कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म ! « Khabarhub

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि त्यसतर्फ चासो देखिन्छ ।

तीन नेताहरु नेकपा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाएको भन्दै असन्तुष्ट कलाकारहरु यस चुनावप्रति अझ बढी उत्सुक देखिन्छन् ।

पार्टीको आन्तरिक विद्रोहले कांग्रेसबाट देउवाले उम्मेद्वार बन्न पाएनन् । ओलीलाई संसद छिर्नबाट रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र शाहले उनको क्षेत्र झापा ५ बाट उम्मेद्वारी दिएका छन् । यो घटनाले राजनीतिक माहोल तातेको छ ।

बालेन्द्रको उम्मेद्वारीलाई कलाकारहरुले नजिकबाट हेरिरहेका छन् । केही कलाकारहरु खुलेरै उनको पक्षमा लागेका छन् ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’ बालेनको कोर टिममा बसेर चुनावमा होमिएका छन् । उनी सार्वजनिक स्थानमा बालेनको निजी अंग रक्षकको भूमिकामा रहेको जस्तै देखिन्छन् । बालेन्द्रलाई जोगाउन उनी भीड व्यवस्थापनमा पनि खटेको देखिएको छ ।

बालेनको उम्मेद्वारी दर्ताका लागि कागजात तयार पार्ने देखि बुझाउने सम्मका सम्पूर्ण जिम्मेवारी पाँडेले नै पाएका थिए ।

निर्देशक तथा नायक निश्चल बस्नेत पर्दापछाडिबाट राजनीतिमा सहभागी छन् । भोट नमागे पनि उनी कुन पार्टी र को नेता नजिक छन्, स्पष्ट छ ।

बस्नेत बालेनको टिम निकट रहेर राजनीतिमा संलग्न रहेको बुझिन्छ । तर उनी, पार्टीमै सक्रिय भएर लागेका भने छैनन् । तर, बालेन पक्षबाट रास्वपामा उनले प्रभाव पार्ने हैसियत भने बनाएका छन् ।

केही कलाकारहरु पार्टी प्रवेश गरेर चुनाव नै लागेको छन् । निशा अधिकारीले गतिशील लोकतान्त्रिक पार्टीको काठमाडौं ५ बाट उम्मेद्वारी दिएकी छन् ।

कलाकार आशिफ शाह रास्वपा समानुपातिक उम्मेद्वार बन्ने दाउमा थिए । पार्टीले समानुपातिक सूचीमा उनलाई राखेको पनि थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि समानुपातिक उम्मेद्वारी फिर्ता लिँदै काठमाडौं ५ बाट प्रत्यक्ष लड्ने घोषणा गरेका उनी अन्त्यमा मैदानबाट हट्ने निधोमा पुगे ।

आशिफपछि हटेपछि काठमाडौं ५ मा रास्वपाबाट सस्मित पोखरेलले उम्मेद्वारी दिएका छन् । यसले समानुपातिकको सहज बाटो पाए मात्रै संसद् छिर्ने नियत आशिफमा देखियो ।

रास्वपाबाट गायक प्रकाश सपुत र नायिका रिमा विश्वकर्मा समानुपातिक उम्मेद्वार बनेका छन् ।

उम्मेदवारी दर्ताको सरगर्मी बढ्दै गर्दा प्रकाश कन्सर्टमा व्यस्त छन् । माघ १२ देखि राजनीतिमा सक्रिय बन्ने उनको प्रतिबद्धता छ ।

रास्वपाको केन्द्रीय कार्यालयमा रिमाको आवतजावत बाक्लो छ ।

गायिका कोमल वलीलाई एमालेलेसमानुपातिक उम्मेद्वार बनाएको छ । उनी उम्मेदवारी दर्ताका दिन माघ ६ गते दाङका नेता कार्यकर्ता माझ सार्वजनिक भएकी थिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा नायिका रेखा थापा यो पटक उम्मेद्वार नबन्ने टुंगोमा पुगिन । अहिले उनको ध्यान पार्टीहरुले कम संख्यामा महिला उम्मेद्वार उठाएको विषयमा छ ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, ‘कुल मतदाता मध्ये महिला ८९ लाख र पुरुष ९२ लाख छन् । तर, उम्मेद्वारको संख्यामा भने ठूलो अन्तर छ । जबसम्म दिदी बहिनी जाग्दैनन् अनि भोटर मात्रै बन्छन्, देश कहिले हाँस्दैन ।’

गत निर्वाचनमा रेखा मोरङ २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेकी थिइन् । उनी कांग्रेसका सुनील शर्माबाट भारीमतले पराजीत भएकी थिइन् ।

केही कलाकारहरु चुनावी माहोललाई नजिकबाट निहाल्दै गरे पनि आफूलाई न्युट्रल राख्न चाहान्छन । उनीहरु चुनावबारे भरसक टिप्पणी गर्न इच्छुक छैनन् ।

तथापि उनीहरुको मनस्थिति देशको नेतृत्व युवाले नै गर्नुपर्छ भन्ने मत राख्छन् ।

आफूलाई न्युट्रल बताउने नायक मुकुन भुसाल पुराना दलहरुले पनि नयाँ पुस्ता उम्मेद्वार उठाएको विषय जनताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरेको रुपमा बुझेका छन् ।

‘पुराना दलहरुलाई जेनजी आन्दोलनले हामीबाट जनता सन्तुष्ट छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ । यही कारण उनीहरु पनि युवा पुस्ता समेटेर चुनावमा होमिएका छन्,’ उनी भन्छन्, ‘नयाँ दलप्रति जनता थप आशावादी छन् । असफल प्रमाणित भइसेकका व्यक्तिहरु नदोहोरिएर नयाँ अनुहारले अवसर पाउनु आशाको पक्ष हो ।’

प्रधानमन्त्रीको कुर्सीलाई ‘म्युजिकल चियर’ बनाउने पाका नेताहरुलाई चुनावबाट निषेध गर्ने विकसित माहोलप्रति गायिका झुमा लिम्बू सकारात्मक नै छिन् ।

उनी आफू न्युट्रल रहेको दाबी गर्दै युवाले देशको नेतृत्व गर्नुपर्ने पक्षमा रहे पनि देशको नेतृत्वका लागि अघि सर्ने युवा राजनीतिक अभ्यासले पोख्त हुनुपर्ने आवश्यकता औल्याउँछिन् ।

उनी भन्छिन्, ‘देश युवाले बनाउने । शारीरिक र मानसिक रुपमा पनि युवा नै नेतृत्वको उत्तम बिकल्प हुनसक्छन् । देशको नेतृत्व गर्ने कुरा आलोकाँचो ज्ञान र राजनीतिक अभ्यासले हुँदैन । यी विशेषतामा पोख्त व्यक्ति नै चाहिन्छ ।’

खुलेका कलाकार

लेखक तथा हाँस्यकलाकार दीपकराज गिरी चुनाव माहोलबारेमै रहेर सामाजिक सञ्जालमा लेखिरहेका छन् । उनी नयाँ–पुराना दुवैलाई ठाउँ पायो कि घोचिहाल्छन् ।

उनले सामाजिक सञ्जालमा एक घोषणा पनि गरेका छन्– प्रत्यक्ष कसैलाई भोट नमाग्ने । गिरीले लेखेका छन्, ‘परिवर्तनको पक्षमा छु तर कसैलाई प्रत्यक्ष भोट माग्ने काम गर्दिनँ ।’

नायिका ऋचा शर्मा बालेनको पक्षमा खुलेकी छन् । झापा ५ माहोल केन्द्रित रहेर उनी सामाजिक सञ्जालमा सक्रिय छन् ।

उम्मेद्वारी दर्ताको क्रममा झापामा बालेनको पक्षमा देखिएको भीडको तस्बिर राख्दै ऋचाले लेखेकी छन्, ‘झापामा मासुभात नचाहिने शाकाहारी जनसंख्याको पो बहुमत रहेछ ।’

पुराना दलका कार्यकर्तालाई ‘मासु भात’को ट्याग दिने ट्रेन्डलाई ऋचाले निरन्तरता दिएको देखिन्छ । यसको अर्थ उनी नयाँप्रति उदार देखिएकी हुन् ।

ऋचाले आफ्नी साथी तथा काठमाडौं ५ की उम्मेद्वार नायिका निशा अधिकारीलाई जितको शुभकामना दिन भ्याएकी छन् ।

नायिका स्वस्तिमा खड्का पनि बालेनको पक्षमा खुलेकी छन् । उनले बालेनको लागि नै भोट भने मागेकी छैनन् । तर बालेनले उम्मेद्वारी दर्ता गर्दा देखिएको भिडको तस्बिर सेयर गरेकी छन् । यसले उनको झुकाब प्रष्ट हुन्छ ।

बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको चुनावी रणनीतिमा नायिका प्रियंका कार्की कन्भिन्स देखिएकी छन् । उनी बालेन पक्षमा खुलेकी छन् ।

प्रियंकाले लेखेकी छन्, ‘यो पटक बालेन शाहले जित्नुपर्छ । क्रेज र लोकप्रियता कारण मात्रै होइन, उहाँले देशलाई परिवर्तन गर्न सम्भव छ भन्ने विश्वास दिलाउनुभएको छ ।’

नायिका वर्षा राउत पनि रास्वपाको पक्षमै खुलेकी छन् । अप्रत्यक्ष रास्वपालाई समर्थन गर्दै उनले गीत गाएकी छन्, ‘…घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको ।’ घण्टी रास्वपाको चुनाव चिन्ह हो ।

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको सभापति चुनिएपछि सामाजिक सञ्जालबाट खुशी प्रकट गर्दै आएकी नायिका केकी अधिकारीले आफूलाई गगन मनपर्ने युवा नेता भएको बताउँदै आएकी छन् ।

अघिल्ला चुनावहरुमा गगनको पक्षमा खुलेर लेख्ने केकी चुनावी माहोलबारे मौन छिन् ।

अन्य चर्चित कलाकारहरु भने कुनै पनि पार्टीको पक्षमा खुलेका छैनन् । धेरै कलाकार नेतृत्व परिवर्तको पक्षमा आफू रहँदै बताउँदै आएका छन् ।

अर्थात् , उनीहरु प्रधानमन्त्रीको कुर्सीमा देउवा, प्रचण्ड र ओलीलाई यो निर्वाचनपछि देख्न चाहदैनन् ।

स्वतन्त्र कलाकारिता यात्रामा पार्टीको कार्यकर्ताको दाग लाग्ने डरले केही कलाकार सामाजिक सञ्जालमा खुलेका छैनन् । केहीले हिम्मत गरे । खुल्ने बहुसंख्यहरु रास्वपा पक्षमा नै खुलेका छन् ।

चुनाव आउन एक डेढ महिना बाँकी रहेकाले केही कलाकारहरु दलको पक्षमा खुल्ने सम्भावना जीवित नै छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ३ : ३० बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति