काठमाडौं- पाकिस्तानमा कागजातविहीन अफगान नागरिकहरूमाथि भइरहेको दमनका कारण त्यहाँ हुर्किएका हजारौं युवाको भविष्य संकटमा परेको छ । सोभियत–अफगान युद्धको समयमा शरणार्थी बनेर पाकिस्तान छिरेका परिवारका सन्तानहरू समेत हाल राज्यको दमन र देश निकालाको त्रासबीच जीवन बिताउन बाध्य छन् ।
यस्तै पीडितमध्येका २५ वर्षीय शयान खान अहिलेसम्म अफगानिस्तान पुगेका छैनन् । सन् १९७९ मा सोभियत आक्रमणपछि उनका बुबा लाखौं अफगानहरूसँगै छिमेकी देश पाकिस्तानमा शरण लिन पुगेका थिए । पाकिस्तानमै जन्मेर हुर्किएका शयानले आफ्नो जीवनको सम्पूर्ण समय त्यहीं बिताएका छन्।
तर, हालै कागजातविहीन अफगान शरणार्थीहरूमाथि पाकिस्तान सरकारले सुरु गरेको पुनः देश फर्काउने अभियानका कारण उनको कानुनी मान्यता खोसिएको छ। अफगानिस्तानमा आफ्नो केही पनि नरहेको र आफूहरू पाकिस्तानमै जन्मे-हुर्किएको उल्लेख गर्दै शयानले बाध्यतावश फर्कनुपरेमा शून्यबाट जीवन सुरु गर्न बाध्य हुने पीडा व्यक्त गरेका छन् ।
उनी इस्लामाबादको बाहिरी इलाकामा आफ्नी पाकिस्तानी पत्नी र एक छोरासँग बस्दै आएका छन् । राज्यका निकायहरूको गिरफ्तारीबाट बच्न उनले आफ्नो व्यवसाय समेत बिक्री गरिसकेका छन् । विश्वविद्यालयको उच्च शिक्षा हासिल गरे पनि प्रहरीको डरले गर्दा उनले अहिले लुकिछिपी दैनिक ज्यालादारी मजदुरी गर्नुपर्ने अवस्था आएको छ ।
अहिलेको दमनकारी अभियान सुरु भएदेखि पाकिस्तानी प्रहरीले बजारहरूबाट अफगान नागरिकहरूलाई अन्धाधुन्ध पक्राउ गरिरहेको उनले बताएका छन् । परिवारको पेट पाल्नका लागि मात्रै आफूहरू जोखिम मोलेर अनौपचारिक काममा लाग्ने गरेको र अधिकारीहरूको नजरबाट जोगिन बाध्य भएको उनको भनाइ छ।












प्रतिक्रिया