दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली « Khabarhub

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ ।

चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ । अन्तरराष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ ।

आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।”

शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उनको भनाइ छ । विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउँछन् ।

“नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” उनले भने ।

यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पु¥याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँछन् ।

दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ५ : ५८ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको