न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी न्युयोर्क सहरले स्वतन्त्र रूपमा कार्यान्वयन गर्न सक्ने कानुनी अधिकार नरहेको स्पष्ट पारेका छन्।
उनले यस्तो कदम चाल्न आवश्यक अधिकार अमेरिकी सङ्घीय सरकारसँग रहेको बताउँदै त्यसले आईसीसीसँग आवश्यक सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आईसीसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागू कानुनका सबै पक्षको समीक्षा गरेको जानकारी दिए। सो समीक्षापछि न्युयोर्क सहरसँग स्वतन्त्र रूपमा उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने कानुनी अधिकार नभएको निष्कर्षमा पुगेको उनले बताए।
मेयर ममदानीले अमेरिकी सङ्घीय सरकारसँग भने यस्तो अधिकार रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकाले आईसीसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयनका लागि आवश्यक कदम चाल्नुपर्ने बताए।
हेगस्थित आईसीसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा पर्याप्त आधार रहेको ठहर गर्दै प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार प्रधानमन्त्री नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिएको बताइएको छ।
मेयर ममदानीले आफ्नो भिडियो सन्देशमा गाजामा भएको व्यापक विनाशप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै आईसीसीले लगाएको आरोपअनुसार नेतान्याहुलाई कानुनी प्रक्रियामा ल्याइनुपर्ने आफ्नो धारणा दोहोर्याए। साथै, आईसीसीले आरोप लगाएका अन्य सबै व्यक्तिमाथि पनि समान कानुनी मापदण्ड लागू हुनुपर्ने उनको भनाइ थियो।
यता, प्रधानमन्त्री नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिलाई अस्वीकार गर्दै आईसीसीलाई ‘कङ्गारु अदालत’ को संज्ञा दिएको छ।















प्रतिक्रिया