प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत (तस्बिरहरु) « Khabarhub

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत (तस्बिरहरु)


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आएका हुन् ।

प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।

साथै उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

यस्तै, सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयु) आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले साँझ ६:०० बजे शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ४ : ३६ बजे

समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

काठमाडौँ- मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका

प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा प्रधानमन्त्रीले गर्ने

एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत (तस्बिरहरु)

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

यूएईविरुद्ध ओपनर कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड