काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक दायरामा मात्र सीमित नभई आपसी विश्वास, मित्रता, सद्भावना, सांस्कृतिक आदानप्रदान र जनस्तरको आत्मीय सम्बन्धमा आधारित रहेको बताएका छन्।
काठमाडौँमा आयोजित ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै सभामुख अर्यालले यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा आयोजित फेस्टिभलले आगामी पुस्तासम्म दुई देशको मित्रता निरन्तर अघि बढाउन योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे। ‘७० वर्षको यस गौरवपूर्ण यात्रामा दुवै देशबीच शिक्षा, स्वास्थ्य, पर्यटन, प्रविधि, पूर्वाधार विकास तथा आर्थिक सहकार्यका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्,’ उनले भने।
सभामुख अर्यालले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरका रूपमा यस्ता कार्यक्रमको विशेष महत्त्व रहेको उल्लेख गरे।
समारोहमा जापानका परराष्ट्र मामिलाका संसदीय उपमन्त्री तथा नेपालका लागि जापानी राजदूतलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। सो अवसरमा सभामुख अर्यालले आफ्नो ५० औँ वर्षको स्वर्ण जयन्ती मनाइरहेको जापानको लोकप्रिय ‘गोदाइगो ब्यान्ड’ का कलाकार तथा सदस्यहरूलाई ४६ वर्षपछि पुनः नेपालमा सांगीतिक प्रस्तुति दिन आएकामा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।














प्रतिक्रिया