तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ? « Khabarhub

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?



तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र करोडौँ रुपैयाँका पुरस्कार। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले क्रिकेटप्रेमीलाई यस्तै अनेकौँ रोमाञ्चक क्षण दियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली र विदेशी खेलाडीबीचको प्रतिस्पर्धाले दर्शकलाई उत्साहित बनायो। तर, यो संस्करणको उपलब्धि मैदानमा बनेका रन र विकेटमा मात्र सीमित रहेन। नेपाली क्रिकेटको व्यावसायिक भविष्य, नयाँ प्रतिभाको सम्भावना र अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले पनि प्रतियोगिता महत्त्वपूर्ण बन्यो।

यसपटक एनपीएलमा तीन खेलाडीले शतक बनाए। पोखरा एभेन्जर्सका क्यानडेली खेलाडी युवराज सामरा, चितवन राइनोजका श्रीलंकाली खेलाडी कामिल मिसार र सुदूरपश्चिम रोयल्सका स्कटल्यान्डका जर्ज मुन्सीले शतक प्रहार गरे। यीमध्ये फाइनलमा मुन्सीले देखाएको प्रदर्शन भने प्रतियोगिताकै सबैभन्दा चर्चित क्षण बन्यो।

लुम्बिनी लायन्सविरुद्धको फाइनलमा मुन्सीले ५४ बलमा अविजित १२५ रन बनाए। उनको ब्याटबाट १२ छक्का र आठ चौका निस्किए। उनको आक्रामक ब्याटिङकै मद्दतमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्दै १० विकेटको जित निकाल्यो।

यस जितसँगै सुदूरपश्चिमले लगातार दुई संस्करणको फाइनलमा व्यहोरेको हारको पीडालाई बिर्साउँदै पहिलोपटक उपाधि उचाल्यो। अघिल्ला दुई संस्करणमा उपविजेतामै सीमित भएको टोलीका लागि यो जित विशेष बन्यो। उता, लुम्बिनी भने अपराजित रहँदै फाइनल पुग्ने पहिलो टोली बने पनि उपाधि रक्षा गर्न असफल भयो।

रोचक त के छ भने, मुन्सीको यो विस्फोटक प्रदर्शन प्रतियोगिताभरको उनको नियमित लयभन्दा निकै फरक थियो। यसअघि लुम्बिनीसँगको खेलमा उनी खाता नखोली आउट भएका थिए भने चितवनविरुद्ध आठ रनमा सीमित भएका थिए। अघिल्लो संस्करणमा विराटनगरबाट खेल्दा पनि उनले उल्लेखनीय रन बनाउन सकेका थिएनन्। तर, निर्णायक खेलमा उनले देखाएको प्रदर्शनले एनपीएलको इतिहासमा आफ्नो नाम विशेष रूपमा लेखाए।

नेपाली खेलाडीको प्रदर्शनले जित्यो चर्चा

विदेशी खेलाडीको प्रदर्शनसँगै नेपाली खेलाडीले बनाएका कीर्तिमान पनि यस संस्करणको आकर्षण बने। विशेषगरी चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरे। उनले आठ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बने।

हेटौँडाका २७ वर्षीय रिजनले ६.२२ को इकोनोमीमा बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखे। उनको यही प्रदर्शनले उनलाई प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बनायो। उनले करिब ६५ लाख रुपैयाँ मूल्यको ओमोडा कार पुरस्कार जिते।

यसका अतिरिक्त गोल्डेन क्याप, मोटरसाइकल र दुई लाख रुपैयाँ नगद पनि प्राप्त गरे। पाँच लाख पुरस्कार पाएका दीपेन्द्र सिंह ‌ऐरी प्रतियोगीताकै उत्कृष्ट खेलाडीको अवार्ड पाए ।

ब्याटिङतर्फ पोखराका युवराज सामरा सर्वाधिक रन बनाउने खेलाडी बने। उनले प्रतियोगिताभर २९४ रन बनाए। विराटनगर किंग्सका नेपाली ब्याटर लोकेश बम २४२ रनसहित दोस्रो स्थानमा रहे। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि लोकेश नै बने। उनले प्रतियोगिताभर १८ छक्का प्रहार गरे। यता, युवराजले २९ चौका प्रहार गर्दै सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको उपलब्धि हासिल गरे।

नेपालका सन्दीप लामिछानेले एउटै खेलमा ६ विकेट लिँदै प्रतियोगिताको अर्को उल्लेखनीय कीर्तिमान बनाए।

१६ वर्षमै एनपीएलमा छाए राहुल

यस संस्करणले नयाँ पुस्ताका खेलाडीलाई पनि आफ्नो क्षमता देखाउने राम्रो अवसर दियो। जनकपुर बोल्ट्सबाट खेलेका १६ वर्षीय राहुल यादव यसको उदाहरण बने।

रौतहटका राहुलले प्रतिभा छनोट शिविरबाट टोलीमा स्थान बनाएका थिए। उक्त छनोट प्रक्रियामा ४४६ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा परेका राहुलले प्रतियोगितामा १२ विकेट लिए। उनको प्रदर्शनका आधारमा उनलाई इमर्जिङ प्लेयर घोषित गरियो। उनले मोटरसाइकल पुरस्कारसमेत प्राप्त गरे।

नवौँ कक्षामा अध्ययनरत राहुलको सफलताले घरेलु प्रतियोगितामार्फत नयाँ प्रतिभालाई अवसर दिन सकिने सम्भावना देखाएको छ।

खेल मात्र होइन, करोडौँको व्यावसायिक कारोबार

एनपीएलको अर्को महत्त्वपूर्ण पक्ष यसको बढ्दो व्यावसायिक आकर्षण हो। निजी क्षेत्रको लगानी, प्रायोजन र विभिन्न व्यावसायिक प्रतिष्ठानको सहभागिताले प्रतियोगिताको आर्थिक दायरा विस्तार हुँदै गएको छ। विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई प्रदान गरिएका पुरस्कारले पनि यसको व्यावसायिक स्वरूपलाई थप बलियो बनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाए। उनले प्रतियोगिताभर २१८ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए। फाइनलका नायक मुन्सीले पनि उत्कृष्ट प्रदर्शनका आधारमा विभिन्न चार पुरस्कार हात पारे।

यसले एनपीएल खेलाडीका लागि आफ्नो क्षमता देखाउने मञ्च मात्र नभई आर्थिक रूपमा पनि आकर्षक अवसर बन्दै गएको संकेत गर्छ।

क्रिकेटप्रतिको आकर्षणमा नयाँ उचाइ

एनपीएलको लोकप्रियता दर्शकको उपस्थितिमा पनि देखियो। चिसो मौसम र रातिको समयमा मैदानमा दर्शकको उल्लेख्य उपस्थिति रह्यो। उद्घाटनदेखि फाइनलसम्मका महत्त्वपूर्ण खेलको टिकट छोटो समयमै बिक्री भए।

फाइनलको टिकट नपाएका केही दर्शकले विरोधसमेत गरे। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट नपाएका दर्शकलाई आधिकारिक डिजिटल माध्यमबाट खेल हेरेर समर्थन गर्न आग्रह गर्नुपरेको थियो।

यो घटनाले नेपाली क्रिकेटप्रतिको आकर्षण कति बढिरहेको छ भन्ने देखाउँछ। एनपीएलले क्रिकेटलाई सीमित खेलप्रेमीको रुचिबाट आम दर्शकको चासोको विषय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

विदेशी खेलाडीसँगै नेपाल पनि चिनियो

एनपीएलको प्रभाव क्रिकेट मैदानबाहिर पनि देखियो। प्रतियोगितामा सहभागी हुन आएका विदेशी खेलाडीले नेपालमा बिताएको समय, यहाँका पर्यटकीय क्षेत्रको भ्रमण र सामाजिक सञ्जालमा व्यक्त गरेका अनुभवले नेपालको प्रचारमा सहयोग पुर्‍याए।

त्यस्तै, स्कटल्यान्डका कमेन्टेटर एन्ड्रयु लियोनार्ड अर्थात् नेपाली दर्शकमाझ परिचित ‘तक्लु दाइ’सहित विदेशी कमेन्टेटरले नेपालको कला, संस्कृति र प्राकृतिक सुन्दरताबारे चर्चा गरे। फाइनलका दिन कमेन्टेटरहरू नेपाली ढाका टोपी र मौलिक पोसाकमा प्रस्तुत हुनु पनि दर्शकका लागि आकर्षण बन्यो।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको चर्चा बढिरहेका बेला यस्ता गतिविधिले पर्यटन प्रवर्द्धनमा समेत योगदान दिन सक्छन्।

आईसीसीको मान्यता र डीआरएसले थपियो विश्वसनीयता

तेस्रो संस्करणको अर्को महत्त्वपूर्ण उपलब्धि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त आधिकारिक मान्यता रह्यो। यससँगै एनपीएलमा खेलाडीले बनाएका रन र लिएका विकेटलाई आधिकारिक टी–२० तथ्यांकमा समावेश गर्ने आधार तयार भयो। यसले प्रतियोगितामा सहभागी नेपाली तथा विदेशी खेलाडीको व्यक्तिगत करिअरका लागि पनि महत्त्व राख्छ।

यसपटक पहिलोपटक प्रयोग गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) ले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहयोग गर्‍यो। यसले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउने प्रयासलाई बल पुर्‍यायो। त्यस्तै, एनपीएल चलिरहँदा नेपालमा आईसीसीको क्षेत्रीय सम्मेलन आयोजना हुनु पनि नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले महत्त्वपूर्ण रह्यो।

नेपाली कमेन्ट्री किन छुट्यो ?

प्रतियोगिताले अन्तर्राष्ट्रिय दर्शक र खेलाडीको ध्यान तान्न सफल भए पनि नेपाली दर्शकका लागि एउटा महत्त्वपूर्ण पक्ष भने अधुरै रह्यो। एनपीएलका टेलिभिजन खेल प्रसारणमा नेपाली भाषाको कमेन्ट्री उपलब्ध भएन।

नेपाली दर्शकले आफ्नै देशको घरेलु प्रतियोगिता हेर्दा अंग्रेजी कमेन्ट्रीमै निर्भर हुनुपर्‍यो। अंग्रेजी नबुझ्ने दर्शकले खेलको प्राविधिक पक्ष, खेलाडीको रणनीति र प्रदर्शनबारे सहज रूपमा जानकारी पाउन सकेनन्।

अन्तर्राष्ट्रिय बजारमा प्रतियोगिताको पहुँच विस्तार गर्नु आवश्यक भए पनि घरेलु दर्शकलाई आफ्नै भाषामा खेल बुझ्ने अवसर दिनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। नेपाली कमेन्ट्रीले दर्शकको खेलसँगको भावनात्मक सम्बन्ध र अपनत्वसमेत बढाउन सक्छ।

उपलब्धिलाई टिकाउने चुनौती

तीन संस्करणको यात्रामा एनपीएलले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको ढोका खोलेको छ। विदेशी खेलाडीको सहभागिता, नेपाली प्रतिभाको उदय, दर्शकको बढ्दो आकर्षण, निजी क्षेत्रको लगानी र आईसीसीको मान्यताले प्रतियोगितालाई नयाँ उचाइमा पुर्‍याएका छन्।

लोकप्रियता बढ्दै जानु मात्र पर्याप्त छैन। खेल पूर्वाधारको विकास, खेलाडी उत्पादन, घरेलु क्रिकेटको मजबुती, प्रसारणको गुणस्तर र व्यवस्थापनमा निरन्तर सुधार आवश्यक छ।

एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आधार तयार गरिरहेको छ। अब महत्त्वपूर्ण प्रश्न भनेको यसले सिर्जना गरेको उत्साहलाई दीर्घकालीन उपलब्धिमा कसरी बदल्ने भन्ने हो। किनकि एनपीएलको वास्तविक सफलता हरेक वर्ष उपाधि जित्ने टोलीमा मात्र होइन, यसले नेपाली क्रिकेटका लागि उत्पादन गर्ने नयाँ खेलाडी, अवसर र भविष्यमा पनि मापन हुनेछ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ५ : ५९ बजे

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

जेरुसलेम- इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?

तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

सङ्खुवासभा- तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड

पशु ढुवानीमा चरम लापरबाही : ७२ घण्टासम्म दानापानी नदिई कोचेर काठमाडौँ ल्याइँदै

काठमाडौँ – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने