्ये एक दिए।
ट्रम्पको हस्तक्षेपपछि फिर्ता भयो रातो कार्ड
विश्वकप-२०२६ को सबैभन्दा विवादास्पद घटनामध्ये एक अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनसँग जोडियो। बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको अन्तिम-३२ खेलमा उनले रातो कार्ड पाए। तर त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप भएको दाबीबीच फिफाले उक्त रातो कार्ड फिर्ता लियो।
यो निर्णय सार्वजनिक भएसँगै विश्व फुटबलमा ठूलो बहस सुरु भयो। बेल्जियमसहित विभिन्न देशका पूर्वखेलाडी, प्रशिक्षक र विश्लेषकले फिफाको निष्पक्षतामाथि प्रश्न उठाए। अन्ततः अमेरिका भने अन्तिम-१६ मा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
समर्थकले पनि बनाए आफ्नै इतिहास
विश्वकप खेलाडीको मात्र होइन, समर्थकको पनि उत्सव हो। यस संस्करणमा इंग्ल्यान्डका समर्थकले समूह चरणमा पानामामाथिको जितपछि ओएसिस ब्यान्डको प्रसिद्ध गीत ‘वन्डरवाल’ हजारौँको स्वरमा गाएर अविस्मरणीय दृश्य सिर्जना गरे।
उता २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डका समर्थकको ‘टार्टन आर्मी’ पनि सामाजिक सञ्जालमा भाइरल बन्यो। बोस्टनका सडक, बार र सार्वजनिक स्थानमा ट्राफिक कोन राख्दै उनीले रमाइलो मनाए। उनीहरूको प्रसिद्ध नारा ‘नो स्कटल्यान्ड, नो पार्टी’ प्रतियोगिताभर चर्चाको विषय रह्यो।
भीएआर फेरि विवादको केन्द्रमा
प्रविधिले गल्ती कम गर्ने अपेक्षा गरिए पनि यस विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) नै सबैभन्दा धेरै आलोचित बन्यो। विशेषगरी अर्जेन्टिना र इजिप्टबीचको अन्तिम-१६ खेलमा इजिप्टका मोस्ताफा जिकोले गरेको गोललाई भीएआरले त्यसअघि लिसान्ड्रो मार्टिनेजमाथि फल भएको भन्दै रद्द गरिदियो। त्यसबेला इजिप्ट १-० ले अघि थियो।
निर्णयपछि इजिप्टका खेलाडी र प्रशिक्षकले आफूमाथि अन्याय भएको आरोप लगाए। धेरै फुटबल विश्लेषकले पनि उक्त गोलले मान्यता पाउनुपर्ने तर्क गरे। यही घटनाले भीएआरको प्रयोगबारे फेरि विश्वव्यापी बहस सुरु गरायो।
पहिलोपटक लागू भयो ‘हाइड्रेसन ब्रेक’
यो विश्वकपमा पहिलोपटक अनिवार्य ‘हाइड्रेसन ब्रेक’ लागू गरियो। गर्मी मौसमलाई ध्यानमा राख्दै खेलाडीको स्वास्थ्य सुरक्षाका लागि यो व्यवस्था गरिएको थियो। यद्यपि धेरै समर्थक र विश्लेषकले पटक-पटक खेल रोकिँदा खेलको लय बिग्रिएको र रोमाञ्चकता कम भएको भन्दै आलोचना गरे।

लामिन यामलका भाइ पनि बने विश्वकप स्टार
यस प्रतियोगिताले चर्चामा ल्याएको अनौठो पात्र थिए स्पेनिस स्टार लामिन यामलका तीन वर्षीय भाइ केइन। स्पेनका हरेक खेल हेर्न रंगशालामा पुगेका केइन विशेषगरी अस्ट्रियाविरुद्धको अन्तिम-३२ र फ्रान्सविरुद्धको सेमिफाइनलपछि देखिएको उनको उत्साहित प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल बन्यो। यामल र केइनका बुबा फरक भए पनि दुवैबीचको आत्मीय सम्बन्धले समर्थकको मन जित्यो। बार्सिलोना र स्पेनका खेलमा उनी नियमित रूपमा देखिने गरेका छन्।

महँगो टिकट र हाफटाइम शोले पनि उठायो बहस
फाइनलसहित महत्त्वपूर्ण खेलको टिकट मूल्य अत्यधिक महँगो भएपछि विश्वभरका समर्थकले फिफाको आलोचना गरे। धेरैको गुनासो थियो- विश्वकप अब साधारण समर्थकभन्दा पनि धनी दर्शकका लागि केन्द्रित हुँदै गएको छ। टिकट वितरण प्रणाली र मूल्य निर्धारणमा पनि प्रश्न उठाइयो।
त्यसैगरी, पहिलोपटक विश्वकप फाइनलमा सुपर बाउल शैलीको हाफटाइम शो समावेश गरियो। केहीले यसलाई फुटबललाई विश्वव्यापी मनोरञ्जनसँग जोड्ने नयाँ प्रयासका रूपमा स्वागत गरे। तर परम्परागत फुटबल समर्थकले भने यसले खेलको मौलिक संस्कृति कमजोर बनाउने तर्क राखे।

अन्य चर्चित क्षण
यी घटनाबाहेक सेनेगलविरुद्ध बेल्जियमको शानदार पुनरागमन जित, समूह चरणमा जर्मनीमाथि इक्वेडरको अप्रत्याशित विजय, अन्तिम-३२ मा पाराग्वेको ऐतिहासिक सफलता तथा खेलाडी-रेफ्रीबीच भएका विभिन्न विवादले पनि विश्वकपलाई लगातार चर्चामा राखिरहे।
इतिहासमा छुट्टै अध्याय बनेको विश्वकप
विश्वकप-२०२६ ले नयाँ च्याम्पियन मात्र जन्माएन, फुटबलको नयाँ युग पनि देखायो। ४८ टोलीको विस्तारित प्रतिस्पर्धाले साना राष्ट्रलाई ठूलो मञ्च दियो। केप भर्डे र नर्वेजस्ता टोलीले विश्व फुटबलमा नयाँ सम्भावना देखाए भने मेसी, हालान्ड, रोड्री र एम्बाप्पेजस्ता स्टारले आफ्ना फरक-फरक कथा लेखे। अर्कोतर्फ, भीएआर विवाद, बालोगुनको रातो कार्ड फिर्ता, महँगो टिकट, हाइड्रेसन ब्रेक र पहिलो हाफटाइम शोले विश्व फुटबल कुन दिशातर्फ अघि बढ्दै छ भन्ने विषयमा गम्भीर बहस पनि जन्मायो।

स्पेनको उपाधिभन्दा पनि धेरै कारणले फिफा विश्वकप-२०२६ लामो समयसम्म समर्थकको स्मृतिमा जीवित रहनेछ। यो संस्करणले फुटबलमा केवल गोल र जितको कथा मात्र लेखेन, भावनादेखि विवादसम्म, आश्चर्यदेखि इतिहाससम्मका अनेक अध्याय एकै प्रतियोगितामा समेटेर विश्व फुटबललाई नयाँ अनुभव दियो।















प्रतिक्रिया