बागलुङ– देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण, फैलिरहेको डेङ्गुको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ ।
स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमुना संकलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ ।
टोलीले डेङ्गु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारकको तुलना गर्न केस–कन्ट्रोल अध्ययनसमेत गर्दै छ ।
धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गुको भेरियन्ट पहिचान गर्ने काम भइरहेको छ ।
हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेङ्गु सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ । यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो ।
बागलुङमा हालसम्म एक हजार ५८९ जना संक्रमित भएका छन् । यो तथ्याङ्ग सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो । निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ ।
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

























प्रतिक्रिया