काठमाडौं- चीनले लागू गरेको नयाँ शून्य भन्सार नीतिले अफ्रिकी मुलुकहरूलाई चीनको विशाल बजारमा सहज पहुँच दिए पनि यसले मात्र महाद्वीपको आर्थिक रूपान्तरण गर्न पर्याप्त नहुने सम्बन्धित विज्ञ तथा अधिकारीहरूले औंल्याएका छन् । नाइजेरियाको राजधानी अबुजास्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका कृषि राज्यमन्त्री अलिउ साबी अब्दुल्लाहीले केवल शून्य भन्सारले मात्र सफलताको ग्यारेन्टी नदिने बताएका छन्। उनले नाइजेरियाले अब धेरै मात्रमा निर्यात गर्ने कि भन्ने मात्र नभई कसरी गुणस्तरीय र परिष्कृत वस्तु निर्यात गर्ने भन्नेमा सोच्नुपर्नेमा जोड दिएका छन्।
चीनले गएको मे १ देखि कूटनीतिक सम्बन्ध भएका ५३ वटा अफ्रिकी मुलुकहरूका लागि शतप्रतिशत वस्तुमा शून्य भन्सार नीति लागू गरेसँगै अधिकांश अफ्रिकी देशहरूले विश्वको ठूलो उपभोक्ता बजारमा करमुक्त प्रवेश पाएका छन्। यस नीतिबाट प्राप्त प्रारम्भिक तथ्याङ्कहरू उत्साहजनक देखिएका छन्। मे र जुन महिनामा मात्रै चीनले अफ्रिकाबाट गर्ने आयात २८ अर्ब ७० करोड डलर पुगेको छ, जुन गत वर्षको तुलनामा २३.५ प्रतिशतले बढी हो। चीनका राजदूतले अवुजा सेमिनारमा दिएको जानकारीअनुसार मे र जुनमा नाइजेरियाबाट मात्रै चिनियाँ आयात ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
तर, व्यापारको परिमाण बढे पनि अफ्रिका र चीनबीचको व्यापारमा गहिरो असन्तुलन कायम नै रहेको छ। सन् २०२५ मा अफ्रिका र चीनबीचको व्यापार कीर्तिमानी ३४८ अर्ब डलर पुगेको थियो, जसमा चीनले अफ्रिकालाई २२५ अर्ब डलरका वस्तुहरू बिक्री गर्दा अफ्रिकाले चीनलाई १२३ अर्ब डलरका वस्तु मात्र बेच्न सक्यो। यसरी अफ्रिकाले प्रत्येक एक डलरको सामान चीनमा बिक्री गर्दा करिब १.८३ डलर बराबरको वस्तु खरिद गर्नुपरेको छ र व्यापार घाटा १०२ अर्ब डलर पुगेको छ। अनुसन्धानअनुसार अफ्रिकाबाट चीनतर्फ हुने निर्यातको ८९ प्रतिशत हिस्सा खनिज तथा इन्धनजस्ता कच्चा पदार्थले ओटेको छ भने चीनबाट अफ्रिका भित्रिने ९४ प्रतिशत वस्तुहरू प्रशोधित तथा उत्पादित सामग्री रहेका छन्।
भन्सार छुटले व्यापारको परिमाण त बढाउन सक्छ तर व्यापारको संरचना भने आफैँ परिवर्तन गर्न सक्दैन। केन्या र रुवान्डाका केही उदाहरणहरूले भने अफ्रिकाभित्रै मूल्य अभिवृद्धि सम्भव रहेको देखाएका छन्। केन्यामा एभोकाडोलाई प्रशोधन गरी तेल निकालेर चीनतर्फ पठाइएको छ भने रुवान्डाले पनि प्रशोधित अचारहरू चीन निर्यात गर्न थालेको छ। तर कच्चा तामा वा प्रशोधित तामा दुवैलाई चीनले एउटै भन्सार दरमा राख्ने गरेकाले प्रशोधन गर्ने कार्य अफ्रिकाभित्रै हुन अझै चुनौती पूर्ण बनेको छ।
अफ्रिकी मुलुकहरूमा विद्युत्को अनियमितता, महँगो वित्तीय लगानी, अप्रभावी बन्दरगाह र यातायातका असुविधाजस्ता गैर-भन्सार अवरोधहरू नै उत्पादन क्षेत्रको मुख्य बाधक हुन्। तसर्थ, चीनको शून्य भन्सार नीतिलाई एउटा अवसरको रूपमा मात्र नभई फराकिलो औद्योगिक नीतिको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूको जोड छ। अफ्रिकाबाट कच्चा पदार्थको सट्टा प्रशोधित धातु र फिनिस गरिएका वस्तुहरूको निर्यात नबढेसम्म व्यापार तथ्याङ्कका रेकर्डले मात्रै अफ्रिकी अर्थतन्त्रलाई विश्वव्यापी मूल्य शृङ्खलाको माथिल्लो तहमा पुर्याउन नसक्ने निष्कर्ष निकालिएको छ।














प्रतिक्रिया