दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका–७ ठोट्नेरीमा रहेको एक कुखुरा फार्ममा आगलागी हुँदा १ हजार ७ सय कुखुरासहित करिब ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय विदुरप्रसाद गुरागाईँले सञ्चालन गरेको फार्ममा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीमा बिक्रीका लागि तयार १ हजार १ सय र हुर्कँदै गरेका ६ सय गरी कुल १ हजार ७ सय कुखुरा जलेर नष्ट भएका छन्।
आगलागीबाट कुखुराका अतिरिक्त चारवटा फार्मका भौतिक संरचना, ५० बोरा दाना, जेनेरेटर तथा फार्ममा रहेका अन्य सम्पूर्ण सामग्री नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार कुल ६० देखि ७० लाख रुपैयाँसम्मको क्षति भएको फार्म सञ्चालक गुरागाईँले जानकारी दिए । आइतबार मध्याह्न करिब १२ बजे विद्युत् लाइन सर्ट भई आगलागी सुरु भएको थियो।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरी टोलीको सक्रियतामा आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो। गुरागाईँले बैंक तथा सहकारीबाट ऋण लिएर फार्म सञ्चालन गर्दै आएका थिए। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।
सुवास बस्नेत/दोलखा














प्रतिक्रिया