कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज ! « Khabarhub

सन्दर्भ : ४४औँ बीपी जयन्ती

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !



पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र र डा. तुलसी गिरी सदस्य रहेको चन्दा सङ्कलन समिति बनाए । सुवर्णशमशेर पार्टी चलाउने स्थायी स्रोत थिए । बीपीले पत्र नलेखी उनी एक पैसा झार्दैनथे । दुई तिहाइको सरकार थियो । तर पार्टी कार्यालयको भाडादेखि कर्मचारी तलबको समेत जोहो नहुँदा कार्यालय सचिव बासु रिसालसँग बीपी तर्किएर हिँड्थे ।

अति भएपछि पैसा जम्मा गर्न समिति बनाउने मध्यमार्गी बाटो पहिल्याइएको थियो । यही समितिको सिफारिसमा ब्रह्मशमशेर राणालाई जिताउने जिम्मा लिएर पहिलो निर्वाचनमा ५० हजारमा  टिकट बेचियो । त्यो बेला माथिल्लो सदनको सदस्यका लागि गिरिजाप्रसाद कोइरालाको नाम पक्कापक्की जस्तै थियो । पार्टीका हरेक निकायले उनकै नाम अनुमोदन गरेको थियो । पैसाका अघिल्तिर नेताको इमान र पार्टीको पद्धति फेल खायो ।

बीपीले गिरिजालाई बोलाएर थुम्थुम्याउँदै भने– ‘हेर गिरिजा, पार्टीका सबै तेरो पक्षमा छन् । तर मैले ब्रम्हशमशेरलाई बचन दिएको छु । तँ के भन्छस् ?’ बीपीको निर्णयका अघिल्तिर गिरिजाप्रसाद लाचार भए । अझ तुलसी गिरीले त सरकारी टेण्डर पाएका ठेकेदारबाट खुलेआम पैसा उठाउने प्रस्ताव राखेका थिए । समितिले देशभरका पैसावालको लगत निकालेर चन्दा उठाउने तम्तयारी गरेको थियो । यस्तो प्रस्ताव सुनेपछि बीपीले तुलसी गिरीको सातो टिपेका थिए । यही प्रकरणसँगै पैसा उठाउने अभियानले हावा खाएको थियो ।

बीपीको जुत्ता लगाएको ‘आत्मगौरव’ गर्ने गगन थापा र वंशको राजनीतिक प्राधिकार खोजिरहेका नेतापुत्रहरूको भोकले थङथिलो कांग्रेस थप चेपुवामा परेको छ । बीपीको जुत्तालाई ‘फ्रि साईज’ मा बदल्ने जिम्मेदारी गगनको हो ।

प्रवासकालमा त्यही पार्टी थियो– सुशीला कोइरालाले कत्थक नाचेर, गिरिजाप्रसाद, भीमबहादुर तामाङहरूले पत्रिका बेचेर कमाएको पैसाले पार्टीको धमनी चलेको थियो । प्रवासबाट लखेटिएकाहरूका लागि त्यही कमाई, त्यही ओछ्यान ऐश्वर्य हुन्थ्यो । सत्ताको प्रदूषणले कार्यकर्ता दूषित हुन थालेपछि बीपीले पनि धान्न सकेनन् । हरेक पुस्ताले आफ्नो समयलाई बलवान ठान्छ, तर विकृति आफ्नो प्रकृतिसँगै सधैँ खडा हुन्थ्यो । पहिला पाप धुरीबाट कराउँथ्यो, अहिले इन्टरनेटबाट उदाउँछ । हरेकतिरका बदमासी कम गर्ने हो, शतप्रतिशत उपचार सम्भव छैन । पहिला कम्तिमा सुवर्णशमशेर पार्टीका दाता थिए, अहिले कान्छाराम, डा. सुनील शर्माहरूको साँचोले ‘बीपीवाद’को झण्डोतोलन हुन्छ ।

कांग्रेस जन्माउने बीपी कोइराला यो धराबाट बिदा भएको ४४ वर्ष बितेको छ । बीपीको जुत्ता लगाएको ‘आत्मगौरव’ गर्ने गगन थापा र वंशको राजनीतिक प्राधिकार खोजिरहेका नेतापुत्रहरूको भोकले थङथिलो कांग्रेस थप चेपुवामा परेको छ । विद्रोही कार्यकर्ता शेरबहादुरसँग आक्रोशित भएको झोकमा पार्टी गगनलाई बुझाउन त बुझाए, तर बीपीको जुत्ता कति नम्बरको थियो, त्यो कसैलाई हेक्का भएन ।

बीपीको जुत्तालाई ‘फ्रि साईज’ मा बदल्ने जिम्मेदारी गगनको हो । त्यसअघि उनले सधैँ हेक्का राख्नुपर्ने सूत्र हो– ‘धेरै बोलेर बाठो र छिटो कुदेर सही गन्तव्य हात लाग्दैन ।’ त्यसका लागि आफूभित्र करुणाभाव सहितको दह्रो  ‘स्टेटमेनसीप’ निर्माण गर्नुपर्छ ।

०४८ सालको आर्थिक प्रगति देखाएर अबको राजनीतिक सटर चलाउन खोज्नु भद्दा जोक हो । विधि मासेर देशलाई हाताहाती लेनदेनमा अनुवाद गर्ने पहिलो हिस्सा कांग्रेसले लिनुपर्छ ।

अर्कातिर पार्टी चोइट्याउन धम्की दिने वंशवादीहरू देशको नेता नभएर शेरबहादुर देउवाको सचिवालयका हुक्केभन्दा माथि उठेनन् । डा. शशांक र डा. शेखर कोइरालाले उनीहरूको व्यवसायिक जीवनको पूर्वाद्धजस्तै खरिदारभन्दा माथिको परिचय उठाउन सकेनन् । गिरिजापुत्री सुजाताले बेलैमा लेनदेनको राजनीतिक परिचय बनाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई लेनदेनको वैधानिक डिपार्टमेन्ट स्टोर बनाउने उनै हुन् । आरजु राणा, गङ्गा दाहाल निरन्तरता हुन् । कम्तिमा बेलैमा उनलाई चिन्न कठिन भएन । प्रकाशमानसिंह र विमलेन्द्र निधि अन्ततः देउवाको सेल्समेनको परिचयमा खुम्चिए । कृष्णप्रसाद सिटौलाको प्रतिशोधी राजनीति कुण्ठामै सीमित भयो । उनका लागि बालेनको उत्थानभन्दा गगनको पतन प्रियकर बन्यो ।

कांग्रेसको जुत्ता युगको आवाजले गगनलाई सुम्पिएको सत्य हो । अब पार्टीका हरेक पंक्तिका लागि गगनको जाँगरमा बल मिसाउनु नै हो । बीपीको समाजवाद भनेर कांग्रेस उँभो लाग्नु र सगरमाथाको उचाइ देखाएर देशको समृद्धि नाप्नु एउटै हो । त्यसैले इमानसहितको संयम कांग्रेसका लागि निर्विकल्प साधना हो । ०४८ सालको आर्थिक प्रगति देखाएर अबको राजनीतिक सटर चलाउन खोज्नु भद्दा जोक हो । विधि मासेर देशलाई हाताहाती लेनदेनमा अनुवाद गर्ने पहिलो हिस्सा कांग्रेसले लिनुपर्छ । कांग्रेसमा रातारात उदाएका व्यापारी नामका प्लटिङ मास्टरहरूको गतिविधि चारतारे पात्रोमा बीपीको तस्बिरभन्दा अगाडि देखापर्नुको रहस्य त्यही हो ।

राजनीति नीतिको बाटोमा नहिँड्दा राणाले छोडेर गएको ७ करोडको दरिलो राज्यकोष जनताको हितमा उपयोग भएन । सत्ताको परागमा आकर्षित हुने तर प्रणालीको गाँठो फुकाउनेतर्फ चासो नदिने राजनीतिक मनोविज्ञानले जनताको ध्यान तान्न सकेन ।

सत्ताको परागमा आकर्षित हुने तर प्रणालीको गाँठो फुकाउनेतर्फ चासो नदिने राजनीतिक मनोविज्ञानले जनताको ध्यान कहिल्यै तान्न सकेन । २०१७ साल साउन ३१ गते महासभाको बैठकमा पोखराका सांसद मुक्तिनाथ शर्माले स्वास्थ्यमन्त्री काशीनाथ गौतमसँग सोधेका थिए– ‘के पोखरामा उडुस मार्ने कार्यक्रम छ ?’ मन्त्रीको उत्तर थियो– ‘अहँ, छैन ।’ उनले संसदलाई थप आकर्षित गर्दै भने– ‘त्यहाँ उडुसको हमलाले रातभरि नसुती जागिरहनुपर्छ । त्यसको टोकाइले बिरामी भएर मानिस खत्तमै होलान् भन्ने डर भइरहेको छ । त्यहाँका मानिसहरूले बरु मलेरिया नै भएको भए हुन्थ्यो, उडुसले त ज्यादै दुःख पाइयो भनेकाले मैले संसदमा यो प्रश्न राखेको हुँ ।’ आखिर सातदशकपछि हामी बाँदर आतंकको विषयलाई संसदको हटकेक विषय बनाइरहेका छौँ ।

राजनीति नीतिको बाटोमा नहिँड्दा राणाले छोडेर गएको ७ करोडको दरिलो राज्यकोष जनताको हितमा उपयोग भएन । सत्ताको परागमा आकर्षित हुने तर प्रणालीको गाँठो फुकाउनेतर्फ चासो नदिने राजनीतिक मनोविज्ञानले जनताको ध्यान तान्न सकेन । सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २००७ सालको क्रान्तिपछि बनेको शक्तिशाली सरकारका अर्थमन्त्री सुवर्णशमशेर राणाले सरकारी संयन्त्रभित्रको भुत्तेपन यसरी उजागर गरेका थिए– ‘अर्थ मन्त्रालयबाट बराबर ताकेता गर्दा पनि बाँकी रकमको राम्रो विवरण पाउन सकिएन । यसको अर्थ नतिजा मन्त्रालय र विभिन्न विभागका तालुकवालाले मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालयको स्वीकृति विना खर्च गर्न पाएन । ती अधिकारबाट उनीहरूले पाएका र खर्च भएका सबै रुपैयाँको हिसाब नआएकोले अर्थ मन्त्रालयले यो वर्षमा आजसम्म भएको खर्चको निश्चय गर्नसकेको छैन ।’ ७५ वर्षपछि बालेन सरकार त्यही घनचक्कर काटिरहेको छ । विख्यात अर्थमन्त्री भनिएका डा. स्वर्णिम वाग्लेको हालत शिवरात्रिमा हराएको बालकजस्तो भइसकेको छ ।

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौँ पछि जन्मिनेको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ ।

राजनीतिमा सच्चाइ के हो, विषयविज्ञ जानून् ! तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग अझै रोकिएको छैन । देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौँ पछि जन्मिनेको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ ।

धुलिमाटीबाट क, ख सिकेकादेखि आइफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ । निष्ठा र इमान्दारीको राजनीति गर्नेहरू देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकालाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने जेन–जीका नाममा जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपन शिवाय केही होइन ।

नेताले समाजमा असरल्ल देखिएका सानाभन्दा साना समस्या हेरे पुग्छ । सबैथोक भएर पनि मानिस खुसी छैन । समाजलाई आफ्नै आँखीझ्यालबाट हेर्नुस् त– ठूलो बंगला छ, असल परिवार छैन । ज्ञान छ, सीप छैन । पढाई छ, शिष्टता छैन । औषधि छ, स्वास्थ्य छैन, आम्दानी छ, आत्मशान्ति छैन, सञ्जालमा सन्काउने लाख छन्, चिसोतातो सोध्ने कोही हुँदैन, बोल्ने धेरै भए, सुन्ने कोही छैन । समय छ फुर्सद छैन । सम्बन्ध छ, भरोसा छैन । सपना ठूला छन्, दिशा छैन । दौड धेरै छ, गन्तव्य छैन । प्रश्न धेरै छ, उत्तर कममा गएर टुंगिन्छ । मान्छे मै हुँ भन्छ तर कमिलाले श्रमको पाठ पढाइरहेको छ ।

अहिले कांग्रेसभित्र माओवादी, माओवादीभित्र कांग्रेस, एमालेभित्र माओवादी, माओवादीभित्र एमाले, रास्वपाभित्र कांग्रेस, कांग्रेसभित्र रास्वपा, पञ्चेभित्र गणतन्त्रवादी बग्रेल्ती छन् ।

समाज दूध बेचेर बियर, छुर्पी बेचेर गुट्खा, काठ बेचेर आल्मुनियम, मह बेचेर जाम, फलफूल बेचेर क्यान, मार्सी बेचेर लनग्रेन, अर्गानिक सिमी बेचेर सोयाबिन किन्न रमाइरहेको छ । नेताहरूले यसको ओखती खोज्नु पर्दैन ? अहिले कांग्रेसभित्र माओवादी, माओवादीभित्र कांग्रेस, एमालेभित्र माओवादी, माओवादीभित्र एमाले, रास्वपाभित्र कांग्रेस, कांग्रेसभित्र रास्वपा, पञ्चेभित्र गणतन्त्रवादी बग्रेल्ती छन् । बीपी कोइराला ०७ सालताका दिक्क मान्दै भन्थे– ‘कांग्रेसको बैठकमा छलफल हुने बैठकको एजेण्डा मलाई भन्दा पहिला मोहनशमशेरलाई थाहा हुन्छ ।’

उनले आफ्नो पुस्तकमा भनेका छन्– ‘मेरो दिमागमा धेरै वर्षदेखि एउटा कुरा छ– मैले हिन्दुस्तानसँग गएर के कुरा भन्ने ? हिन्दुस्तानका केही स्वार्थहरूको मैले सेवा गर्ने कि नगर्ने ? प्रजातन्त्रमाथिको समान आस्थाले हुँदो रहेनछ । मलाई प्रजातन्त्रवादी भएन भनेर त भन्ने छैनन् हिन्दुस्तानमा । हिन्दुस्तानका केही मूलभूत स्वार्थहरूको सेवा मैले गरेँ भने मात्र मलाई उनीहरूले समर्थन गर्नेछन् । त्यसको निम्ति पनि तयार भएँ रे भने पनि के मद्दत गर्छन् ? म त्यै जान्न खोजिरहेको छु । बीपी अगाडि थप्छन्– ‘सुवर्णहरूलाई दिएको भन्दा बढी कुन नेतालाई दिल्लीले समर्थन देला ? सुवर्ण शमशेर दिल्लीको अनुकूल हुनसक्नु भयो होला, त्यति अनुकूल हुनसक्ने प्रजातान्त्रिक पक्षबाट मान्छे पाउने छैन दिल्लीले ।

सुवर्णजीप्रति दरबार अनुकूल हुन सकेन भने दरबारभन्दा बढी सुवर्णजी दिल्ली अनुकूल हुनुभयो । मैले दिल्लीसँग सम्बन्ध सुधार्न इन्दिरा गान्धीसँग गएर के भन्ने ? हेर्नुस् मलाई गलत नसम्झनुस् भन्ने ? म हिन्दुस्तानको हितको खिलाफ गर्दिन भन्ने ? त्यो त मैले छतबाट कराएर भनेको छु । उनीहरूका केही मूलभूत कुराहरू छन्, जो गराउन चाहिरहेका छन् । म के भन्छु भने मेरो राजनीतिले तिमीलाई मद्दतै पुर्‍याउँछ तर एजेन्टको राजनीतिले तिमीहरूलाई नोक्सान पुर्‍याउँछ ।’

कांग्रेसलाई आर्थिक दानदातव्यबाट सधैँ भारी हालेको आफ्नै सहकर्मीप्रति बीपीको नमिठो अनुभव दस्तावेज बनेरै दशकौँदेखि बस्नुको कारण के हो ? मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर राज्यको तर्फबाट हेरिने न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने स्वर्ग र नर्क यही धर्तीमा छ ।

जनता सच्चिनुपर्ने आफूहरू मैमत्तामा चल्ने आत्मरतिको राजनीतिले नेतालाई नरम पानीले ढुङ्गा खियाएजस्तै सिध्याउँछ ।

कांग्रेस बैठकमा बीपीको दिक्दारी यसरी झल्कन्थ्यो– ‘लौ सुन ! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिलेदेखि नै नारा जुलुस । पहिले सरकारलाई काम गर्न दिनुपर्छ । अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ । सबैलाई मन्त्री पद चाहिएको छ । यो कसरी सम्भव छ ?’ बीपीले भोगेको भाउँतो रास्वपामाथि मडारिन सुरु भइसकेको छ ।

अहिले नेपाली राजनीतिको विश्वसनीय प्रतिपक्षी भनेकै सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालका लागि एक घन्टा भनेको एक वर्ष हो । यसका प्रयोगकर्तालाई हनिमुन पिरियडसँग लिनुदिनु छैन । जनता सच्चिनुपर्ने आफूहरू मैमत्तामा चल्ने आत्मरतिको राजनीतिले नेतालाई नरम पानीले ढुङ्गा खियाएजस्तै सिध्याउँछ । सामाजिक सञ्जालले उठाएको बालेनलाई त्यसैले थच्यायो भने आश्चर्य नमाने हुन्छ ।

नेपालको राजनीति कहिल्यै संसदको अंकगणितबाट निर्देशित रहेन । सरकार ढल्ने अघिल्लो दिनसम्म सरकारका सारथी लोरी गाउन मस्त भइरहन्छन् । बीपी, जीपी, केपी, पीकेका राजनीतिक उथलपुथल काफी छन् । नेपालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ हात पार्‍याे । यो जितसँगै बीपी प्रधानमन्त्री भए । सूर्यप्रसाद उपाध्याय सर्वशक्तिमान गृहमन्त्री बनाइए ।

२०१७ सालको राजनीतिक ‘कू’ पछि प्रधानमन्त्री लगायत थुप्रै नेता जेलका पाहुना भए । तर त्यही सरकारका शक्तिशाली गृहमन्त्री उपाध्यायले दल विरुद्ध राजाको प्रायोजनमा भएको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै भनेका थिए– ‘प्रजातन्त्रका लागि विदेशी भूमिमा लड्नेहरू अराष्‍ट्रिय तत्व हुन् । देशबाहिर बसेर यहाँभित्र अशान्ति गर्नेहरूलाई देश फर्काउने प्रयास गरिनुपर्छ । यदि मानेनन् भने नागरिकताबाट च्यूत गरिनुपर्छ ।’ जुन सभाको अध्यक्षता नेपालको सबैभन्दा पुरानो पार्टीका खाँटी नेता टंकप्रसाद आचार्यले गरेका थिए ।

इतिहासका यस्ता ऐनामा एकपटक मात्र पनि वर्तमान पुस्ताका राजनीतिकर्मीले गहिरिएर हेरिदिने हो भने धेरै समस्या निदान हुने निश्चित छ । चित पल्टिए पनि, पोट पल्टिए पनि स्वीकार्ने हो भने हरेक पुस्ताले बाउ मिल्काउने डोकाको कथा मूलमन्त्र बनाउनुपर्छ । नयाँपुस्ताले डोको सुरक्षित राखे पुग्छ । झन् राजनीतिमा मिल्काउन सन्तान चाहिँदैन, अरुले नै ओखती गरिदिन्छन् । फलाम अरुका कारण नभएर आफूभित्रकै खियासँग लड्न नसकेर सकिने त हो । 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : ५० बजे

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री