बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न सके कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई बाहिरका शक्तिभन्दा आफ्नै नेताकार्यकर्ताले कमजोर बनाइरहेको बताए । नेताहरू पद र पैसाको पछि लाग्नुभन्दा राष्ट्रको विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै शशांकले कांग्रेसको इतिहास र सिद्धान्त बलियो रहेको बताए ।
उनले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा स्पष्ट रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा र सफल कार्यान्वयनमा जोड दिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसको सुझबुझपूर्ण भूमिकाका कारण संविधान जारी हुन सकेको उनले बताए ।
त्यस्तै, पूर्वमन्त्री एनपी साउदले नेता बन्ने कुरा परिस्थिति, मुद्दा र आवश्यकतामा निर्भर रहने बताए । नेताहरू कुनै निश्चित परिस्थितिमा विभिन्न मुद्दा र आवश्यकताका आधारमा स्थापित हुने उनको भनाइ थियो ।














प्रतिक्रिया