रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री शाह आज राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ । विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) को सञ्चालन प्रक्रियासँग भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक पर्नेछ । भारतबाट अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा उडान तथा अवतरणलाई सहज बनाउन सहयोग पुग्नेछ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा ठूलो परिवर्तन आउने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्ने र नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा गरिएको बताए । उनले विमानस्थल निर्माणपछि त्यसको उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके नेपालको पर्यटन क्षेत्रले गति लिने बताए । नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उनको भनाइ छ । विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि सबैभन्दा खुसीको विषय हुने उनले बताए ।
विमानस्थल सञ्चालन हुने आशामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरेका छन् । चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको झन्डै रु एक खर्बभन्दा बढी लगानी भएको छ । विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त नभएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।
ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए । विमानस्थल सञ्चालन हुने आशामा पर्यटन व्यवसायीले ठूलो लगानी गरे पनि नियमित अन्तरराष्ट्रिय उडान नहुँदा व्यवसायमा अपेक्षित लाभ लिन नसकिएको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु ३५ अर्बभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए । शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको थियो । उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो ।
यस्तै, जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेका छन् । विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिए । नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका सम्बन्धमा सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी रहेको उल्लेख गर्दै उहाँले नियमित उडानका लागि पहल आवश्यक भएको बताए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुआत हुने बताए । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उनको भनाइ छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको ठूलो लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्नसके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ । यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।













प्रतिक्रिया