काठमाडौं- त्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति माग गर्दै यातायात क्षेत्रका महासंघ तथा मजदुर संघ–संगठन आन्दोलनमा उत्रिएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात श्रमिकको पेशागत सुरक्षाको प्रत्याभूति गर्न छवटा महासंघ तथा संघ–संगठनले संयुक्त संघर्ष समिति गठन गरेका हुन्।
त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि बा.५ ख ४२७४ नम्बरको बसभित्र चालक दोङले आत्मदाह गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि आत्मदाहसम्मको घटनालाई सामान्य ट्राफिक कारबाहीको विषयमा मात्रै सीमित नगरी सडकमा नियामक निकायको व्यवहार र कार्यशैलीसमेत जोडेर अनुसन्धान गर्नुपर्ने उल्लेख छ।
मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेका बेला आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमनमा अवरोध भएपछि चालक लामाले हर्न बजाएका उनीहरूले बताएका छन्। हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेपछि जरिवाना गर्ने विषयमा विवाद भएको उनीहरूको भनाइ छ।
त्यसपछि थप ट्राफिक प्रहरी घटनास्थलमा पुगेर बसलाई राहदानी विभागअगाडि लगी यात्रुहरूलाई ओराली करिब दुई घण्टासम्म नियन्त्रणमा राखिएको विज्ञप्तिमा उल्लेख छ। चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोज्दा उनले प्रतिवाद गरेको पनि संगठनहरूको दाबी छ।
घटनापछि ट्राफिक प्रहरी कार्यालयले सवारीधनीलाई फोन गरी चालकलाई बग्गीखाना पठाइदिन भनेको खुलेको छ। सवारीधनीले चालकसँग सम्पर्क गरेको पनि उनीहरूले खुलाएका छन्। त्यसक्रममा चालक लामाले आफूले गल्ती नगरेको भन्दै बग्गीखाना जान अस्वीकार गरेको तथा ट्राफिक प्रहरीबाट मानसिक दबाब र हैरानी भोगेको बताएको संगठनहरूको भनाइ छ।
सवारीधनीले चालकले व्यक्त गरेको मानसिक अवस्थाबारे सम्बन्धित ट्राफिक प्रहरी अधिकारी तथा कार्यालयलाई समेत जानकारी गराएको दाबी गरिएको छ। त्यसको केही समयपछि चालकले बसको ढोका बन्द गरी आफ्नै शरीरमा आगो लगाएको र बससमेत जलेको घटनाले आफूहरू स्तब्ध भएको यातायात क्षेत्रका संगठनहरूले बताएका छन्।
संगठनहरूले घटनाको कारण र जिम्मेवारीबारे निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। ‘ट्राफिक नियम उल्लङ्घन भए कानुनी कारबाहीको विषय हुन सक्छ, तर कानुनी कारबाही र श्रमिकलाई मर्न बाध्य पार्ने किसिमको दुर्व्यवहार एउटै विषय होइन,’ उनीहरूले संयुक्त रुपमा भनेका छन्।
उनीहरूले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरणका आधारमा चालक लामालाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे अनुसन्धान गर्न माग गरेका छन्।
नौबुँदे माग
यातायात क्षेत्रका संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। पूर्ण रूपमा जलेको बसका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।
चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि घटनासम्मको सम्पूर्ण घटनाक्रम छानबिन गर्न सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरिएको छ।
सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्रै काममा लगाउने र सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने उनीहरूको माग छ।
ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत समस्याबारे तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन र उजुरी सुनुवाइ संयन्त्र स्थापना गर्न पनि माग गरिएको छ।
त्यस्तै, ट्राफिक प्रहरीको चेकजाँच, कारबाही तथा चालकसँग गरिने व्यवहार निर्धारित कानुनी प्रक्रिया र आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन र छानबिन गर्ने संयन्त्र बनाउनुपर्ने उनीहरूको माग छ।
ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै चेकजाँच तथा कारबाहीको प्रक्रियामा सरोकारवालासहितको नियमित अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
सडक तथा सवारीसम्बन्धी कानुनअनुसार ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकारको पुनरावलोकन तथा पुनर्व्यवस्था गर्नुपर्ने र यातायात श्रमिकको कार्यस्थल तथा मानसिक सुरक्षालाई यातायात सुरक्षाकै अभिन्न विषयका रूपमा समेट्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, देशभरका सडकमा आवश्यक बसबिसौनी, यात्रु चढ्ने–ओर्लने स्थान, शौचालय, भोजनालय तथा विश्रामस्थललगायत सडक पूर्वाधार व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउन पनि माग गरिएको छ।
आन्दोलन चर्काउने चेतावनी
संयुक्त माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उद्देश्यले छवटै महासंघ तथा संघ–संगठनका अध्यक्ष रहेको संयुक्त संघर्ष समिति गठन गरिएको विज्ञप्तिमा जनाएका छन्।
माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन्।
संयुक्त संघर्ष समितिले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।












प्रतिक्रिया