अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो सुरु हुने भए पनि अहिले मौसम परिवर्तनको समय भएकाले यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।
यस्ता समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले ठूलो रूप लिन सक्छ । त्यसैले यो समयमा बालबालिकाको विशेष हेरचाह गर्नुपर्ने चिकित्सक बताउँछन् । चिसो मौसममा बालबालिकामा कस्ता समस्या देखिन्छन् ? उनीहरुको खानपान कस्तो हुनुपर्छ ? भन्ने विषयमा क्रिष्टल हेल्थ सेन्टर प्रालि पोखरामा कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मुकुन्द तिमिल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश :
चिसो मौसममा बालबालिकामा कस्ता समस्या देखिन्छन् ?
हाम्रो जनमानसमा नै चिसो मौसममा बालबालिका धेरै बिरामी हुन्छन् भन्ने छ । तर खासमा हामीकहाँ धेरै बिरामी आउने समय भनेको गर्मी मौसममा हो । किटाणुबाट हुने तथा इन्फेक्टिभ डिजिजका कारण बालबालिका धेरै बिरामी हुन्छन् । त्यस्ता रोग गर्मी मौसममा धेरै लाग्ने गर्दछन् ।
गर्मी मौसमको तुलनामा ३० प्रतिशत बालबालिका पनि आउँदैनन् । चिसो मौसममा विशेष गरी बाल दम भएका बिरामीमा दमको समस्या बल्झिने, निमोनिया हुने, छालाको एलर्जी, भाइरल डाइरिया हुने जस्ता समस्या देखिन्छन् ।
तर मुख्यगरी चिसो मौसममा बालबालिकामा देखिने भनेको भाइरल डाइरिया र बाल दम नै हो ।
चिसो मौसममा प्राय बालबालिकालाई धेरै लुगा लगाएर निमोनिया भएको सुनिन्छ । खासमा उनीहरुलाई कस्तो लुगा लगाइदिनुपर्ने हो ?
भर्खरै जन्मेको नवजात शिशुलाई ठूलो मान्छेको तुलनामा दुईपत्र लुगा चाहिने भनिन्छ । त्यो मौसम अनुसार लगाउने हो । त्यसभन्दा अलि ठूलो बच्चालाई ठूलो मान्छेभन्दा एक पत्र बढी लगाउने हो । त्यसमा के हुन्छ भने बच्चाको मेटाबोलिजम अलिकति बढी हुन्छ । चिसो मौसममा पनि अलिकति धेरै कपडा लगाउँदा पसिना आइहाल्ने, कपडा कम लगाउँदा चिसो लाग्ने हुन्छ ।
त्यसैले एउटै बाक्लो कपडा लगाउनु भन्दा पनि दुईवटा तीनवटा पत्र हुने गरेर लगाउँदा कपडाको बीचमा हावा पनि बस्छ र त्यो हावाले इन्सुलेन गरेर न्यानो बनाउँछ । अर्को कुरा भनेको बच्चालाई जाडो मौसममा पसिना एकदमै धेरै आउने, त्यही पसिना भिजेर बेला बेलामा कपडा फेरिदिनुपर्ने पनि हुनसक्छ । यी सबै कुरा नर्मल हुन् । त्यसैले बच्चालाई कत्तिको सहज भइरहेको छ ? त्यो हेरेर उसले लगाउने कपडामा थपघट गर्नुपर्ने हुन्छ ।
सिधै छालाको सम्पर्कमा आउने कपडा जहिले पनि सुतीकै लगाउनुपर्छ । किनकी बच्चाको छाला एकदमै संवेदनशील हुने भएकाले एलर्जी हुने सम्भावना धेरै हुन्छ । अब कोठामा सुताउँदा कस्तो कपडा लगाउने भन्दा कोठाको तापक्रम कस्तो छ ? जस्तै कोठामा एसी वा हिटर बालिएको छ । कोठाको तापक्रम २५ डिग्रीसम्म छ भने एकसरो लुगा लगाएर मोजा टोपी लगाउनु परेन ।
कोठामा एसी हिटर पनि छैन, मौसम पनि चिसो छ भने त्यही अनुसारले टोपीदेखि मोजा पनि लगाइदिनु पर्छ । मोजाले खासै अर गर्दैन । तर पञ्जा लगाउँदा मुखमा हात लिन खोज्ने र टोपी पनि डोरी भएको लगाउँदा केही गरी कसिएर पासो बन्ने हुँदा ध्यान दिनुपर्छ ।
तर हाम्रो समाजमा राती सुतेको बेलामा मोजा पन्जा लगाउँदा रगत सोस्छ भन्ने गलत धारणा रहेको छ । यदि गुणस्तरीय कपडा हो भने लगाउन नहुने होइन । तर अवस्था हेरेर लगाउनु पर्छ ।
चिसो मौसममा बालबालिकाको खानपान कस्तो हुनुपर्ने हो ?
खानपानको कुरा गर्नुपर्दा कुनै खाना खाएकै भरमा बच्चालाई चिसो लाग्ने, निमोनिया हुने, कुनै खानेकुरा खाँदा एकदमै गर्मी हुने स्वास्थ्यमा अन्य जटिलता आउने भन्ने हुँदैन । तर झोलिलो खानेकुरा अलिकति पर्याप्त मात्रामा दिनुपर्छ ।
धेरै तातो दिँदा बच्चाले खान पनि सक्दैनन् । जलनको जोखिम पनि हुन्छ । त्यसैले मनतातो खानेकुरा दिने गर्नु पर्दछ ।
चिसोमा तेल मालिस गर्नु कति उपयुक्त हुन्छ ?
चिसोमा हावा पनि सुख्खा हुने भएकाले शरीरमा चिल्लोपनाको मात्रा एकदमै कम हुन्छ । त्यसैले तेल मालिस गर्नु एकदमै राम्रो हो । तर एक महिनाभन्दा कमको बच्चालाई मालिस नगर्न हामी सल्लाह दिन्छौं ।
१ महिनामाथिको बच्चालाई चाहिँ बेबी मस्चराईजर अथवा तेल हल्का हातले लगाएर छोड्दिने हो, मालिस नै गर्नु हुँदैन । अलिकति ठूला बच्चालाई भने बिहान बेलुका समय मिलाएर मालिस गर्न सकिन्छ । मालिसकै बहानामा आमा र बच्चाको बोण्डिङ हुने, छालामा चिल्लोपना आउने र बच्चालाई कसरत भएर रक्तसञ्चार राम्रो हुन्छ ।
इन्फ्लुएन्जा विरुद्धको भ्याक्सिन बालबालिकाका लागि अनिवार्य हो ?
इन्फुलुएन्जा भाइरस भनेको कोभिडभन्दा पनि खतरनाक किटाणु हो । यसको संक्रमणका कारण निमोनियाको लोड एकदमै धेरै हुन्छ भने निमोनिया भइहाले पनि ज्यान जाने जोखिम धेरै हुन्छ ।
विदेशमा यो खोप बीमामा समेटिएको हुन्छ र जनता आफैँले पनि ६ महिनाभन्दा माथिका सबैले हरेक वर्ष लगाउँछन् । तर नेपालमा भने सरकारले खोप कार्यक्रममा समेट्न सकेको छैन । बाहिरबाट किनेर लगाउनुपर्ने र अलिकति महंगो पनि पर्ने भएकाले सबैले लगाउन सक्ने अवस्था छैन । सके त सबैले लगाएको राम्रो नै हो । तर मुटु दमको समस्या भएका बारम्बार बिरामी भइरहने बालबालिकालाई भने लगाउनु नै पर्छ ।
कतिपय बालबालिकामा बा¥हैमास सिगान बगिरहने समस्या हुन्छ, यसलाई कसरी लिने ?
एलर्जीका कारण सामान्य रुघाखोकीदेखि गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले बच्चाको अवस्था हेरेर त्यो अनुसारको उपचार गर्नुपर्छ ।
जस्तै लामो समयदेखि रुघाखोकी लागिरहेको छ, सास फेर्न गाह्रो हुन्छ । छाती घ्यारघ्यार भइरहेको छ भने त उपचार उपचारमा ढिलाई गर्नु हुँदैन । तर खाली सिगान मात्रै आउने त्यो बाहेक बच्चाको लाइफस्टाइलमा केही असर गरेको छैन भने औषधी गरेर सञ्चो गराइराख्नु पर्दैन ।
पहिलेको तुलनामा बालबालिकाको स्याहारमा सचेतनाको अवस्था के छ ?
पहिले पहिले के हुन्थ्यो भने बिरामी भयो भने मात्रै जचाउन जाने चलन थियो । अस्पताल आइहाले पनि भर्ना गर्न नमान्ने औषधी लिएर जाने गर्थे । आईसीयूमा राख्नुपर्ने खालको बिरामी भए मात्रै भर्ना गर्ने त्यो पनि डोज नपु¥याउने ५–७ दिन राख्नुपर्ने बिरामीलाई २–३ दिनमै पनि डिस्चार्ज माग्ने प्रवृत्ति पहिले धेरै हुन्थ्यो भने आजभोलि सामान्य रुघाखोकी लाग्दा वा छालामा थोरै समस्या देखिँदा एकपटक डाक्टरको सल्लाह लिउँ न त भनेर बालबालिकालाई बेलैमा अस्पताल ल्याउने प्रचलन बढ्दो छ ।
तर ग्रामीण भेगको मान्छेमा भने अझै पनि अवस्था गार्हो छ । अर्को कुरा बच्चाको केशमा के हुन्छ भने एउटा बच्चालाई उपचार गर्न ल्याउनुपर्यो भने एक जना मात्रै भएर हुँदैन । दुई–तीन जना आउनु पर्छ । औषधी लिन जानुपर्यो, बिल काट्न जानुपर्यो भने बच्चालाई बोकेरै जान सम्भव हुँदैन । त्यसैले बच्चा एकदमै गाह्रो अवस्थामा नभएसम्म भर्ना गर्नुपर्दैन घरमै राखेर औषधी गर्छौं भन्नेहरु अहिले पनि धेरै छन् ।
पहिले भन्दा त सचेतना धेरै बढेको छ तर बालबालिकाको उपचारमा धेरै जना कुरुवा आउनुपर्ने झन्झट, आमाले भर्ना गर्छु भन्दा पनि घरपरिवारले दबाब दिने लगायतका कारणले भनेजस्तो जति सचेतना हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
तपाईं बालरोग विशेषज्ञ भएको नाताले अभिभावकलाई के सुझाव दिनुहुन्छ ?
हाम्रोमा बच्चा जन्मिने बित्तिकै आगोले या कोइलाले सेक्ने कुरा अनिवार्य जस्तै छ । त्यही कोइला र आगोको धुवाँले बच्चाहरुको श्वासप्रश्वास बढी नै हानी गरिरहेको हुन्छ ।
खाली मालिस मात्रै गर्दा त फाइदा नै हुन्छ । तर सेक्नाले तातो बनाउनु बाहेक अरु केही फाइदा छैन । त्यसैले कोठामा न्यानो पार्नका लागि एसी अथवा हिटर बाल्ने वा बच्चालाई कपडा लगाएर न्यानो पार्नु नै उपयुक्त हुन्छ ।
त्यस्तै पछिल्लो समय सामाजिक सञ्जालमा बच्चालाई यो खुवाउनुपर्छ, त्यो खुवाउनुपर्छ भन्दै अनावश्यक प्रचार भइरहेको र धेरै अभिभावकले त्यही किनेर खुवाउने गर्दछन् । तर बच्चाको लागि अति आवश्यक अमृत समान आमाको दूध हो भने अर्को सन्तुलित आहार हो।
२४ घण्टामा मिलाएर हरियो तरकारी, साग सब्जी, दाल भात, मौसम अनुसारको फलफूल खुवाउन सक्यो भने बालबालिकालाई आवश्यक पर्ने विभिन्न तत्व त्यसैबाट पर्याप्त मात्रामा पाइन्छ ।
ड्रयागन फुड, एभोकाडो खुवाउनुपर्छ अण्डा नभै हुँदैन भन्ने हुँदैन अण्डा खाँदा राम्रो तर खाएन भने गेडागुडीको रस वा अन्य खानेुकुरा खुवाउन सकिन्छ । त्यसैले मुख्य भनेको आमाको दूध हो । ६ महिनासम्म नछुटाई खुवाउने त्यसपछि विस्तारै ठोस खानेकुरा सुरु गर्दा सन्तुलित मात्रामा गाउँघरमै पाइने खानेकुरा मिलाएर खुवाउन सकिन्छ ।
त्यस्तै बालबालिकालाई चिसो मौसममा हुने समस्याबाट जोगाउन मुख्य गरी स्वास्थ्यमा ध्यान दिनुपर्छ । जस्तै उनहरुलाई खाना बनाउनु र खुवाउनुभन्दा अगाडी राम्रोसंग हात धुने, आफैँ खाना खान सक्ने छन् भने हात धुन लगाउने, न्यानो बनाएर राख्ने सन्तुलित आहार खुवाउने हो त्यो बाहेक खासै केही गर्नुपर्दैन ।













प्रतिक्रिया