काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याएको छ । सो नियमावली कार्यान्वयनमा आएसँगै निश्चित समयभित्र कम गुणस्तरका विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे केही कलेजको शैक्षिक कार्यक्रम बन्द हुने देखिएको हो ।
सरकारले ल्याएको नयाँ नियमावलीको नियम २१ मा कलेजहरूले विश्वविद्यालयको सम्बन्धन परिवर्तन गर्न सक्ने व्यवस्था छ । सोही नियमको उपनियम (१) मा शिक्षण संस्थाले विश्वविद्यालयसँग सोही नियमावलीको नियम ७ को उपनियम (३)को खण्ड (ण) बमोजिमका विश्वविद्यालयसँग सम्झौता गरी सम्बन्धन परिवर्तनका लागि मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
नियमावलीको नियम ७ को उपनियम (३ं) को खण्ड (ण)मा विदेशी शिक्षण कार्यक्रमको अनुमति लिँदा ‘सम्बन्धन दिने विश्वविद्यालय टाइम्स हाइयर एजुकेसन वा क्यू.एस. वा त्यस्तै प्रकृतिको विश्वविद्यालयको विश्व वरियता (र्याङकिङ) मा एक हजार भित्र रहेको सम्बन्धी विवरण’ पेस गर्नुपर्ने व्यवस्था छ ।
नियम २१ कै उपनियम (५) मा अहिलेको कार्यान्वयनमा आएको नयाँ नियमावली प्रारम्भ हुनुभन्दा अगाडि सञ्चालनमा रहेका शिक्षण संस्थाको सम्बन्धन दिने विश्वविद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त नभएको वा विश्व वरियतामा नपरेको भए त्यस्ता कलेजले सम्बन्धन परिवर्तनका लागि एक वर्षभित्र नै प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख छ ।

सो निवेदन गर्दा सम्बन्धन लिने विश्वविद्यालय विश्व वरियतामा एकहजार र्याङकिङमा परेको हुनुपर्ने सो उपनियमा उल्लेख छ ।
नियमावलीको नियम २१ को उपनियम (६) मा तोकिएको अवधिमा गुणस्तर सुनिश्चितता वा विश्व वरियताक्रमको प्रमाणपत्र पेस नगर्ने शिक्षणसंस्थाको सञ्चालन अनुमतिपत्र खारेज गरिने भनिएको छ ।
सरकारले अहिले कार्यान्वयनमा ल्याएको नयाँ नियामावली भन्दा अघि कार्यान्वयनमा रहेको ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ मा पनि नेपाली कलेजले सम्बन्धन लिने विश्वविद्यालय टाइम्स हाइएर एजुकेसन वा सांघाइ र्याङकिङको एक हजार भित्र परेको हुनुपर्ने उल्लेख थियो ।
यी कलेजको शैक्षिक कार्यक्रम हुनसक्छ खारेज
बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनिसकेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले चैत २३ गते विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएका ५६ वटा कलेजको सूची सार्वजनिक गरेको थियो । जुन सूची अहिले पनि मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।
सो सूचीमा रहेका दुई दर्जन कलेजले सम्बन्धन लिएको विश्वविद्यालयहरू पुरानो निर्देशिका र नयाँ नियमावलीले तोकेको टाइम्स हाइयर एजुकेसन वा क्यू.एस. वर्ल्डको एक हजार र्याङकिङभित्र परेको पाइँदैन । तर, केही विश्वविद्यालयहरू विषयगत र्याङकिङमा भने देखिन्छन् । जुन विषयलाई नियमावलीले सम्बोधन गरेको छैन ।
नयाँ नियमावलीले सञ्चालनमा रहँदै आएका विदेशी शिक्षण कार्यक्रम सञ्चालन गर्ने कलेजले गुणस्तर सुनिश्चितता वा तोकिएको विश्व वरियतामा नपरेको भएको एक वर्ष भित्र सम्बन्धन परिवर्तन गर्न प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । जसले गर्दा शिक्षा मन्त्रालयबाट स्वीकृत पाएर विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने झण्डै दुइ दर्जन कलेजले गुणस्तरीय विश्वविद्यालयमा सम्बन्धन परिवर्तन नगरेमा ती कलेजको शैक्षिक कार्यक्रम नै बन्द हुन सक्ने देखिएको हो ।
टाइम्स हाइयर एजुकेसन र क्यू.एस. वर्ल्ड र्याङकिङको एक हजार भित्र नपरेका कलेज
(जुलाई २२ मा अद्यावधिक गरिएको)
| क्र.सं. | कलेज | विश्वविद्यालय | टाइम्स हाइयर एजुकेसन | क्यूएस वर्ल्ड युनिभर्सिटी |
| १. | हिमालयन कलेज अफ म्यानेजमेन्ट | इन्फ्रास्ट्रक्चर युनिभर्सिटी मलेसिया | छैन । | छैन । |
| २. | पदमश्री कलेज | निलाइ युनिभर्सिटी मलेसिया | छैन । | छैन । |
| ३. | व्रिनिची कलेज | एसिया इ युनिभर्सिटी | छैन । | छैन । |
| ४. | आइएसएमटी कलेज काठमाडौं | युनिभर्सिटी अफ सन्डरल्यान्ड | १५०१ माथि । | छैन । |
| ५. | सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट | क्वीन मार्गरेट युनिभर्सिटी | छैन । | १२०१–१४०० |
| ६. | सिजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट | लिम्कोकविङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी | छैन । | छैन । |
| ७. | किंग्स कलेज | वेस्टक्लिफ युनिभर्सिटी | छैन । | छैन । |
| ८. | प्रेजिडेन्टल ग्रयाजुएट स्कुल | वेस्टक्लिफ युनिभर्सिटी | छैन । | छैन । |
| ९. | द इन्टरनेशन सेन्टर फर एकेडेमिक | द इन्दिरा गान्धी ओपन युनिभर्सिटी | छैन । | छैन । |
| १०. | नेपाल इन्फर्मेसन टेक्नोलोजी | द इन्दिरा गान्धी ओपन युनिभर्सिटी | छैन । | छैन । |
| ११. | एनटिपी टुरिजम अफेयर कलेज | श्रीपतम युनिभर्सिटी | छैन । | छैन । |
| १२. | यति इन्टरनेशनल कलेज | श्रीपतम युनिभर्सिटी | छैन । | छैन । |
| १३. | मिड भ्याली इन्टरनेशन कलेज | हेल्प युनिभर्सिटी | छैन । | छैन । |
| १५. | पाटन कलेज फर प्रोफेसनल स्टडिज | युनिभर्सिटी अफ बेडफर्डसायर | १ हजार माथि | छैन । |
| १६. | नयाँ आयाम मल्टि डिस्प्लेनरी इन्स्टिच्युट (नामी) | युनिभर्सिटी अफ नर्थ एम्प्टन | छैन । | छैन । |
| १७. | मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) | इन्टरनेसनल अमेरिकन युनिभर्सिटी | छैन । | छैन । |
| १८. | काठमाडौं कलेज अफ म्यानेजमेन्ट | सियाम युनिभर्सिटी | छैन । | छैन । |
| १९. | इटहरी इन्टरनेसनल कलेज | लन्डन मेट्रोपोलिटियन युनिभर्सिटी | छैन । | १ हजार माथि । |
| २०. | आइएसएमटी कलेज चितवन | युनिभर्सिटी अफ सन्डरल्यान्ड | १५०१ माथि । | छैन । |
| २१. | आइएसएमटी बिराटनगर | युनिभर्सिटी अफ सन्डरल्यान्ड | १५०१ माथि । | छैन । |
| २२. | आइएसएमटी बुटवल | युनिभर्सिटी अफ सन्डरल्यान्ड | १५०१ माथि । | छैन । |
| २३. | आइएसएमटी पोखरा | युनिभर्सिटी अफ सन्डरल्यान्ड | १५०१ माथि । | छैन । |
| २४. | ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड अस्पिटालिटी एजुकेसन | होटलरीसुइस ई, स्विस होटल, एसोसिएसन, स्विट्जरल्याण्ड | छैन । | छैन । |















प्रतिक्रिया