काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन्।
रास्वपा मधेस प्रदेश कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन त्यसतर्फ जान लागेका हुन्।
तय भएको कार्यतालिकाअनुसार लामिछाने शनिबार दिउँसो १२:१५ बजे जनकपुर विमानस्थल पुग्नेछन्। लगत्तै दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रम राखिएको छ भने दिउँसो २ देखि ४ बजेसम्म पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ। शनिबार साँझ ५ बजे उनी छठको खरना तथा अन्य धार्मिक तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन्।
आइतबार बिहान ७ देखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरधामको जानकी मन्दिर, मुखियापट्टीको लक्ष्मीनारायण मन्दिर, महोत्तरीको मठियानी लक्ष्मीनारायण मठ मन्दिर र जलेश्वरनाथ मन्दिर, मुजेलियाको रामजानकी मरवा तथा धनुषाधाम मन्दिरको दर्शन एवं धार्मिक पोखरीहरूको अवलोकन गर्नेछन्। आइतबार दिउँसो ३ बजे उनी गंगासागरमा आयोजना हुने छठ पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यतालिका छ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहका अनुसार सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठको विधि समापन गरेपछि लामिछाने दिउँसो जनकपुर विमानस्थलबाट काठमाडौँ फर्कनेछन्।














प्रतिक्रिया